राजनीति


एमालेको कहीँ नभएको नियम ओखलढुंगामा, केन्द्रको निर्देशन नमान्ने मुडमा जिल्लाका नेता

एमालेको कहीँ नभएको नियम ओखलढुंगामा, केन्द्रको निर्देशन नमान्ने मुडमा जिल्लाका नेता

एमाले ओखलढुंगाबाट निर्वाचित प्रतिनिधि क्रमशः इच्छा गुरूङ, कमलप्रसाद न्यौपाने, अम्बिरबाबु गुरूङ, अशोक थापा, पशुपति गुरुङ, केदारबाबु बस्नेत, टीका धमला, ज्ञानबहादुर खड्का र राजिव कटवाल।


नेपालखबर
मंसिर १७, २०८२ बुधबार २१:४, काठमाडौँ

नेकपा (एमाले) ११औँ महाधिवेशनको मुखमै छ। त्यसका लागि शनिबार एमालेले देशैभर एकसाथ प्रतिनिधि चयन गरेको थियो।

कतै सर्वसम्मतिले प्रतिनिधि चयन भए। कतै समूहगत प्रतिष्पर्धा भयो। कतै मिश्रित परिणाम आयो। कतै कुनै समूहले ‘क्लिन स्विप’ गर्‍यो।

यही क्रममा विवाद पनि देखा परे। ओखलढुंगामा भने नयाँ खालको विवाद देखा परेको छ। एमाले केन्द्रले मंगलबार एउटा निर्देशनात्मक पत्र लेख्दै पाँच दिनभित्र पुनः प्रतिनिधि चयन गरेर पठाउन भन्यो।

अन्य ७६ जिल्लाका प्रतिनिधि चयन हुँदा ओखलढुंगाको निर्णयलाई भने एमाले केन्द्रले अस्वीकार गरेको छ। ओखलढुंगा त्यही जिल्ला हो, जहाँ अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिन लागेका ईश्वर पोखरेलको समूहले ‘क्लीन स्वीप’ गरेको थियो।

सबै १२ प्रतिनिधि पोखरेल पक्षबाटै निर्वाचित भए।

एमाले केन्द्रको तर्क: माथिबाट दिएको निर्देशन पालना भएन

एमालेले पुनः प्रतिनिधि चयन गर्न निर्देशन दिँदै पठाएको पत्रमा ‘महाधिवेशन प्रतिनिधि छनोटका सम्बन्धमा अपानि १३ को निर्देशन, आम सदस्यहरूको सहजताका लागि आठमध्ये ६ वटा पालिका कमिटीहरूको माग, बहुसंख्यक उमेद्वारहरूको असहमति, प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेत अवज्ञा’ गरेको अरोप लगाएको छ।

पुनः प्रतिनिधि चयन गर्न पत्र पठाएका केन्द्रीय संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले केन्द्रको निर्देशन स्वाभाविक भएको बताए। उक्त क्षेत्रबाटै गुनासो आएकाले त्यसबारे थप स्पष्ट हुन पार्टी केन्द्रले निर्देशन दिने कुरा स्वाभाविक भएको उनको भनाइ छ।

‘प्रतिनिधि चयनबारे पहिले केन्द्रले निर्देशन जारी गरेको छ,’ अधिकारीले नेपालखबरसँग भने, ‘त्यस अनुसार भएन भन्ने लागेको ठाउँमा के भएको हो त्यसमा त्यसमा थप स्पष्ट हुन त पाइयो नि।’

अधिकारीले थपे, ‘विधानकै आधारमा केन्द्रीय सचिवालयले निर्देशन जारी गरेको छ। त्यसमै टेकेर हामीले त्यसमा थप स्पष्ट पार्नुपर्‍यो।’

केन्द्रको निर्देशन नमान्ने जिल्लाको अडान

एमाले केन्द्रले पठाएको निर्देशनप्रति भने एमाले ओखलढुंगा असन्तुष्ट छ। केन्द्रको निर्देशन अनुसारै सबै कुरा पूरा गरेर आफूहरूले प्रतिनिधि पठाएको भन्दै केन्द्रको निर्देशन नमान्ने ‘मुड’मा जिल्लाका नेताहरू छन्।

जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काले केन्द्रले एकतर्फी रुपमा पत्र पठाएको गुनासो गर्दै आफूहरू गलत नभएकोबारे केन्द्रलाई बुझाउन कोसिस गर्ने बताए। ‘हामी विधि, नीतिबाटै आएका छौँ,’ खड्काले भने, ‘कसैले उजुरी हालेपछि केन्द्रले एकतर्फी रुपमा पत्र लेखेको भन्ने अभास हामीले पाएका छौँ। पार्टीलाई बुझाउँछौँ, हामीले गलत गरेको होइन।’

उपाध्यक्ष कमल न्यौपाने यसबारे अझ प्रष्ट सुनिए। आफूहरूले प्रक्रिया पूरा गरेरै पठाएकाले त्यसमा पुनर्विचार नगर्ने उनको अडान छ।

‘हामीले प्रक्रिया पुर्‍याएर गरेका छौँ, हामी त्यसमा केही पनि (पुनर्विचार) गर्दैनौँ,’ न्यौपानेले भने, ‘हामी पदाधिकारी मिटिङ बस्छौँ। सल्लाह गर्दै छौँ।’

उनले पार्टी विधि र नीतिमा नभइ व्यक्तिगत हिसाबले चलेको भन्दै केन्द्रको निर्देशनप्रति असन्तुष्टि समेत जनाए। ‘पार्टी विधिमा चलेको छैन। नीतिमा चलेको छैन। व्यक्तिगत हिसाबले चलेको छ,’ न्यौपानेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad