राजनीति


मधेसमा जसपा, जनमत, माओवादी र एकीकृत समावादीले पाए मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मेवारी

कांग्रेसका कृष्ण यादव र लोसपाका जितेन्द्र सोनलले दाबी नछाड्दा मुख्यमन्त्री टुंग्याउनै सकस
मधेसमा जसपा, जनमत, माओवादी र एकीकृत समावादीले पाए मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मेवारी

कृष्ण यादव र जितेन्द्र साेनल


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार ९:३४, काठमाडौँ

कांगेस प्रदेशसभा संसदीय दलका नेता कृष्ण यादव र पूर्वमुख्यमन्त्रीसमेत रहेका लोसपाका नेता जितेन्द्र सोनलले दाबी नछाड्दा मधेस प्रदेशमा मुख्यमन्त्री टुंग्याउन सात दललाई सकस परेको छ। 

बिहीबार दिनभर बसेको सातदलको बैठकले पनि मुख्यमन्त्रीमा सहमती जुटाउन नसक्दा शुक्रबार बिहान नौबजेपछि ती दल फेरि छलफलमा बसेका छन्। 

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन्। 
 
मुख्यमन्त्री टुंग्याउन केही बेरमै फेरि सातदलबीच छलफल सुरु हुने एक प्रदेशसभा सदस्यले जानकारी दिए। 

‘सातै दलका प्रमुख लिडरहरूसहितको छलफलले नाम टुंग्याएपछि आजै साँझ पाँचबजेअघि नै हामी मुख्यमन्त्रीमा दाबी पेस गर्नेछौँ,’ ती सांसदले नेपालखबरसँग भने, ‘कृष्ण यादव र जितेन्द्र सोनलले आ-आफ्नो दाबी नछाड्दा अहिलेसम्म मुख्यमन्त्री टुंगिएको छैन।

सात दलको हिजो जनकपुरमा सात घण्टा बैठक बसेपनि कुनै निष्कर्ष ननिस्किएको उनले बताए।  

हिजोको सात दलको बैठकले मुख्यमन्त्रीमा दाबी नगरेका प्रदेश सभाका चार दललाई यादव र सोनलमध्ये एक जनाको नाम मुख्यमन्त्रीको रूपमा टुंग्याउने जिम्मा दिएकाे छ। जसपा, जनमत, माओवादी केन्द्र र एकीकृत समावादीले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मेवारी पाएका हुन्। 

सात दलको बैठकमा यादव र सोनलले दाबी नछाडेपछि माओवादी संसदीय दलका नेता भरत साहले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मा चार दललाई दिन बिहीबारकाे बैठकमा प्रस्ताव गरेका थिए। 

साहको प्रस्ताव अनुसार नै बैठकले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मा चार दललाई दिएको हाे। हिजोको बैठकमा यादव र सोनल दुवैले चार दलले जसको नाम टुंग्याए पनि त्यो आफूहरूलाई मान्य हुने भनेर प्रतिवद्धता जाहेर गरेका छन्। 

‘चार दलले सम्भवत नाम टुंग्याइसक्नु भएको होला, आज बिहान बस्ने बैठकमा अब उहाँहरूले यादव र सोनलजीमध्ये एक जनाको नाम प्रस्ताव गर्नुहुन्छ,’ ती सांसदले भने, ‘त्यसपछि हामी मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखकहाँ जानेछौँ।’

हिजोको छलफलमा जसपा, जनमत, माओवादी केन्द्रसहितका दलले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर, अहिलेको परिस्थितिमा धेरै विवाद गर्दा राम्रो म्यासेज नजाने भएपछि ती दल त्यो दाबीबाट पछि हटेका थिए। 

मुख्यमन्त्रीसँगै दलहरूले मन्त्रालय भागबण्डाको विषयमा पनि हिजाे प्रारम्भिक छलफल गरेका छन्। तर, मुख्यमन्त्रीमै सहमती नभइसकेको अवस्थामा त्यो विषय मुख्य प्राथमिकतामा परेन। 

‘मुख्यमन्त्रीमा दाबी पेस भएपछि मन्त्रालयको भागबण्डा पनि टुंग्याउने सहमती भएको छ। मन्त्रालय पनि हामी पावर शेयरिङ गर्नेगरि टुंग्याउँछौँ,’ उनले भने। 

एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल महाअभियोगबाट पदमुक्त भएपछि अहिले मधेसमा सभामुख पद पनि खाली छ। अहिले उपसभामुख बबिता राउत ईशरले प्रदेशसभा बैठक सञ्चालन गर्दै आएकी छन्। 

अहिले दलहरूबीच सभामुखको विषयमा छलफल भएको छैन। हिजोको बैठकमा केही नेताले सभामुखमा पनि प्याकेजमै सहमती गरौँ भन्ने प्रस्ताव गरेका थिए। तर बैठकमा सहभागी धेरैले त्यस विषयमा छलफल गर्न थालियो भने विवाद झन् बढ्ने भन्दै मुख्यमन्त्री टुंग्याएपछि मात्रै सभामुखको विषयमा छलफल गर्दा उपर्युक्त हुने सुझाव दिएका थिए।

ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते मधेसको मुख्यमन्त्री नियुक्त भएका सरोज यादवले प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको बुधबार पदबाट राजीनामा दिएका थिए। 

उनको राजीनामापछि एमालेबाहेकका सात दल मधेसमा नयाँ सरकार गठनको लागि अघि सरेका हुन्। 

नेपाली कांग्रेस मधेस प्रदेश सभामा एमालेपछि दोस्रो ठूलो दल हो। प्रदेस सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद छन्।

नयाँ सरकार गठनको गृहकार्यमा लागेका सातदलसँग मधेस प्रदेश सभामा दुई तिहाई भन्दा धेरै मत छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad