नेकपा (एमाले) को ११औँ महाधिवेशनका तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।
शुक्रबार भक्तपुरको सल्लाघारीस्थित महाधिवेशन स्थलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी नेतृत्वले तयारीको समग्र अवस्था सार्वजनिक गरेको हो।
मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च तथा प्राविधिक तयारी करिब ९० प्रतिशत पूरा भइसकेको जानकारी दिए। उनले साउण्ड सिस्टमदेखि अन्य सबै व्यवस्थापन अन्तिम चरणमा पुगेको उल्लेख गर्दै भने, ‘नेकपा (एमाले) को ऐतिहासिक ११औँ राष्ट्रिय महाधिवेशनका लागि सल्लाघारी नै उपयुक्त स्थान ठहरिएको छ।’
त्यसैगरी, पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईले उद्घाटन सत्रमा करिब ३ लाख नेता तथा कार्यकर्ता सहभागी हुने विश्वास व्यक्त गरे। महाधिवेशनसँगै प्रतिशोधविरुद्ध, संविधान तथा व्यवस्थाको रक्षा गर्न लक्षित ‘महाअभियान’ सुरु हुन लागेको पनि उनले बताए।
विदेशी अतिथि आमन्त्रण गर्न नसकिए पनि शुभकामना पठाउन आग्रह गरिएको भट्टराईले उल्लेख गरे। साथै विभिन्न १६ दलका नेताहरू उद्घाटन सत्रमा सहभागी हुने जानकारी उनले दिए। विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेको हुँदा यो महाधिवेशन पूर्ण रूपमा नेतृत्व चयनमा केन्द्रीत हुने उनले स्पष्ट पारे।
Shares

प्रतिक्रिया