राजनीति


रक्षा बमको टिप्पणी : एमालेले अर्को भाग पाइहालिन्छ कि भनेर दल दर्ता गराएको छ

रक्षा बमको टिप्पणी : एमालेले अर्को भाग पाइहालिन्छ कि भनेर दल दर्ता गराएको छ

नेपालखबर
मंसिर १०, २०८२ बुधबार ५:४४, काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गराएपछि 'नेपाल जेनजी फ्रन्ट'का संयोजक रक्षा बमले खुसी व्यक्त गरेकी छन्। 

प्रतिनिधि सभा पुन: स्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन हालेको एमालेले मंगलबार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि मंगलबार निर्वाचन आयोगमा दल दर्ता पनि गराएको छ। 

‘उसो त भदौ २३ अगाडीसम्म तानाशाही निरंकुशता देखाईरहेका केपी ओली पनि त सत्तासँगको ब्रेकअपपछि, जनताले गरेको रिजेक्सन सहन नसकेर गुन्डुमा संसद् पुनस्थापनाको एकोहोरो सुगा रटाई बम्किरहेकै छन्। रिजेक्टेड प्रेमी मधुशालामा बसेर रोएजस्तै छ उनको रुवाइ। एकातिर ‘नाइँ मलाई त्यही सत्ता चाहिन्छ’ वाला रुन्चे आक्रोश छँदै छ’, बमले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी छन्, ‘तर अर्कोतिर एमालेले अर्को भाग पाइहालिन्छ कि भनेर दल दर्ता गराएको छ। यो कुराको लागि लोकतान्त्रिक बाटो अवलम्बन गरेकोमा भने एमालेलाई शंकाको सुविधासहित लोकतान्त्रिक यात्रामा स्वागत भन्नैपर्छ।’

साथै बमले चुनाव हुन दिन्नौँ भन्ने जेनजीहरूको विरोध गरेकी छन्। 

‘...संक्रमणकालीन अवस्थालाई झन् अप्ठेरोमा पार्दै लोकतन्त्रलाई कमजोर बनाउनको लागि संविधानमा हमला गर्न चाहने जो जति छन्, तिनीहरू सबै यतिखेर चुनावको विपक्षमा छन र अहिलेको सरकारलाई कमजोर बनाउन चाहिरहेका छन्’, उनले लेखेकी छन्, ‘नाइँ मलाई त्यही सत्ता चाहिन्छ भन्ने ओलीहरू र हामी चुनाव दिन्नौँ भन्ने जेनजी साथीहरू तपाईंहरूलाई स्पष्ट होस्– हामी त लोकतन्त्र चाहन्छौँ। लोकतान्त्रिक निकास चाहन्छौँ। र, देशलाई नयाँ जनादेशका साथ हाम्रो आवाज बोल्नेहरूलाई संसद्‌मा जनताको आवाज प्रतिनिधित्व गरिरहेको हेर्न चाहन्छौँ।’

यस्तो छ रक्षा बमको पूरा टिप्पणी :

‘चुनाव हुन दिन्नौँ’- यो कसले किन भनिरहेको छ? अनि कुन घमण्ड र सानका साथ भनिरहेको छ? यसो भन्न उनीहरूलाई कसले हिम्मत दिलाइरहेको छ? चुनाव हुन दिन्नौँ भनिरहेकाहरूको संविधानबारे के धारणा छ? मूल प्रश्न यतिखेर यो हुनुपर्छ। 

तात्कालीन सरकारको तानाशाहीपन जोगाउनका खातिर भदौ २३ मा जसरी सरकार निरकुंश बन्यो र त्यसपछि जे जस्तो अवस्था सिर्जना भयो, त्यो हामी सबैसामु प्रस्ट नै छ। लोकतन्त्रमाथि र संविधानमाथि त्यही बेला पनि हमला गर्न खोजिएकै हो। राज्यविहीनताको अवस्थामा समेत हामीले लोकतन्त्र भनिरह्यौँ। संविधान भनिरह्यौँ। र, त्यसपछि बनेको नागरिक सरकारलाई हामीले प्रस्टसँग आन्दोलनको म्यान्डेट दिएका छौँ। हाम्रो म्यान्डेटले सुशासन र जवाफदेहिताको माग गर्दै भ्रष्टाचारको छानबिन, भदौ २३ र २४ का अपराधीलाई कारबाहीका साथै संक्रमणकालीन अवस्थाबाट लोकतान्त्रिक निकास भनेर स्पष्ट रूपले भनेकै छ। र, यतिखेर लोकतान्त्रिक निकासबाट पर हट्नु भनेको सिंगो देशले त्यसको भार खेप्नु हो। फेरि अर्को तानाशाहको पाउमा लगेर देशको बागडोर सुम्पनु हो। 

उसो त भदौ २३ अगाडिसम्म तानाशाही निरंकुशता देखाइरहेका केपी ओली पनि त सत्तासँगको ब्रेकअपपछि जनताले गरेको रिजेक्सन सहन नसकेर गुन्डुमा संसद् पुन:स्थापनाको एकोहोरो सुगा रटाइ बम्किरहेकै छन्। रिजेक्टेड प्रेमी मधुशालामा बसेर रोएजस्तै छ उनको रुवाइ। एकातिर 'नाइँ मलाई त्यही सत्ता चाहिन्छ'वाला रुन्चे आक्रोश छँदै छ तर अर्कोतिर एमालेले अर्को भाग पाइहालिन्छ कि भनेर दल दर्ता गराएको छ। यो कुराको लागि लोकतान्त्रिक बाटो अवलम्बन गरेकोमा भने एमालेलाई शंकाको सुविधासहित लोकतान्त्रिक यात्रामा स्वागत भन्नैपर्छ। त्यो बाहेक संक्रमणकालीन अवस्थालाई झन् अप्ठेरोमा पार्दै लोकतन्त्रलाई कमजोर बनाउनको लागि संविधानमा हमला गर्न चाहने जो जति छन्, तिनीहरू सबै यतिखेर चुनावको विपक्षमा छन र अहिलेको सरकारलाई कमजोर बनाउन चाहिरहेका छन्।

आखिर चुनाव हुन नदिएर कुन शून्यतामा मुलुकलाई पुर्‍याउन खोजिरहेका छन् उनीहरू? 'नाइँ मलाई त्यही सत्ता चाहिन्छ' भन्ने ओलीहरू र 'हामी चुनाव दिन्नौँ' भन्ने जेनजी साथीहरू तपाईंहरूलाई स्पष्ट होस्- हामी त लोकतन्त्र चाहन्छौँ। लोकतान्त्रिक निकास चाहन्छौँ। र, देशलाई नयाँ जनादेशका साथ हाम्रो आवाज बोल्नेहरूलाई संसद्‌मा जनताको आवाज प्रतिनिधित्व गरिरहेको हेर्न चाहन्छौँ।

सबैले याद गरौँ- लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो।

लोकतन्त्र अमर रहोस्!

गणतन्त्र जिन्दावाद!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad