राजनीति


३ सातामै महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत?

३ सातामै महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत?

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र पूर्व मुख्यमन्त्री सराेज यादव


नेपालखबर
पुस ४, २०८२ शुक्रबार १३:५९, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। उनले शुक्रबार दिउँसो चारबजे विश्वासको मत लिने प्रदेशसभा सचिवालले जनाएको छ। 

कांग्रेस संसदीय दलका नेता यादव एमालेबाहेकको सात दलीय गठबन्धनका ७७ सांसदको समर्थनमा गएको मंसिर १९ गते मधेसको मुख्यमन्त्री नियुक्त भएका थिए। 

तर, आज उनलाई गठबन्धनमा सहभागी नभएको नेकपा एमालेले पनि विश्वासको मत दिने तयारी गरेको छ। एमालेकी प्रदेश सभा सदस्य शारदा थापाका अनुसार मुख्यमन्त्री यादवलाई आज एमालेले पनि विश्वासको मत दिने छ। 

‘मुख्यमन्त्री यादवलाई हामी पनि आज विश्वासको मत दिनेछौँ,’ सांसद थापाले नेपालखबरसँग भनिन्, ‘हाम्रो संसदीय दलले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छ।’

तर, उनले यादवलाई विश्वासको मत दिने निर्णय गर्नुको कारण खुलाइनन्। 

कांग्रेस नेता यादव एमालेबाट मुख्यमन्त्री नियुक्त भएका सरोज यादवको सरकार ढालेर मधेसको मुख्यमन्त्री नियुक्त भएका हुन्।

गएको कात्तिक २४ गते ठूलो दलको हैसियतमा रातारात मधेसको मुख्यमन्त्री नियुक्त भएका सरोज यादवको पद २४ दिनमै गएपछि एमाले मधेसमा प्रतिपक्ष कित्तामा पुगेको छ। यो प्रकरणमा एमालेले मधेसमा मुख्यमन्त्रीसँगै प्रदेश प्रमुख र सभामुख पनि गुमाएको छ। मधेसमा सबै दलले एमालेको साथ छाडेका छन्।

मुख्यमन्त्री यादवसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द्र मण्डल पनि यो प्रकरणमा पदमुक्त भएका छन्।  

यादवको विवादास्पद नियुक्तिपछि प्रदेश प्रमुख सुवेदीलाई सरकारले कात्तिक २४ गते नै पदमुक्त गरेर मधेसमा सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख बनाएको छ।

यो प्रकरणमा एमालेलाई सहज हुनेगरि प्रदेश सभा बैठक सञ्चालनको आरोप लागेका सभामुख रामचन्द्र मण्डल पनि मंसिर ३ गते विपक्षी दलको महाअभियोगबाट पदमुक्त भइसकेका थिए। 

एमालेले पनि विश्वासको मत दिँदा यादवले आज प्रदेश सभाबाट १०४ सांसदको समर्थन प्राप्त गर्ने सम्भावना छ। मधेसको सबैभन्दा ठूलो दल एमालेसँग २४ सांसद छन्। १०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतको लागि ५४ सांसदको समर्थन भए पुग्छ। 

मुख्यमन्त्रीलाई सत्ता पक्षकै ७७ सांसदको समर्थन रहेको अवस्थामा एमालेले पनि विश्वासको मत दिने तयारी गर्नुलाई विपक्षी दलले भने एमालेको च्याँखे दाउको रूपमा लिएका छन्। 

‘एमाले मधेसमा एक्लिँदै गएको छ। आज मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिन खोज्नु त्यसकै परिणाम हो,’ माओवादीका एक सांसदले भने, ‘यसलाई फेरि सत्तामा उक्लिनको लागि एमालेले थापेको च्याँखे दाउको रुपमा बुझन् सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad