राजनीति


‘वर्तमान सरकार पनि पारदर्शी बन्न सकेन’

‘वर्तमान सरकार पनि पारदर्शी बन्न सकेन’

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १९:४०, काठमाडौँ

अधिकारकर्मीहरूले वर्तमान सरकारको आलोचना गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अधिवक्ता राजुप्रसाद चापागाईं, मोहना अन्सारीलगायतका अधिकारकर्मीहरूले वर्तमान सरकारले पनि जेन-जी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन्। 

वर्तमान सरकारले जनतालाई विश्वासमा लिने गरी पारदर्शी ढंगले काम गर्न नसकेको अधिवक्ता चापागाईंले आरोप लगाए। उनले राजनीतिक नियुक्तिमा जथाभावी गरेर सरकारले पुरानै सरकारको चरित्र प्रर्दशन गरेको भन्दै आपत्ति समेत जनाए।

अधिवक्ता चापागाईँले भने, ‘अहिलेकै सरकारमा बस्नेहरूको पनि कस्तो भइदियो भने घुस नखाने मान्छे मात्रै हो सुशासन दिने मान्छे भन्ने भयो। बाँकी जसरी नियुक्ति गरे पनि जस्तो मान्छेलाई नियुक्ति गरेपनि हुने भयो। कुनै पनि पारदर्शिताको कुरा छैन। अन्तरिम सरकारलाई पनि विश्वास गर्न सकिने अवस्था छैन।’ 

मानव अधिकारकर्मी मोहना अन्सारीले जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारले गोली हानि हत्या गर्ने काम गरेको आरोप लगाउँदै दोषीलाई कारबाही गर्नुपर्ने माग गरिन्। उनले पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने कुरालाई सरकारले ढिलाई गर्न नहुने बताइन्। 

मानवअधिकारकर्मी अन्सारीले भनिन्, ‘हामी नागरिकलाई मार्ने अधिकार कुन संविधानमा लेखिएको छ? यसको जवाफ तत्कालीन सरकारले दिनुपर्छ। त्यो कुरा मानव अधिकारकर्मीलाई पनि जानकारी हुनुपर्छ। रुल अफ ल प्राईमिनिष्टरलाई पनि लाग्छ। तत्कालीन प्राईमिनिष्टरलाई पनि लाग्छ। तत्कालीन क्याबिनेटलाई पनि लाग्छ। रुल अफ ल मलाई मात्रै होइन, उहाँहरूलाई पनि लाग्नुपर्छ।’

कार्यक्रममा जेन-जी अभियन्ताहरूले पनि जेन-जी आन्दोलनमा तत्कालीन सरकारले नागरिकको हत्या गरेको जिकिर गर्दै कारबाही गर्न ढिलाई गर्न नहुने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad