ad ad

राजनीति


कांग्रेसको निष्कर्ष : ओली सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमायो

कांग्रेसको निष्कर्ष : ओली सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमायो

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ८:४४,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको निष्कर्ष निकालेको छ।

बुधबार सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागिपरेको आरोप लगाएको छ।

कांग्रेसले कोरोनाको महामारीको बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, विवादास्पद दुई अध्यादेश, सांसदको अपहरण, अपहरणको मुद्दा दर्ता गर्न इन्कार, सामाजिक सञ्जालमा सरकारको आलोचना गर्नेलाई पक्राउ, सञ्चारमाध्यममा अन्तर्वार्ता लिएकै कारण स्पष्टीकरण सोध्ने जस्ता कार्यले सररकार निरंकुशताको बाटोमा लागेको पुष्टि गर्ने कांग्रेसको ठहर छ।

‘सरकार कोरोनाको महामारीको जोखिमपूर्ण र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापन गर्नुको साटो यस संवेदनशील समयलाई लोकतान्त्रिक भावना विरोधी कार्य गर्ने अवसरका रुपमा प्रयोग गरिरहेको छ । सरकारका क्रियाकलापले नेपाली जनताले विगतको निर्वाचन मार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको छ’, बिैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ नेकपाका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ।’

सांसद विकास कोष सदाका लागि खारेज गर्न माग
कांग्रेस केन्दीय सुमितिले सांसद विकास कोष सदाका लागि खारेज गर्न माग गरेको छ।

कोरोनाका जोखिम सामना गर्नका लागि मूलुकलाई ठूलो रकम आवश्यक रहेको भन्दै कांग्रेसले सांसद विकास कोषको रकम कोरोना नियन्त्रणका लागि खर्च गर्न माग गरेको हो।

‘कोरोनाको जोखिम सामना गर्न मुलुकलाई जरुरी पर्ने ठूलो रकमका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसद विकास कोषका रुपमा विनियोजन गरिंदै आएको नीति खारेज गरेर कोरोना विरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको छ’, विज्ञप्तिमा भनिएको छ।

तत्काल संसद बैठक बोलाउन माग
कांग्रेसले तत्काल संसद बैठक बोलाउन सरकारसँग माग गरेको छ।

कोरो कोरोना जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र वर्तमान सरकारका लोकतान्त्रिक मूल्य र मान्यता विरोधी प्रवृत्तिका सम्बन्धमा संसदमा गम्भीर छलफल हुन आवश्यक रहेको भन्दै कांग्रेसले संसद बैठकको माग गरेको हो ।

‘कोरोना जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र वर्तमान ओली सरकारको लोकतान्त्रिक मूल्य र मान्यता विरोधी प्रवृत्तिका सम्बन्धमा संसदमा गम्भीर छलफल हुन जरुरी छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि तत्काल संघीय संसदको बैठक बोलाउन यो बैठक सरकारसँग माग गर्दछ।’

त्यस्तै कांग्रेसले सांसद अपहरणमा संलग्नहरुलाई कारबाही गर्न, लकडाउनका कारण अलपत्रमा परेकाहरुलाई खाना वा गाउँजाने व्यवस्था गर्न र विदेशमा अलपत्र परेकाहरुलाई तत्काल उद्धार गर्न माग गरेको छ।

कोरोनाको रोकथामका लागि भन्दै लकडाउन गरेर जनतालाई लामो समयसम्म घरमा राखे पनि सरकार व्यापक परीक्षण गर्न असफल भएको कांग्रेसले निष्कर्ष निकालेको छ। पीसीआर प्रविधिमार्फत परीक्षणलाई ७७ जिल्लामै व्यापक तीव्रता दिंदै संक्रमणको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सबैलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्रीहरुको यथेष्ठ व्यवस्था गरी परीक्षणको दायरा बढाउन माग गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .