राजनीति


अन्तत: रवि लामिछाने चितवन पुगेर गाडीमा जाने भए रुपन्देही

अन्तत: रवि लामिछाने चितवन पुगेर गाडीमा जाने भए रुपन्देही

रुपन्देही जान भनेर शुक्रबार बिहान त्रिभुवन विमानस्थल (काठमाडौँ) पुगेका रवि लामिछाने।


नेपालखबर
पुस ४, २०८२ शुक्रबार १३:५२, काठमाडौँ

अन्तत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवनबाट गाडीमा रुपन्देही जाने भएका छन्।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा रहेका लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार रिहाइका लागि कानुनी प्रक्रिया पूरा गर्न रुपन्देही जिल्ला अदालत जान लागेका हुन्।

त्यसका लागि सिधै भैरहवा जान भनेर उनी आज बिहान ८ बजेअघि नै काठमाडौँस्थित त्रिभुवन विमानस्थल पुगेका थिए।

रुपन्देही जान भनेर शुक्रबार बिहान त्रिभुवन विमानस्थल (काठमाडौँ) पुगेका रवि लामिछाने।

तर भैरहवा विमानस्थल नै नखुलेका कारण अब लामिछाने काठमाडौँबाट चितवनसम्म हवाईजहाजमा र त्यहाँबाट गाडीमा रुपन्देही जाने उनका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले नेपालखबरलाई जानकारी दिए। 

‘अहिलेसम्म उहाँ चितवन पनि उडिसक्नुभएको छैन’, दिउँसो २ बज्नै लाग्दा उनले भने, ‘काठमाडौँ एयरपोर्टमै हुनुहुन्छ। केही बेरमा प्रस्थान गर्नुहोला।’

रुपन्देहीकै बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएको हो।

त्यसका लागि कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जिल्ला अदालत नै जानुपर्ने भएको हो।  

उच्च अदालतको आदेशअनुसार आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो बैंक ग्यारेन्टीमार्फत सुरक्षित गरेपछि रवि रिहा हुन पाउने भएका हुन्।

रविले सुप्रिम सहकारीबाट प्रवाह भएको रकममध्ये दामासाहीले पर्ने बिगो बैंक जमानत राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार मुद्दाको पुर्पक्ष गर्न पाऊँ भनी निवेदन दिएका थिए।

अदालतले बचतकर्ताको रकम सुनिश्चित गर्ने उद्देश्यले उनले दिएको बैंक जमानत स्वीकार गरिएको उल्लेख गर्दै तोकिएका सर्तअनुसार मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको हो।

आदेशमा लामिछानेलाई रिहा गर्न पाँच सर्त तोकिएको छ।

जसमा यसअघिको धरौटी स्वीकार गर्ने, बिगो बापतको बैंक जमानत सुरक्षित गर्ने, विदेश यात्रा गर्दा अदालतलाई पूर्व जानकारी दिने तथा अन्तिम फैसलापछि थप दायित्व ठहरेमा तिर्न मञ्जुर हुनुपर्ने छन्।

विस्तृत : ​रविलाई जिल्ला अदालतले छाड्दा उच्चले उल्ट्यायो, थुन्दा पनि बदर गरिदियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad