नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि ईश्वर पोखरेलको समूहले ओखलढुङ्गामा प्रतिनिधि छनोटमा ‘क्लिन स्विप’ गरेको छ।
शनिबार सम्पन्न मतदान प्रक्रियामा १२ वटै पदमा विजय हासिल गर्दै जिल्ला राजनीति पोखरेल पक्षमै मजबुत रहेको संकेत दिएको हो।
खुलातर्फ ६, महिलातर्फ ४, युवातर्फ १ र दलिततर्फ १ गरी सबै १२ प्रतिनिधि पोखरेल पक्षमै निर्वाचित भएका छन्।
खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भए।
महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ निर्वाचित भए।
युवातर्फ टीकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे प्रतिनिधि बने।
निर्वाचित सबै नेताहरू ओखलढुङ्गाबाट उदाएका नेता ईश्वर पोखरेललाई केन्द्रीय नेतृत्वमा सशक्त रूपमा समर्थन गर्ने बताएका छन्।
१२ पदका लागि ४१ जनाले उम्मेदवारी दिएका थिए। सहमति नजुटेपछि निर्वाचन समितिले मतदानमार्फत प्रतिनिधि चयन गरेको हो।
मतदानमा कुल १५१८ मत खसेको निर्वाचन समितिका प्रमुख सोभितमान गुरुङले जानकारी दिए।
ओखलढुङ्गामा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा अन्तिम क्षणसम्मको सहमति प्रयासबिच १,५१८ मतदाताको सहभागितामा मतदान सम्पन्न भएको एमाले ओखलढुङ्गाका अध्यक्ष ज्ञानबहादुर खड्काले बताए।
जिल्लामा जम्मा ७,१३५ मतदाता छन्।
उनले अन्य जिल्लाहरूमा पनि कम उपस्थिति देखिएको पृष्ठभूमिमा ओखलढुङ्गामा आएको मत सङ्ख्या उल्लेखनीय मान्न सकिने दाबी गरे।
अध्यक्ष खड्काका अनुसार १३ गतेका लागि तोकिएको निर्वाचनअघि १२ गते साँझसम्म सहमति जुटाउन प्रयास गरिए पनि अन्तिममा केही नेताहरूले निर्वाचन बहिस्कार गर्ने निर्णय लिएका थिए।
‘बहिस्कार निर्णयपछि पनि हामीले सबै साथीहरूलाई फोन गरेर, भेटेर, सार्वजनिक रूपमा ‘आउनुस्, मतदानमा सहभागी होऊँ’ भनेर आह्वान गर्यौँ,’ खड्काले भने।
प्रदेश तथा केन्द्रले तोकेको जिल्ला इन्चार्ज एकराज सुनुवार र क्षेत्र इन्चार्ज किशोर अधिकारी समयमै जिल्लामा नआउने अनि बाहिर बाहिरबाट नेताहरूलाई उचाल्ने तर जिल्ला नआउने गरेको आरोप जिल्लाका अन्य नेताहरू बताउँछन्।
‘इन्चार्ज भनेको जिल्लामा आएर बसेर प्रक्रिया हेर्ने हो। तर उनीहरू उपस्थित नहुँदा जिम्मेवारीपूर्ण भूमिका निभाउन सकेनन्,’ एक नेताले भने।
४१ जनाको उम्मेदवारी परेकोमा १२ जना महाधिवेशन प्रतिनिधि छान्नुपर्ने भएकाले सहमति गर्न कठिन भयो र त्यसपछि मात्र मतदान प्रक्रियामा जानु परेको जिल्ला समितिले जनाएको छ।
जिल्ला अध्यक्ष खड्काले भने,‘हरेक चरण खुला, पारदर्शी र निर्वाचन समितिको कार्य तालिका भनेअनुसार निर्वाचन भयो।’
जसले चुनाव हारे
महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका संविधान सभाका सदस्यहरू हर्कबोल राई र शकुन्तला राजभण्डारी पराजित भएका छन्।
पूर्व अध्यक्ष मोहन श्रेष्ठले पनि हारेका छन्। त्यस्तै बहालवाला उपसचिव अस्मिता थापा पनि पराजित भएकी छिन्।
ओखलढुङ्गामा सुरु देखि नै ओली र पोखरेल समूहमा खुलेर लागेका थिए। अन्तिमसम्म सहमति नभए पछि दुवै समूह चुनावमा जाने सहमति भएको थियो। ओली समूहले अन्तिममा गाउँ गाउँमा चुनाव नभए बहिष्कार भनेर पत्रकार सम्मेलन गरेका थिए। एमालेले चुनावी प्रक्रिया यसअघि नै जिल्ला सदरमुकाममा गर्ने निर्णय गरिसकेको थियो।
ओखलढुङ्गाको मतदान प्रक्रियालाई स्वीकार गर्न नसकिने नेकपा एमाले कोसी प्रदेश कमिटीले जनाएको छ। प्रदेश अध्यक्ष घनश्याम खतिवडाले त्यहाँ विवाद भएको र १५ प्रतिशत पनि मत नखसेको कारण परिणाम स्वीकार गर्न सकिने खालको नभएको प्रतिक्रिया दिए।
Shares

प्रतिक्रिया