मधेस प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव विजयी भएका छन्।
एमालेका त्रिलोकी प्रसादलाई फराकिलो मतान्तरले पराजित गर्दै रामआशिष सभामुखमा निर्वाचित भएका हुन्।
०७९ सालको निर्वाचनमा धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (२) बाट निर्वाचित यादव पत्रकारिता पृष्ठभूमिबाट आएका नेता हुन्।
पत्रकार महासंघ धनुषाको एक कार्यकाल अध्यक्षसमेत बनेका ५६ वर्षीय यादवसँग विगतमा अढाई दशक पत्रकारिता गरेको अनुभव छ।
एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल गएको मंसिर ३ गते विपक्षी दलको महाअभियोगबाट पदमुक्त भएपछि रामआशिषलाई सभामुख हुने अवसर जुरेको हो।
०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा यादव जसपाको तर्फबाट धनुषा २ को प्रदेश सभा (२) बाट निर्वाचित भएका हुन्। त्यसअघि ०७४ सालको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट सांसदमा विजयी भएका थिए। त्यतिबेला भने उनी संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए।
०७९ को निर्वाचनमा यादवले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्यामकुमार यादवलाई नौसय ४८ मततान्तरले पराजित गरेका थिए। रामआशिष १० हजार ६ सय १४ मत प्राप्त गर्दा माओवादीका श्यामकुमारले नौ हजार पाँचसय सय ६६ मत ल्याएका थिए।
यादवले व्यवसायिक जीवनको सुरुवात भने शिक्षक पेशाबाट गरे। ‘शिक्षण पेशापछि मैले लामो सयम पत्रकारिता गरे,’ यादवले नेपालखबरसँग भने, ‘मैले पूर्णकालीन राजनीति सुरु गरेको त एक दशक पनि भएको छैन।’
सुरुमा उनले काभ्रेको भुम्लु गाउँपालिको ज्याम्दीमा रहेको बागदेवी माविमा अढाई वर्ष पढाए।
त्यसपछि जनकपुर फर्किएर २०५४ सालमा रेडियो नेपालको धनुषा संवादताताको रुपमा पत्रकारिता सुरु गरे। पत्रकारितासँगै उनले २०६० सालमा जनकपुरमा रहेको सकल भवन कन्या माध्यमिक विद्यालयमा पनि पढाए।

महोत्तरीका पुराना पत्रकार गोपाल बराल पत्रकारितामा रहँदा रामआशिषले असल अभ्यास गरेको बताउँछन्। ‘उहाँ पत्रकारितामा राम्रो जमेको र असल मान्छे हो,’ उनले भने।
२०६८ सालमा पत्रकार महासंघ धनुषाको अध्यक्ष भएका यादव त्यतिबेला उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमको सामान्य समर्थक मात्रै थिए।
‘त्यतिबेला निकटका साथीहरु सबैले ‘अब राजनीति गर्नुपर्छ रामआशिष’ भनेर मलाई आग्रह गर्नुभयो,’ विगत सम्झिँदै उनले भने, ‘त्यसपछि मात्रै मैले राजनीति सुरु गरेको हो।’

उनले पूर्णकालीन राजनीति सुरु गरेकै थिएनन्। पार्टीले निर्वाचनमा ०७४ सालको निर्वाचनमा पार्टीले उम्मेदवारको टिकट दियो।
त्यसपछि उनले प्रदेश सभामा उम्मेदवारी दिए। पहिलो प्रयासमै उनले निर्वाचन जिते। ‘म पार्टीको पूर्णकालीन भएको त सांसद निर्वाचित भएपछि भन्दा पनि हुन्छ,’ उनले भने, ‘त्यसअघि मैले निकै लामो समय सामाजिक क्षेत्रमा बिताएको थिएँ।’
उनले जनकपुरमै बसेर इमेज च्यानल, रेडियो नेपाल र स्थानीय सञ्चार माध्यममा झण्डै २५ वर्षसम्म पत्रकारिता गरे। आफैँले जनकपुरमा एफम रेडियो खोले। उनी संस्थापक रहेको जनकपुर एफएम अहिले पनि सञ्चालमै छ। उनी जनकपुर टेलिभिजनका पनि संस्थापन अध्यक्ष हुन्।
तर, विद्यार्थी जीवनमा भने उनी नेविसंघका नेता थिए। उनले ०४७/०४८ तिर नेविसंघबाट विद्यार्थी राजनीति गरेको सुनाए।
‘विद्यार्थीपछि मैले सुरुमा शिक्षण पेशा र पछि लामो सयम पत्रकारिता गरेँ, मेरो सार्वजनिक पहिचान पत्रकारिताबाटै बनेको हो,’ उनले भने।
अब पनि लोकतन्त्रको रक्षक र पहरेदार भएरै काम गर्ने उनले बताए।
सभामुखमा विजयी भएपछि नेपालखबरसँग उनले भने, ‘संघीयतालाई कसरी संस्थागत गर्न सकिन्छ, त्यसको लागि सदनलाई मर्यादित बनाउने, सदनको मर्यादालाई कायम राख्ने काममा मेरो प्रयास रहन्छ। म निस्पक्ष ढंगले सदन चलाउँछु। अहिलेलाई यत्ति नै भनौँ।’
आफूले औपचारिक शिक्षा धेरै लिन नपाए पनि सामाजिक क्षेत्रमा लामो समय काम गरेको कारण जनताको विश्वास जित्न सकेको उनले बताए।
Shares

प्रतिक्रिया