नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान साढे २१ घन्टापछि आज बिहान सम्पन्न भएको छ।
काठमाडौँको भृकुटीमण्डपमा भोटिङ मेसिनमार्फत बुधबार बिहान ९:२० मा सुरु गरिएको मतदान बिहीबार (आज) बिहान ७ बजे आसपास पूरा भएको हो।
यसैबीच महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार प्रदीप ज्ञवालीले स्वस्थ र सौहार्दपूर्ण रूपमा मतदान प्रक्रिया पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन्। यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाएको उनले उल्लेख गरेका छन्।
बिहीबार बिहान घाम उदाउँदै गरेको दृश्यको तस्बिर राख्दै ज्ञवालीले फेसबुकमा लेखेका छन्, 'नमस्कार, सुप्रभात! २२६३ प्रतिनिधिमध्ये २२२७ ले मतदान गर्नुभएसँगै नेकपा एमालेको ११औँ महाधिवेशनको मतदान प्रक्रिया समाप्त भएको छ। भदौको अन्तिम साताका घटनाक्रमपश्चात् मूलधारका राजनीतिक पार्टीहरूको सान्दर्भिकता समाप्त भयो भनेर निर्माण गरिएको भाष्यलाई मंसिर २७ गते सल्लाघारीमा उपस्थित विशाल जनसहभागिताले खण्डित गरेको थियो भने नेतृत्व निर्माणका लागि भएको स्वस्थ, सौहार्द एवं कमरेडली प्रतिस्पर्धाले पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाएको छ।'
उनले अगाडि लेखेका छन्, 'मलाई लाग्छ, यी दुवै विषयको सकारात्मक प्रभाव पार्टीको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमै पर्नेछ। सबैको जय होस्!'
एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल टिमसहित प्रतिस्पर्धामा छन्।
ज्ञवाली ओली प्यानलबाट महासचिव पदमा उठ्न चाहन्थे। तर ओलीले शंकर पोखरेललाई नै दोहोर्याएपछि दु:खी हुँदै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका थिए। ओलीले भने उनलाई उपाध्यक्षमा उठ्न भनेका थिए। तर महासचिव पद नपाएपछि ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका हुन्।
ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डेले शंकर पोखरेललाई महासचिव पदमा चुनौती दिएका छन्। धेरैले उनीहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन्।
Shares

प्रतिक्रिया