राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेनजी आन्दोलनका माग र भावनालाई ‘हाइज्याक’ गरेको आरोप लगाउँदै बलियो राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको आवश्यकता औंल्याएका छन्।
काठमाडौँमा आयोजित राप्रपा नेपाल काठमाडौँ जिल्ला स्तरीय जेनजी फ्रन्टको भेलालाई सम्बोधन गर्दै थापाले भाद्र २४ गतेपछि जेनजी आन्दोलनलाई लक्षित गर्दै विभिन्न षड्यन्त्र सुरु भएको दाबी गरे।
‘जेनजी, दाजुभाइ-दिदीबहिनीको सपना पूरा गर्न अब सबै राष्ट्रिय शक्ति एक ठाउँमा बस्ने बेला आएको छ,’ उनले भने।
थापाले राप्रपा र राप्रपा नेपालबीच चाँडै एकता हुन सक्ने संकेत पनि दिए। ‘सबै अनुकूल भए केही दिनमै खुशीको समाचार सुन्न पाउनुहुनेछ,’ उनले भने।
थापाले जेन्जी आन्दोलनलाई ८४ को निर्वाचन वा नेतृत्व परिवर्तनसँग जोडेर व्याख्या गर्नु गलत भएको टिप्पणी गरे। देशका हजारौँ युवाले गरेको बलिदानपछि पनि खोजिएको परिवर्तन नआएको भन्दै उनले राजनीतिक नेतृत्वमा रहेको कमजोरीतर्फ संकेत गरे।
उनी अहिलेको निर्वाचन प्रणाली महँगो, त्रुटिपूर्ण र अपराधीकरणलाई बढावा दिने खालको भएको भन्दै चिन्तित देखिए। ‘करोडौँ खर्च गरेर जित्नेले जनताको सेवा गर्छ कि त्यो पैसा उठाउनेतिर लाग्छ?’ उनले प्रश्न गरे।
थापाले संविधानिक अंग तथा न्यायपालिकामा हुने ‘भागबन्डा’ र राजनीतिक हस्तक्षेपकै कारण भ्रष्टाचार मौलाएको आरोप लगाए।
Shares

प्रतिक्रिया