राजनीति


एमाले महाधिवेशनमा देखिएका चार परिदृश्य

महासचिवमा कडा टक्कर, तीनथरी मतदाता
एमाले महाधिवेशनमा देखिएका चार परिदृश्य

सागर न्यौपाने
पुस ३, २०८२ बिहिबार ४:४९, काठमाडौँ

नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ।

केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा छन्।

काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा लामबद्ध मतदाताले एमाले पार्टीको भविष्यबारे चिन्ता र चासो व्यक्त गरेका छन्। 

देशभरबाट चुनिएर आएका २ हजार २६३ एमाले महाधिवेशन प्रतिनिधिले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य चुन्न मतदान गरिरहेका हुन्। 

हिजो बुधबार बिहान ९:२० बजेदेखि विद्युतीय मेसिनबाट जारी मतदान यो खबर लेख्दा (बिहीबार बिहान ४:४५ बजे) सम्म सकिएको छैन। 

नेपालखबरले मत दिएका र दिन बाँकी रहेका मतदाताहरू- जनप्रतिनिधि, भूगोलका नेता, सातै प्रदेशका नेता सबै मिलाएर कुरा गरेको छ। 

जसमा चार खालका विचार व्यक्त भएका छन्।

पहिलो : मत क्रस 
सयभन्दा बढी मतदातासँग प्रत्यक्ष भेटेर कुरा गर्दा उनीहरूको उस्तै आवाज सुनियो- पार्टीलाई एकढिक्का राख्न सन्तुलित नेता चुन्नुपर्छ। 

ओली र पोखरेलले अलग-अलग प्यानल बनाएका छन्। तर ती मतदाताहरूले आफ्नो प्यानलमा सीमित नरही दुवैतर्फका उम्मेदवार छानेर मत दिइएको बताएका छन्। 

‘अध्यक्षमा बाको विकल्प देखिएन बाकी पदमा सन्तुलित राख्नेगरी मत दिएु एक मतदाताले भने, ‘केन्द्रीय सदस्यसम्म त्यही गरियो।’

त्यस्तो गर्नको लागि ओली र पोखरेल दुबैपक्षले मत दिन बनाएको सुची नै हेरेको उनले बताए।

‘त्यही भएर त मतदान गर्न समय लाग्यो नि, नत्र त एउटै प्यानलमा हाल्न कति बेर लाग्छ र’, ती मतदाताले थपे।

फरक कित्तामा उभिनेलाइ सकाइदिने ओलीको नराम्रो बानिले गर्दा पनि पार्टीमा चेक एन्ड ब्यालेन्स गर्ने अर्को पक्षको प्रतिनिधित्व आवश्यक भएकैले सुझबुझ रुपमै थुप्रैले त्यसले क्रस मत खसालेको अर्का मतदाताले दाबी गरे।

‘नत्र त पार्टीमा बस्नै नसक्ने स्थिति बनाउँछन्, यस्तो अवस्था आउन दिन हुँदैन भन्ने साथीहरूको बुझाइ पाउँछु’, ती मतदाताले भने।

उनीहरूको कुरामा विश्वास गर्ने हो भने अध्यक्षबाहेक उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव मात्र होइन, केन्द्रीय सदस्यसम्मै मिश्रित नतिजा आउने देखिन्छ।

तर, अध्यक्ष ओलीको कडा रुलिङ थोरैले मात्र उल्लंघन गरे पनि त्यो निर्णायक नहुने राजेन्द्र राइले दाबी गरे।

‘सबै प्यानलै आउँछ’, उनले भने, ‘बाहिर चर्चा गरेजस्तो होइन, लिस्टबाट दायाँबायाँ गर्ने कसले साहस गर्दैन’, उनले भने ।

तर, चुनावी माहोल देखेपछि पोखरेल पक्षका उम्मेदवार उत्साहित देखिन्छन्। पदाधिकारीमा कम्तीमा ६ जनाले जित्ने सम्भावना रहेको उनीहरू बताउँछन्।

‘यो माहोल र लाइनमा लागेका साथीहरूको कुरा सुन्दा ९ जना पदाधिकारी आउँछन्, त्यति राम्रो रेस्पोन्स पाइएको छ’, पोखरेल पक्षका एक नेताले भने।

ओली पक्षकै केही नेताले पनि त्यो सम्भावना देखिएको स्वीकार गरे।

महासचिवमा कडा टक्कर

एमालेको जारी चुनावमा सबैभन्दा कडा प्रतिस्पर्धा महासचिव पदका प्रतिस्पर्धी शंकर पोखरेल र सुरेन्द्र पाण्डेबिच हुनसक्ने मतदाताको आकलन छ। 

उपाध्यक्षबाट तल झरेर पाण्डेले ईश्वर समूहबाट महासचिव पदमा उम्मेदवारी दिएका हुन्। शंकर पोखरेल भने महासचिवमै दोहोरिन खोजेका हुन्।

पाण्डे र पोखरेलबिच टक्कर हुनुका केही कारण मतदाताले खुलाए। 

ती यस्ता छन् :

पहिलो- पोखरेलसँग नेताहरू असन्तुष्ट छन्। 

देशभरबाट प्रतिनिधि चुन्दा र पदाधिकारी टिम बनाउँदा पोखरेलले एकलौटी गरेको भन्दै सुदूरपश्चिम, मधेस र गण्डकी प्रदेशका केही नेता उनीसँग रुष्ट रउँछन्।

यस्तै विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङजस्ता जनमत होल्ड गरेका नेताले साइलेन्ट बसिदिएका छन्।

यी नेताको पकडमा निर्णायक मत रहेको अनुमान छ। अनि उनै नेता मरिमेटेर नलागिदिँदा त्यसको सिधा फाइदा पाण्डेले लिन सक्ने देखिन्छ।

ओलीले प्रतिनिधि चुनेर पठाएको बताउने एक मतदाताका अनुसार झिनो अन्तरले मात्र जित-हार होला।

‘साथीहरूको कुरा सुन्दा र म आफैँ पनि मत खसाल्दाको माहोल हेर्दा त ५० मतको पनि अन्तर होलाजस्तो लाग्दैन’, उनले भने।

ओली पक्षको बुझाइमा पोखरेल पक्षसँग ५/६ सय मत छ।

तर केपी ओलीसँग रहेको मत शंकर पोखरेलको हकमा क्रस हुनेबित्तिकै त्यसको फाइदा पाण्डेले लिने ओली पक्षको विश्लेषण छ।

तर ओली पक्षका नेताहरू प्यानलमा यताउता हुने सम्भावना नरहेको जिकिर गर्छन्। 

‘अध्यक्षको प्यानलमा भएकाले अन्तर्घात हुन गाह्रै छ’, एक मतदाताले भने।

पोखरेल दिनभर मत माग्न व्यस्त

ओलीविरुद्ध अध्यक्ष उठेका ईश्वर पोखरेल दिनभर मतदाता भेट्न व्यस्त रहे। 

कतै लाइनमै पुगेर नमस्कार गर्दै मत मागे त कसैसँग सम्बन्धको कुरा निकाले। उनी मत खसाल्ने ठाउँमै पनि पुगे।

यतिसम्म कि उनी मतदान लम्बिँदा मध्यराति मतदाताहरूको नाचगानमा समेत सहभागी भए। 

त्यसो त उनी मात्र होइन, उनका टिमका अन्य पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवार मतदान जारी रहँदासम्म आफ्ना पक्षमा मत माग्न सक्रिय भएका थिए। 

उता ओलीसहित उनी पक्षका उम्मेदवार भने मत माग्न त्यसरी सक्रिय भएको देखिएन।  

तीनथरीका मतदाता 
एमालेको यो महाधिवेशनमा प्रतिनिधि हेर्दा तीनथरीका देखिए। 

पहिलो- ईश्वर पोखरेलसँग कोर्डिनेसन केन्द्रदेखि राजनीति गरेका मतदाता।

दोस्रो- मदन भण्डारीले बनाएको एमालेको वैचारिक लाइनअनुसार राजनीति गर्दै आएका मतदाता।

तेस्रो- ओलीले पार्टी नेतृत्व लिएपछि बनेको समूह र नेता।

‘पहिलो र दोस्रो धारका मतदाताको मनस्थिति लगभग उस्तै छ। पार्टीमा दुवै खेमाको प्रतिनिधि गराएर पार्टी एकढिक्का राख्नुपर्छ भन्नेले मिलाएर मत हाले’, अर्का मतदाताले भने, ‘तेस्रो धारले ओली बाहेक अरू देख्दैन। उसले एकछापे मत दिएको छ।’

तटस्थ मतले पनि नतिजा फेरबदल गर्न सक्ने सम्भावना राख्ने नेताहरू बताउँछन्। 

तर त्यस्तो मत कति छ भन्ने यकिन छैन।

‘१० देखि १८ प्रतिशत पुग्न सक्छ’,  एक नेताले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad