ad ad

राजनीति


प्रचण्ड-नेपाल गठबन्धनको अबको रणनीतिः पहिले प्रधानमन्त्रीको राजीनामा अनि नयाँ प्रस्तावमा छलफल

प्रचण्ड-नेपाल गठबन्धनको अबको रणनीतिः पहिले प्रधानमन्त्रीको राजीनामा अनि नयाँ प्रस्तावमा छलफल

सागर न्यौपाने
बैशाख १८, २०७७ बिहिबार ८:२३,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय बैठकमा अप्रत्यासित रुपमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ रणनीति तय गरेको छ।

कोरोना संकटपछि गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने ओलीको प्रस्ताव ‘अलमल्याएर आफ्नो शासन लम्ब्याउने ओलीको चाल’ मात्रै हुनसक्ने विश्लेषण गर्दै प्रचण्ड–नेपाल समूहले पहिले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्र अन्य विकल्पमा छलफल गर्ने योजना बनाएको हो।

दुईवटा विवादित अध्यादेश ल्याएपछि पार्टीभित्रै अल्पमतमा परेका प्रधानमन्त्री ओलीले बुधबार सचिवालय बैठकमा आफू राजीनामा गर्न तयार रहेको तर त्यसपछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारेका थिए। शनिबारका लागि तय गरिएको अर्को बैठकमा यही योजनासाथ प्रस्तुत हुने तयारी यो समूहले गरेको छ।

प्रधानमन्त्रीले राखेको प्रस्ताव स्वीकार्न पनि पहिले उनको राजीनामा अनिवार्य रहेको सचिवालयका एक वरिष्ठ सदस्यले बताए।

‘वामदेवजीलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा छलफल गर्नुअघि प्रधानमन्त्री ओलीको राजीनामा आउनुपर्‍यो, त्यसपछि अन्य के के विकल्पमा छलफल गर्ने गरौंला’, सचिवालयका ती नेताले बिहीबार दिउँसो नेपालखबरसँग भने, ‘अहिले प्रधानमन्त्री ओलीको राजीनामा नै प्रमुख सर्त हो।’

उनले बुधबारको बैठकबाट प्रधानमन्त्रीको राजीनामाको विषय सचिवालयमा औपचारिक रुपमा प्रवेश गरेको र छलफल प्रक्रियामा गएको बताए।

प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण उनले मुलुक तथा पार्टीको नेतृत्व गर्न नसक्ने भएकाले सचिवालय बैठकमा राजीनामा माग गरिएको उनले बताए।

‘सचिवालयका अधिकांश साथीहरुले प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गर्दै राजीनामा माग गरिसक्नुभयो, अब उहाँ सत्तामा बसिराख्नु उचित हुँदैन, उहाँको विकल्पबारे छलफल गर्न सकिन्छ’, भैंसेपाटी गठबन्धनका एक अर्का नेताले भने।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए।

सचिवालयका बहुमत सदस्यबाट आफ्नो राजिनामा माग भएपछि प्रधानमन्त्री ओलीले आफू राजीनामा गर्ने तर प्रधानमन्त्री भने गौतमलाई बनाउने प्रस्ताव गरेका थिए।

‘ओलीजीको प्रस्तावअनुसार गौतमलाई नै प्रधानमन्त्री बनाउने भए पनि पहिले उहाँले राजीनामा गर्नुपर्यो भन्ने सचिवालयका धेरैजसो सदस्यको भनाई रह्यो,’ ती नेताले भने, ‘त्यो प्रस्ताव अनुसारको प्रक्रिया अघि बढाउनका लागि पनि पहिले त प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्‍यो।’

सरकारले पार्टीमा छलफल नगरी एकलौटी ढंगले दल विभाजन र संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय सचिवालय, स्थायी समिति र संसदीय दलमा समेत अप्ठेरो अवस्थामा छन्।

विवादास्पद अध्यादेश ल्याएपछि सचिवालयका बहुमत सदस्यले निस्क्रिय रहेको भैंसेपाटी गठबन्धनलाई सक्रिय बनाएका थिए।

प्रधानमन्त्री ओलीले गठबन्धनका एक नेता गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर सो समुहमा विभाजन ल्याउन खोजेको भन्दै यसले गठबन्धन थप एकताबद्ध हुने ती सचिवालय सदस्यले दाबी गरे।

‘हामीले ओलीको विकल्प खोजेका हौं, उहाँको राजीनामा आयो भने विकल्पमा छलफल गर्न के समस्या भयो र,’ ती नेताले थप प्रष्ट्याए, ‘पहिलो सर्त प्रधानमन्त्री ओलीको राजीनामा हो। त्यसपछि विकल्पमा छलफल गर्न सकिन्छ।’

भैंसेपाटी गठबन्धनमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठ छन् भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओलीको पक्षमा देखिएका छन्।

अर्का सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापाको समर्थन त्यति प्रष्ट नभएको नेताहरु बताउँछन्। उनले बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्न नहुने, पार्टी एकता कायम राख्नुपर्ने धारणा राखेका थिए, जसलाई प्रधानमन्त्रीको समर्थनमा उनी रहेको भनेर अथ्र्याइएको छ।

यसअघि गौतमलाई उपचुनावबाट प्रतिनिधि सभामा ल्याउने वा मनोनित गरेर राष्ट्रिय सभामा लैजाने प्रस्तवा अस्वीकार गर्दै आएका प्रधानमन्त्री ओलीले अप्रत्यासित रुपमा प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएपछि प्रचण्ड–नेपाल गठबन्धन आन्तरिक छलफलमा रहेको छ।

ओलीको नयाँ कार्डपछि पनि भैंसेपाटी गठबन्धन कायम रहनेमा सबै नेताहरु एकमत रहेको सचिवालयका ती दुबै नेताले दाबी गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .