राजनीति


महाधिवेशन सफल बनाउन सबै जिम्मेवार बन्नुपर्छ: प्रदीप पौडेल

महाधिवेशन सफल बनाउन सबै जिम्मेवार बन्नुपर्छ: प्रदीप पौडेल

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १८:४६, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै यसलाई सफल बनाउन पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन्। 

पार्टी बैठकको दोस्रो दिनमै यसबारे आफूले प्रस्ताव दर्ता गरेको भन्दै डेढ महिना यसैको विवादमा समय खेर फालिएको उनको भनाइ छ।  

आफूलाई निर्णय भएलगत्तै धेरै नेता कार्यकर्ताले फोन गरेर महाधिवेशन यति छोटो समयमा कसरी हुन्छ भनेर शंसय व्यक्त गरेको प्रसंग कोट्याउँदै उनले आफूले सम्भव देखेरै विगतमा प्रस्ताव गरेको भन्दै अहिले केही समय ढिला भए पनि युद्धस्तरमा कार्य हुने हो भने महाधिवेशन सम्भव रहेको दोहोर्‍याए। 

‘मैले कात्तिक ३० गते नै तालिका बनाएर अघि बढे महाधिवेशन सम्भव छ, बैठक लामो नचलाऔं बाँकी अवधिमा महाधिवेशन गर्न सकिन्छ भनेर प्रस्ताव लगेको थिएँ,’ नेता पौडेलले भिडिओ वक्तव्य जारी गर्दै भनेका छन्,‘तर यसलाई गम्भीर रुपमा लिन नसक्दा डेढ महिना अनावश्यक समय खेर फालियो।’ 

पौडेलले बैठकमा कार्यतालिकासहित पुस महिनाभित्र महाधिवेशन गर्न सकिने लिखित प्रस्ताव दर्ता गरेका थिए। 

पछि महामन्त्रीबाट समेत सोहीअनुसार प्रस्ताव आएको भन्दै नेता पौडेलले भने,‘पछि महामन्त्रीको प्रस्ताव पनि पुसभित्रै सम्पन्न गर्ने गरी आयो। तर, त्यतिबेला निर्णय हुन सकेन। त्यतिबेला निर्णय भएको भए समयको त्यति चाप पर्ने थिएन।’

तोकिएकै मितिमा महाधिवेशन सम्भव भएको भन्दै नेता पौडेलले तर त्यसका लागि सबै युद्धमा जस्तै गरी काम गर्न तयार रहनुपर्ने बताए। 

महाधिवेशनका लागि सबैभन्दा महत्वपूर्ण पाटो सदस्यता नवीकरण र वितरण भएको भन्दै यसपालीको व्यवस्थाले विगतमा जस्तो विवाद र समय नलगाउने विश्वास गरे। 

‘तर यो पटक धेरै सजिलो बनाइएको छ। सदस्य कसैले नवीकरण गर्न चाहेमा बन्चित हुने छैन। विधानले वर्जित गरेको बाहेक कसैको सदस्यस्ता वर्जित हुने छैन। वडा, जिल्ला, केन्द्र र डिजिटल्ली पनि नवीकरण हुने व्यवस्था मिलाइनेछ,’ उनले भने,‘अब चाहने नेपाली नागरिकले सदस्यता पाउने स्थिति बनेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad