राजनीति


असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली

असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले फकाएका नेताहरू प्रदीप ज्ञवाली, राजेन्द्र गौतम र सुहाङ नेम्वाङ।


नेपालखबर
पुस १, २०८२ मंगलबार १८:९, काठमाडौँ

नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदै छ। तेस्रो पटक एमालेको अध्यक्ष बन्न केपी शर्मा ओलीले उम्मेदवारी दिएका छन्।

अध्यक्षमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौति दिएका छन्। यतिसम्म कि ओली र पोखरेल पक्षको अलग–अलग प्यानल बनेको छ।

सोमबार दुवै तर्फका नेताहरूले उम्मेदवारी दर्ता गराएका थिए। पोखरेल पक्षले सहजै उम्मेदवार तय गरे पनि ओली पक्षमा असन्तुष्टि बढ्यो। मरिमेटेर साथ दिएका कम्तीमा ६ नेतालाई ओलीले समेट्न सकेनन्।

महासचिव दाबी गरिरहेका उपमहासचिव प्रदीप ज्ञवालीको नाम पनि उपाध्यक्षको सूचीमा राखियो। जसलाई उनले अस्वीकार गरे र केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए। 

पदाधिकारीमा नसमेटिएपछि रघुजी पन्तले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए। यस्तै, राजेन्द्र गौतमले उपमहासचिव उम्मेदवारी दिए।

केन्द्रीय सदस्यमा मात्र नाम रािखएपछि अग्नि खरेल, भीम आचार्य र कृष्णगोपाल श्रेष्ठले पनि ओलीसँग विद्रोह गरे। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथमा पोखरेल पक्षले दिएको चुनौति छँदै थियो, त्यसमाथि आफ्नै पक्षमा रहेका नेताले गरेको भद्र विद्रोहले ओली दबाबमा परे।

आफ्नै समूहभित्रका नेतालाई विच्काउँदा त्यसले पार्ने परिणामबारे ओलीले आकलन गरिसकेका थिए। त्यही भएर ओलीले केही नेतालाई फकाउनका लागि आफ्ना विश्वास पात्रलाई भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमै खटाए।

ती नेताहरूले मिलेर जानुपर्ने भन्दै असन्तुष्ट नेताहरूलाई ओलीसँग एकपटक भेट्न सुझाव दिए। तर, त्यो सम्भव भएन। सोमबार बेलुका साढे ६ बजे केन्द्रीय निर्वाचन कमिटीले उम्मेदवारी मनोनयनको समय सकिएको घोषणा गर्‍यो। 

आफैँ सक्रिय

ओली पक्षभित्रैबाट परेको विद्रोही उम्मेदवारले पोखरेल पक्ष हौसियो। जुन सूचना ओलीले पनि पाए। सोमबार बेलुकादेखि भेटघाट र छलफल बढाए। त्यसपछि प्रदीप ज्ञवालीसँग संवाद गरे। 

सूर्य थापासहितका केही विश्वासिला नेतालाई फेरि ज्ञवाली भेट्न निवासमै पठाए। अनि, ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ओली पक्षका नेतालाई मत मागे। उनी मंगलबार बिहानैदेखि मत माग्न व्यस्त छन्। 

भक्तपुरको गुण्डुमा बसेर ओलीले असन्तुष्टमध्येका केही नेतालाई पछि कतै मिलाउने बचन दिएका छन्। त्यसपछि उपमहासचिव पदमा मनोनयन दर्ता गराएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिए।

‘नेतृत्वसँगको परामर्श र सयौँ साथीहरूको सुझावअनुसार उपमहासचिव पदबाट उम्मेदवारी फिर्ता लिएँ। केन्द्रीय सदस्यमा दिएँ,’ गौतमले नेपालखबरसँग भने।

यतिमात्र होइन, ओलीले केही नेतालाई आफ्नै प्यानलमा समेटेका छन्। उपाध्यक्ष रघुजी पन्तलाई उनले टीममा समावेश गरेर महाधिवेशन प्रतिनिधिसँग मत मागेका छन्। नेपालखबरले प्राप्त गरेको ओली पक्षका उम्मेदवारको सूचीमा पन्तको नाम उपाध्यक्षको क्रम संख्या ९ मै उल्लेख गरिएको छ। 

यस्तै, स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सुहाङ नेम्वाङलाई पनि ओलीले आफ्नै समूहमा समेटेर महाधिवेशन प्रतिनिधिसँग मत मागेका छन्। ‘रघुजी पन्तलाई हामीले उपाध्यक्षमा समेटेका छौँ, सुहाङ सहितका साथी पनि हाम्रै टीममा पारेका छौँ,’ ती नेताले नेपालखबरसँग भने, ‘अब लगभग सबै असन्तुष्टलाई मिलाइसकेका छौँ।’

तर, अग्नि खरेल, भीम आचार्य र कृष्णगोपाल श्रेष्ठलाई भने पोखरेल पक्षले समेटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad