राजनीति


देश विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छ : अर्थमन्त्री खनाल

देश विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छ : अर्थमन्त्री खनाल

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १९:२३, काठमाडौँ

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र र समष्टिगत विकासका लागि उत्तर-दक्षिण सिधासम्पर्क स्थापित हुने भरपर्दो राजमार्ग आवश्यक रहेको बताएका छन्। 

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव २०८२ को शनिबार उद्घाटन गर्दै अर्थमन्त्री खनालले गुणस्तरीय र भरपर्दो उत्तर-दक्षिण सडक सञ्जाज नहुँदा सुदूरपश्चिम प्रदेशमा विकासले गति लिन नसकेको बताए। ‘उत्तर-दक्षिण कनेक्टिभिटी अति महत्त्वपूर्ण छ, कनेटिभिटीले नै विभिन्न हावापानी भएको भूगोल, विभिन्न संस्कृति र क्षमता भएकाहरूलाई सहज रूपमा आर्थिक गतिविधिमा सक्रिय बनाउँछ,’ खनालले भने, ‘सुदूरपश्चिममा यही नभएका कारण विकासमा समस्या भयो।’

उनले स्रोतको उपयोग गर्दै ठूला परियोजना अगाडि बढाउनुपर्ने र अधुरा विकास आयोजना सकेसम्म चाँडो सम्पन्न गर्नुपर्ने बताए। ‘जेनजी पुस्ताको आवाजले देशलाई परिवर्तनका लागि अगाडि बढ्न सन्देश दिएको छ। नवयुवाको परिवर्तनको चाहनालाई संस्थागत गर्न तोकिएको फागुन २१ मा निर्वाचन गर्नुछ,’ उनले भने, ‘हामीसँग धेरै समय, सीमा पनि छैन, तथापि विकासका कामलाई एउटा लयमा लिनका लागि हाम्रो प्रयत्न जारी छ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सुदूरपश्चिम प्रदेश कृषि, पर्यटन, जलस्रोत, जडिबुटीलगायत स्रोतमा सम्भावनाको खानी भए पनि अपेक्षित विकास हुन नसकेको बताए। अब सबै पक्ष मिलेर प्रदेशको विकासका लागि लाग्नुपर्ने र त्यसमा आफ्नो तर्फबाट पनि भूमिका रहने उनको भनाइ थियो। 

धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले पछिल्लो तथ्याङ्कले सुदूरपश्चिममा गरिबी घट्नुको साटो बढेको देखिएको भन्दै अब सही योजनामा लगानी गरेर स्रोतको उपयोग र आर्थिक गतिविधि बढाउनुपर्नेमा जोड दिए। कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले हरेक वर्ष आयोजना हुने महोत्सवमार्फत विभिन्न माग राखेर शालिन आन्दोलन थालिएको लामो समय भइसक्दा पनि धेरै माग पूरा हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

समारोहमा सुदूरपश्चिमको विकास तथा अन्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै पत्रकार चित्राङ्गत थापा, स्वास्थ्य सेवातर्फ डा. प्रदिप मिश्र, डा. मोहन साउँद र तीर्थराज पन्त, भाषा साहित्यतर्फ डा. टीएन जोशी, शिक्षातर्फ प्राडा तुल्सीराम जोशी तथा उद्योग व्यापारतर्फ हेमराज पाठकलाई सम्मानित गरिएको छ।

यसैगरी, समाजसेवातर्फ सीबी चन्द, पर्यटनतर्फ व्यवसायी कलमबहादुर बम, कृषितर्फ रबिनकान्त पन्त, महिला उद्यमी राजकुमारी चौधरी, लोकसंस्कृतितर्फ चक्र बम, खेलकुदतर्फ शेरबहादुर सिंह र क्रिकेटर दिपेन्द्रसिंह ऐरी तथा युवा उद्यमी सुरज रैकालाई सम्मानित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad