राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच भएको एकीकरण भएको छ। आइतबार एक कार्यक्रम गर्दै दुई पार्टीबीच एकता भएको हो। पार्टी एकताअघि दुई पार्टीबीच ५ बुँदे सहमति पनि भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच भएको एकीकरण सम्बन्धी सहमति:
सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै नेपालमा वैकल्पिक राजनीतिका युवा प्रणेता स्व. उज्वल थापाले स्थापना गर्नुभएको 'विवेकशील अभियान' र समान राजनीतिक मर्मसहित छोटो समयमै उल्लेखनीय संसदीय हैसियत बनाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबीच उन्नत राष्ट्र सेवाको साझा उद्देश्यलाई अझ सशक्त बनाउन देहायका सहमति सहित आज एकीकरण सुसम्पन्न भएको छ।
(क) राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व नि:शर्त स्वीकार्दै निष्ठा र मूल्य-मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा एवं 'विवेकशील अभियान'को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने,
(ख) राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्मका लागि बनाइएको विशेष संयन्त्र 'संघीय नेतृत्व मञ्च'मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्ने; मञ्चका सदस्यहरुको वरियता केन्द्रीय समितिको सदस्य सरह हुने; विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरुलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरि जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने,
(ग) एकीकरण पश्चात् दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी', दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति र दलको चिन्ह घण्टी रहने,
(घ) एकीकरण सम्बन्धी निर्वाचन आयोग सम्बद्ध कानूनी प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट आवश्यक दस्तावेजहरु तयार गर्दै पार्टीका नाममा रहेका चल-अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने,
(ङ) राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्धा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

Shares

प्रतिक्रिया