कारोबार


सिस्टममै छेडखानी गरी छलेको १ करोड ३ लाख राजस्व दाखिला गर्न जगदम्बालाई भन्सार कार्यालयको पत्र

४० प्रतिशतलाई ४० रुपैयाँ बनाएर ‘इलेक्ट्रिक चुरोट’ आयातमा सुलभ अग्रवालको कम्पनीले छल्यो भन्सार
सिस्टममै छेडखानी गरी छलेको १ करोड ३ लाख राजस्व दाखिला गर्न जगदम्बालाई भन्सार कार्यालयको पत्र

जगदम्बा ओभरसिजका सुलभ अग्रवालले सानेपाको इन्टरनेशनल क्लव परिसरबाट सार्वजनिक रुपमा टोबाको स्टिक्स बिक्रि गर्दै आएका छन्


निर्दोष घोरसाइने
मंसिर २३, २०८२ मंगलबार १२:४८, काठमाडौँ

भन्सार विभागको सिस्टममै छेडखानी गरी छलेको १ करोड ३ लाख राजस्व दाखिला गर्न सुलभ अग्रवालको जगदम्बा ओभरसिजलाई भन्सार कार्यालयले पत्र पठाएको छ।

व्यावसायिक घराना शंकर ग्रुपअन्तर्गतको जगदम्बा ओभरसिज प्रालिले एक करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेर ‘इलेक्ट्रिक डिभाइसमा राखेर तान्नुपर्ने विशेष प्रकारको चुरोट’ आयात गरेको रिपोर्ट नेपालखबरमा प्रकाशित भएको थियो।

सुलभ अग्रवालको कम्पनी जगदम्बा ओभरसिजले भन्सार विभागका कर्मचारीहरुसँगको सेटिङमा मूल्यमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने ‘सुर्ती भएको वा पुनर्निर्मित सुर्ती’ (टोबाको स्टिक)मा प्रतिकिलो ४० रुपैयाँ अन्तःशुल्क मात्र दाखिला गरेर आयात गरेको भेटिएको हो। 

ओभरसिजले जेठमा आयात गरेको टोबाको स्टिक कानुनबमोजिम लाग्ने अन्तःशुल्कभन्दा कम महशुल बुझाएर ल्याएको हो। भन्सार विभागका अनुसार ओभरसिजले जेठको तेस्रो साता आयात गरेको टोबाको स्टिकमा वास्तविक राजस्वभन्दा निकै कम महशुल बुझाएको देखिएको छ।  

चालू आर्थिक वर्ष २०८२/८३ को बजेटसँगै जेठ १५ गतेदेखि नयाँ आर्थिक ऐन जारी भएको थियो। उक्त आर्थिक ऐनमा ‘सुर्ती भएको वा पुनर्निर्मित सुर्ती’को अन्तःशुल्क दर परिवर्तन गरी महशुल दर बढाइएको थियो। आर्थिक ऐन संशोधन भएको संक्रमणकालीन अवस्थाको मौका छोपी सुलभ अग्रवालको कम्पनी ओभरसिजले कम्प्युटरमार्फत मालवस्तुको विवरण प्रविष्टि गर्ने भन्सार विभागको आशिकुडा प्रणालीमा गलत डाटा राखेर कम राजस्व दाखिला गरी टोबाको स्टिक एयरपोर्टबाट छुटाएको हो। 

गत आर्थिक वर्ष २०८१/८२ सम्म यस्तो वस्तुमा प्रतिकिलो ५२० रुपैयाँ अन्तःशुल्क लाग्ने गरेको थियो। तर चालू आर्थिक वर्षको आर्थिक ऐन संशोधन गरेर मूल्यको ४० प्रतिशत अन्तःशुल्क पु¥याइएको थियो। भन्सार र स्वास्थ्य जोखिम करको दर भने परिवर्तन गरिएको थिएन।

सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्यका लागि जोखिम हुन्छ। यसमा प्रतिकिलोग्राम निश्चित रकम तोक्दा अन्तःशुल्क राजस्व कम संकलन हुन गएको थियो। उक्त पदार्थ प्रयोग गर्न निरुत्साहित गर्न अन्तःशुल्कको दर बढाइएको छ। चालू आवमा प्रतिशत कायम गरेर अन्तःशुल्क वृद्धि गरिएको हो। यसबाट राजस्व संकलन बढ्ने विश्वास व्यक्त गरिएको थियो। तर सुलभ अग्रवालले भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर अन्तःशुल्क दर बढ्दा भन्सारको सिस्टममै छेडखानी गरी राजस्व कम उठ्ने बनाइएको छ।

कम्प्युटरमार्फत मालवस्तुको विवरण प्रविष्टि गर्ने भन्सार विभागको आशिकुडा प्रणालीमा छेडखानी गरी व्यवसायी र कर्मचारीको मिलेमतोमा वास्तविक राजस्वभन्दा कम शुल्क लाग्ने व्यवस्था गरिएको छ। 

ओभरसिजले गत आर्थिक वर्ष २०८१/८२ असार मसान्तसम्म १ करोड ५८ लाख १ हजार रुपैयाँबराबरको १ हजार २१९ किलोग्राम टोबाको स्टिक आयात गरेको थियो। जसबापत १ करोड ४ लाख ६ हजार रुपैयाँ राजस्व बुझाएको थियो। 

गत आवको वैशाखसम्म ९० लाख १५ हजार रुपैयाँबराबरको ६९४ किलोग्राम टोबाको स्टिक आयात भएको थियो। जसबाट ५६ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। 

गत आवको जेठमा ६७ लाख ८६ हजार रुपैयाँ बराबरको ५२५ किलोग्राम टोबाको स्टिक आयात भएको थियो। उक्त टोबाको स्टिक नयाँ आर्थिक ऐन जारी भएपछि आयात भएको थियो। जसले गर्दा यसमा प्रतिकिलोग्रामभन्दा पनि मूल्यमा प्रतिशतको आधारमा अन्तःशुल्क लाग्नुपर्ने थियो। तर कम्पनीले ४७ लाख ५१ हजार रुपैयाँ मात्र राजस्व बुझाएको थियो। जेठ १५ पछि आयात भएको टोबाको स्टिकमा १४३.६२८ प्रतिशत राजस्व लाग्नुपर्ने थियो। तर जम्मा ७० प्रतिशत राजस्व मात्र बुझाएर टोबाको स्टिक भन्सारबाट छुटेको थियो।

भन्सार विभागको आन्तरिक लेखा परीक्षणको क्रममा सुर्ती भएको वा पुनर्निर्मित सुर्तीको आयातमा कम राजस्व बुझाएको भेटिएसँगै आयातकर्तालाई अहिलेसम्म छुटेको राजस्व दाखिला गर्न पत्राचार गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी बाबुराम घिमिरेले जानकारी दिए। 

आयातकर्ता जगदम्बा ओभरसिजलाई प्राविधिक सेटिङ मिलाएर छलिएको राजस्वको रकम दाखिला गर्न कार्यालयले कात्तिक २१ गते पत्राचार गरिसकेको छ। भन्सार विभागका अनुसार आयातकर्तालाई करिब १ करोड ३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार गरिएको हो। 

जेठ १५ गते आर्थिक ऐनमा संशोधन भएसँगै विभागको आशिकुडा प्रणाली पनि संशोधित ऐनको प्रावधानका आधारमा अपडेट गर्नुपर्ने हुन्छ। आशिकुडामा डाटा अपडेट गर्दा मूल्यमा ४० प्रतिशत अन्तःशुल्क हुनुपर्ने थियो। तर त्रुटिगत रुपमा प्रतिकिलोग्राम ४० रुपैयाँ अन्तःशुल्क हुन पुग्यो’, घिमिरेले भने, ‘जसले गर्दा राजस्व कम संकलन हुनपुगेको हो।’

कार्यालयले हप्ता १० दिनको समय दिएर आयातकर्तालाई छुट राजस्व दाखिला गर्न पत्राचार गरेको छ। सो समयसम्म सुलभ अग्रवालको कम्पनी जगदम्बा ओभरसिजले राजस्व दाखिला नगरे कानुनबमोजिम प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad