प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालको संविधानले अहिलेको अवस्थामा संसद् विघटन गर्ने कुनै परिकल्पना नै नगरेको बताएका छन्।
विराटनगरस्थित कोशी प्रदेश सभाको क्षतिग्रस्त भवन अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानले अहिलेको अवस्थामा संसद् विघटनको कल्पना नगरेको बताएका हुन्।
उनका अनुसार, संविधानमा अहिलेको अवस्थामा संसद् विघटन गर्ने व्यवस्था छैन र संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने पनि सम्भावना छोडिएको छैन।
संविधानमै संसद् भङ्ग गर्ने ठाउँ छैन र संसद् भन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने पनि ठाउँ नभएको उनले बताए।
उनले भने, ‘त्यसैले न्यायिक प्रक्रियाबाट संसद् पुनः स्थापित हुनेमा हामी आशावादी छौँ।’

सभामुख घिमिरेले आफूले कुनै पनि दलको भाषा नबोलेको, बरु संविधान र कानुनले के भन्छ त्यसै अनुसार बोल्ने गरेको स्पष्ट पारे।
‘कसको भाषा बोल्यो भन्ने कुरा हैन, के बोल्यो भन्ने कुरा हो। सही कुरा अन्य कसैसँग मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ। मिल्दैमा आपत्ति गर्नुपर्ने केही छैन,’ उनले भने।
क्षतिग्रस्त प्रदेश सभा भवनको अवलोकनपछि उनले पुनर्निर्माण तथा मर्मत सम्भारका कामहरू चाँडै अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनले अहिले प्रदेश सभा सरेको कटहरिमा रहेको तरकारी बजारको समेत अवलोकन गरेका छन्।
अब प्रदेश सभाको आफ्नो छुट्टै संरचनाको आवश्यकता औँल्याएका थिए। निरीक्षणको क्रममा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, प्रदेश सभा सचिवालयका कर्मचारीहरू सहभागी थिए।
Shares

प्रतिक्रिया