नेकपा एमालेका नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा दिएका छन्।
नेता अधिकारीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् पचास वर्ष लामो राजनीतिक जीवनबाट बिदा दिएको जानकारी दिएका हुन्।
पचास वर्ष लामो राजनीति जीवनमा उनले ४४ वर्ष पूर्णकालिन भएर काम गरेका थिए।
‘जति दिन काम गरेँ पूरा मनले गरेँ। इमान, निष्ठा र समर्पणकासाथ गरेँ। तन, मन र धनसमेत दिएर निसर्त तथा निस्वार्थरूपमा गरेँ,’ सक्रिय राजनीतिबाट बिदा लिएको जानकारी दिन उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ। जसरी पनि जिम्मा पूरागर्ने मेरो कार्यशैली रह्यो। एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि म कहिल्यै नेता थिइनँ। म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ। समाज बदल्न हिँडेको वास्तबिक झोले कार्यकर्ता थिएँ।’
उनले कहिल्यै पनि आफूले पद र अवसरका लागि मरिहत्ते नगरेको पनि बताएका छन्।
‘सपना असल कम्युनिष्ट बन्ने थियो। तर सबै मानकहरू पूरागर्न सकिनँ। अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन। साधरण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भब काम गरिरहनेछु,’ अधिकारीले भनेका छन्, ‘गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद ब्यक्त गरेर, खुसीले, ६६ वर्षको उमेरमा सक्रिय राजनीतिबाट विदा भएकोछु।’
उनले लामो राजनीतिक जीवनमा आफूबाट भएका भूलचुकहरूप्रति सम्बन्धित सबैसँग क्षमा याचनासमेत गरेका छन्।

नेता अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएकोमा एमाले नेता प्रदीप ज्ञवालीले अधिकारीप्रति सम्मान व्यक्त गरेका छन्।
‘हृदयको गहिराइदेखि नै सम्मान छ प्रिय कमरेड,’ काशीनाथ अधिकारीको स्टाटस शेयर गर्दै ज्ञवालीले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईँको निष्ठा र निरन्तरताको पुस्तक पढिरहन मन छ। आगामी दिनहरू सुखद रहून्!’
Shares

प्रतिक्रिया