अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा विकासका उल्लेख्य कामहरू भएको हुँदा ‘यहाँ केही पनि भएन’ भन्ने धारणा गलत भएको बताएका छन्।
राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४८ सालपछि निर्वाचित सरकारले अघि बढाएको आर्थिक सुधारका कारण नेपालले महत्वपूर्ण प्रगति गरेको उल्लेख गरे।
वाग्लेका अनुसार २०४८ सालको सरकारले सुरु गरेको आर्थिक सुधारले देशलाई औसत ७ प्रतिशत आर्थिक वृद्धिदरमा उकासेको थियो। ‘यदि त्यही गतिलाई निरन्तरता दिएको भए आज नेपालको अर्थतन्त्र १०० अर्ब डलर नाघिसक्ने थियो,’ उनले भने।
तर अहिले अर्थतन्त्र करिब ४५ अर्ब डलरमा सीमित रहेको बताउँदै पछिल्ला डेढ दशकदेखि देश राजनीतिक-आर्थिक उथलपुथलमा फसेको टिप्पणी गरे।
भदौ २३-२४ का घटनाले मुलुक संक्रमणको मोडमा रहेको स्पष्ट देखाएको उल्लेख गर्दै उनले जेनजी आन्दोलनले नयाँ राजनीतिक चेत जगाएको धारणा राखे। ‘यो संक्रमणलाई सही तरिकाले व्यवस्थापन गर्न सक्यौं भने देश नयाँ आर्थिक-राजनीतिक मार्गमा अघि बढ्न सक्छ? असफल भइयो भने प्रतिगमनको खतरा गम्भीर हुन्छ,’ उनले चेतावनी दिए।
नयाँ पुस्ताका राजनीतिक पात्र र नयाँ दलहरूले यो चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्नुपर्ने वाग्लेको जोड छ। उनले मुलुकमा भएका सकारात्मक परिवर्तनहरूलाई नमान्ने, ‘सबै खत्तम’ भन्ने मानसिकता त्याग्नुपर्नेमा पनि ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया