मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले महोत्तरी क्षेत्र नम्बर ४ मा एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्दा मनोमानी गरेको आरोप लागेको छ।
मधेस प्रदेशका विवादास्पद मुख्यमन्त्री यादवले आफ्नो गृह क्षेत्रसमेत रहेको महोत्तरी ४ मा आफ्नो डिजाइन अनुसार निर्वाचन गराएर सबै (१९ जना) प्रतिनिधि आफू निकटका व्यक्ति विजयी भएको घोषणा गरेका हुन्।
‘यहाँ बढो विचित्र ढंगले निर्वाचन गरियो,’ प्रतिनिधि छनोटप्रति रुष्ट इतर खेमाका एमाले नेता सरोज यादवले भने, ‘यहाँ दुई प्यानल बनाएर प्रतिनिधि छनोटको निर्वाचन भएको थियो। त्यहीअनुसार मतपत्र डिजाइन गरिएको थियो। तर, मुख्यमन्त्रीले ठाडो हस्तक्षेप गरेर सबै प्रतिनिधि केपी ओली निकटका व्यक्ति विजय भएको घोषणा गरेका छन्।’
महोत्तरी ४ मा एमाले प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तुष्ट यादव अनेरास्ववियुवका पूर्व केन्द्रीय सचिवसमेत हुन्। हाल उनी एमाले प्रदेश कमिटीको सदस्य छन्।
निर्वाचनमा जित्ने प्यानलले चुनावमा तीन हजार चारसय १४ मत पाएको र हार्ने प्यानले जम्मा ९४ मत मात्रै पाएको भनेर घोषणा गरिएको यादवको भनाई छ।
‘महोत्तरी क्षेत्र ४ मा मतपत्र कि त उम्मेदवारी दर्ता अनुसार हुनुपर्ने थियाे, कि त बर्णानुक्रम अनुसार हुनुपर्ने हाे। प्यानलै बनाएर भोट माग्दा आपत्ति भएन तर मतपत्र नै त्यसरी बनाउनु बेइमानी र अनैतिकताको पराकाष्ठा हो,’ प्रतिनिध छनाेटप्रति असन्तुष्ट यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म दावाका साथ भन्छु १४६३७ संगठित सदस्य पार्टी कब्जा गर्ने बदनियतसहित फर्जी बनाईएको हो। आवश्यक योग्यता नपुगेकालाई प्रतिनिधि चयनको उम्मेदवार उजुरीका बाबजुद कायम राख्नु बिधान बिपरित छ।’
आफूहरूले निर्वाचन निस्पक्ष नभएको भनेर मतदान अधिकृतलाई उजुरी गरे पनि सुनुवाइ नभएको गुनासो उनले गरे।
‘मुख्यमन्त्रीले आफ्नै काका (राजबिहारी यादव)लाई मतदान अधिकृत तोक्नु भएको थियो,’ यादवले भने, ‘उहाँलाई हामीले मतदान निस्पक्ष नभएको भन्यौँ। तर, कुनै सुनुवाइ नगरि मतपत्रका दायाँ तर्फका सबै (१९ जना) प्रनिनिधिमा विजयी भएको घोषणा गर्नुभएको छ।’

महोत्तरी ४ मा प्रतिनिधि छनोटको लागि सुरुदेखि नै बदमासी भएको उनकाे दाबी छ।
‘यहाँ एमालेका पार्टी सदस्य १४ हजार ६ सय ३७ छन् भनियो,’ उनले भने, ‘त्यो सबै फर्जी सदस्यको नामावली हो। जनता आवास कार्यक्रमको लागि संकलन गरेका नागरिकतालाई समावेश गरेर पार्टी सदस्य भएको भन्दै उनीहरूलाई मतदानमा सहभागी गराएको छ।’
मुख्यमन्त्री यादवले आफैँ भिडेर यी सबै क्रियाकलाप गरेको आरोप उनले लगाएका छन्।
महोत्तरी १ र २ मा आज निर्वाचन हुँदै
महोत्तरी ४ मा विवादकाबीच एमालेको महाधिवेशन प्रतिनधि छनोट भएको घोषणा गरिए पनि १ र २ मा भने अझै प्रतिनिधि छनोट हुन सकेको छैन। महोत्तरी क्षेत्र नम्बर १ र २ मा आज प्रतिनिधि छनोटको लागि निर्वाचन चलिरहेको एमालेबाट मधेस प्रदेशकी सांसद शारदा थापाले जानकारी दिइन्।
महोत्तरी क्षेत्र नम्बर १ मा खुलाबाट ६ जना प्रतिनिधिको लागि १८ जनाको उम्मेदवारी परेको छ। त्यसैगरि ३ जना महिला सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको छ।
उनले महोत्तरी ३ मा प्रतिनिधि चयन सर्वसम्मत भएको जानकारी आफूले पाएको बताइन्।
Shares

प्रतिक्रिया