नेपाल प्रिमियर लिग (एनपीएल) सकिएपछि अब राष्ट्रिय क्रिकेट टोलीको ध्यान टी-२० विश्वकपतिर मोडिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार घोषणा गरेको प्रारम्भिक टोलीमा एनपीएलमा प्रभाव देखाएका र नियमित टोलीका गरी २४ खेलाडीलाई समेटिएको छ।
आगामी फेब्रुअरी-मार्चमा आईसीसी टी-२० विश्वकप भारत र श्रीलंकामा हुँदैछ। विश्वकपमा नेपाल समूह सी मा छ। नेपाल रहेको समूहमा बंगलादेश, इङ्ल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन्। 
नेपालले आगामी माघ २५ गते (फेब्रुअरी ८) इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। माघ २९ गते (फेब्रुअरी १२) इटाली, फागुन ३ गते (फेब्रुअरी १५) वेष्ट इन्डिज र ५ गते (फेब्रुअरी १७) बंगलादेशसँग खेल्ने तालिका छ।
विश्वकपअघि भएको नेपाल प्रिमियर लिग सिजन-२ मा खेलाडीहरुको प्रदर्शनलाई लिएर अबको नेपाली टिम कस्तो बन्छ भनेर धेरैलाई चासो छ।
नेपाल क्रिकेट संघ(क्यान) ले एनपीएललाई विश्वकप छनोटका लागि आधिकारिक प्रतियोगिता भनेर घोषणा नगरेपनि खेलाडीहरुले त्यसलाई छनोटको रुपमा लिएका थिए।
क्यानले आधिकारीक घोषणा नगरे पनि एनपीएलमा गरेको प्रदर्शनले टोलीमा केही फरक पक्कै पार्ने क्रिकेटका जानकारहरु बताउँछन्। जसको प्रभाव प्रारम्भिक छनोटमा पनि देखियो।

प्रारम्भिक टोलीलाई हेर्ने हो भने पनि यसको छनक देखिन्छ। विनोद भण्डारी, इसान पाण्डे, शेर मल्ल, अविनास बोहरा र प्रतिस जि.सी लगायतका खेलाडी टोलीमा समेटिएका छन्। जो एनपीएलमा प्रभाव देखाएका खेलाडी हुन्।
तर यसअघि लामो समयदेखि राष्ट्रिय टिमबाट खेल्दै आएका खेलाडीले यो एनपीएलमा सन्तोषजनक प्रदर्शन गर्न सकेनन्। अनि, कतिपय टिम बाहिर रहेका खेलाडीहरुले प्रभावशाली प्रदर्शन गरे।
केही खेलाडीले त सार्वजनिक रुपमा राष्ट्रिय टालीको छनोटलाई लिएर असन्तुष्टि पनि जनाएका थिए। यस्तो अवस्थामा क्यानले घोषणा गरेको प्रारम्भिक टोलीले अब अन्तिम टोलीमा पनि केही फरक पार्न सक्ने संकेत गरेको छ।
एनपीएलको पहिलो र दोस्रो सिजनमा राम्रो प्रदर्शन गरेका ओपनर हुन् विनोद भण्डारी। राष्ट्रिय टोलीमा हुँदा राम्रो प्रदर्शन गर्न नसकेकै कारण टोलीबाट बाहिरिएका भण्डारी घरेलु लिगमा भने प्रभाव देखाइरहेका छन्।
गएको एनपीएलमा उनी सर्वाधिक दोस्रो उच्च रन बनाउने नेपाली ब्याटर हुन्। एनपीएलको फाइनलअघि सर्वाधिक रन बनाउने नेपाली ब्याटर रहेका भण्डारीलाई कप्तान रोहित पौडेलले पछि पारेका थिए।
सुदूरपश्चिम रोयल्सका ओपनर भण्डारीले एनपीएलमा गरेको उच्च प्रदर्शनपछि राष्ट्रिय टोलीमा फिर्ता आउने बारे सोधिएको प्रश्नमा घुमाउरो जवाफसहित असन्तुष्टि पोखेका थिए।
भण्डारीले भनेका थिए, ‘एनपीएल राष्ट्रिय टोलीका लागि छनोट म्याच हो भनेर कसले भन्छ ? पहिला त्यो ‘डिक्लेयर’ गर्नुपर्यो। अघिल्लो संस्करणमा पनि राम्रो प्रदर्शन गरेको थिएँ, तर क्याम्पमा पनि परिन। यो छनोट म्याच हो या होइनले मलाई केही फरक नै पर्दैन।’
आफ्नो तर्फबाट राम्रो प्रदर्शन गर्ने अठोट देखाएका भण्डारीले राष्ट्रिय टोलीमा छनोट गरे पनि नगरे पनि केही फरक नपर्ने गुनासो गरे। तर यसो भन्दै गर्दा उनमा राष्ट्रिय टोलीबाहिर रहेकोमा असन्तुष्टि प्रस्ट देखिन्थ्यो।
‘५० ओभरको खेलमा पनि त्यस्तै प्रदर्शन भइरहेको छ। सेलेक्सन म्याच हो भने राम्रो प्रदर्शन गरेका खेलाडी किन टिममा पर्दैन? प्रधानमन्त्री कपमा पनि टप फाइभ पर्फमेन्स गरेका टप फाइभ खेलाडी राष्ट्रिय टोलीको स्क्वाडमै छैनन्। यहाँ प्रदर्शन राम्रो गरेर टिममा परिन्छ भन्ने के आधार छ?’, उनको प्रश्न थियो।
उनको जस्तै प्रश्न धेरैसँग छ- राम्रो प्रदर्शन गर्न नसकेका खेलाडी किन निरन्तर टिममा रहन्छन्, अनि राम्रो प्रदर्शन गरेका किन अगाडि आउँदैनन्?
एनपीएलको प्रदर्शनलाई हेर्ने हो भने विनोद भण्डारी, शेर मल्ल, अविनास बोहोरा लगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। मल्ल र बोहोराले सन्दीप लामिछानेले जति नै सर्वाधिक १७ विकेट लिए।
तर यसअघि टोलीमा रहेका मोहम्मद आदिल आलम, ललितनारायण राजवंशी, नन्दन यादव, कुशल भुर्तेल, कुशल मल्ल, आशिफ शेख लगायतका राष्ट्रिय टोलीका नियमित खेलाडीको प्रर्दशन सन्तोषजनक रहेन।
जारी एनपीएलमा राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो प्रर्दशनलाई निरन्तरता दिन सकेनन्।
राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटाले एनपीएलको प्रर्दशनलाई हेरेर विश्वकप खेल्ने टोलीमा केही परिवर्तन हुन सक्ने बताए। यद्यपि, टोलीको सन्तुलनलाई ध्यानमा राख्दै छनोट कमिटी, प्रशिक्षक र क्यानले खेलाडी छनोट गर्ने उनको भनाइ छ।
उनले भने, ‘एनपीएलमा राष्ट्रिय टोलीका केही खेलाडी चलेनन् भने नयाँ खेलाडीका लागि राम्रो मौका हो। एनपीएलमा राम्रो गरेका खेलाडीले मौका पाउँछन् होला। अहिले ब्याटरमा भन्दा पनि बलरमा विशेष गरेर स्पिनर हावी देखिए। शेर मल्ल जस्तो खेलाडीलाई देख्न पाइयो अनुभवी खेलाडीमा विनोद भण्डारीले राम्रो प्रर्दशन गरेका थिए। तर छनोट समितिले टोलीको सन्तुलन मिलाउन राम्रा खेलाडी छनोट गर्नुहुन्छ होला।’
यसपटक पनि नेपालको ब्याटिङ लाइनमा ठूलो परिवर्तनको संभावना देखिँदैन। तर बलिङ युनिटमा केही परिवर्तन हुन सक्ने सम्भावना छ। शेर मल्लले विश्वकप खेल्ने अन्तिम टोलीमा पनि स्थान बनाउने उच्च सम्भावना छ। तर उनले यो बीचको अभ्यासमा कस्तो प्रदर्शन गर्छन् भन्ने कुराले महत्वपूर्ण अर्थ राख्नेछ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले पनि यसअघिको टोलीको प्रदर्शन हेरेर नै आफूले टोली बनाउने बताइसकेका छन्। ल को भनाइको आधारमा शेर मल्लले टोलीमा स्थान बनाउने संभावना छ। अन्य खेलाडी भने पुरानै रहनसक्ने उनको संकेत छ।
प्रारम्भिक टोलीः रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनास बोहोरा, प्रतिश जि.सी, रुपेश सिंह
Shares

प्रतिक्रिया