राजनीति


संसदीय समितिको निर्देशन : विकास निर्माणलाई निरन्तरता देऊ, दीर्घकालीन नीति ल्याऊ

 संसदीय समितिको निर्देशन : विकास निर्माणलाई निरन्तरता देऊ, दीर्घकालीन नीति ल्याऊ

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १०:४३,

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टिनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरुको काम सुचारु राख्न आयोजना स्थलमा क्वारेन्टिनको व्यवस्था गरी काम अगाडि बढाउन निर्देशन दिएको हो। समिति सभापति कल्याणीकुमारी खड्काले कोरोना भाइरसको रोकथामका लागि लकडाउन लागू गरिएपनि विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिन निर्देशन दिएको बताइन्।

उनले भनिन्, ‘अहिलेको सन्दर्भमा हामीले राष्ट्रिय गौरवका आयोजनाहरु अन्य विकास आयोजनाहरुको प्रकृति हेरेर कार्यस्थलमै मन्त्रालयको मापदण्ड अनुसार क्वारेन्टिन तयार गरी निर्माण कार्यलाई निरन्तरता दिने वातावरण निर्माण गर्न समिति सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, खानेपानी मन्त्रालय, राष्ट्रिय पुननिर्माण सम्पूर्णलाई हामी निर्देशन गर्न चाहन्छौं।’

बैठकमा सांसदहरुले कारोना भाइरसको प्रभावकाबिच श्रमिकहरुको हितको लागि पनि विकास निर्माणका कार्यको सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। त्यसका लागि निर्माण सामग्रीको उपलब्धता सहज बनाउन, मजदुरको सुरक्षा लगायतका विषयमा सरकारले ठोस नीति लिएर काम अगाडि बढाउनुपर्ने सांसदहरुले बताएका छन्। सांसद गणेशकुमार पहाडीले विकास निर्माणका काम अगाडि बढाउन निर्माण सामग्रीको उपलब्धता नभएसम्म सम्भव नरहेको बताए।

उनले भने, ‘काम अगाडि बढाउन त भनियो तर निर्माण सामग्रीहरुको उपलब्धतामा समस्या छ। काम गर्ने मजदुरहरुलाई पनि सम्बन्धित ठाउँमा पु-याउने विषयमा समस्या छ र त्यो लगायत विविध समस्याहरु छन्। त्यसकारण यी समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा नेपाल सरकारले ठोस योजना बनाउनु पर्छ।’

सांसद महिन्द्रराय यादवले विकासको सपना देख्ने तर काम गर्न नसक्ने प्रवृति यसअघि पनि रहँदै आएकाले र अहिले कोरोना भाइरसका कारण काम हुन नसकेपछि यसको बजेट अन्यत्र रकमान्तर गरेर अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘हामी नेपालीले सपना देख्यौं खानेपानी काठमाडौंमा आउँछ मेलम्ची। मान्छे जवानबाट बुढो भइसक्यो खाला की नखाला निश्चित छैन। त्यसकारण देशलाई संकटबाट माथि उहार्ने हो भने देशलाई भोकमरीबाट उहार्ने हो भने अहिले भएका बजेटलाई कुन क्षेत्रमा लाने हो त? सबैभन्दा त्यसको लागि कृषि क्षेत्र, साना उद्योगहरु, श्रमिकहरुलाई काम दिन प-यो। श्रमिक जनताहरुलाई सबैभन्दा बढी यो संकटमा मार परेको छ।’

यस्तै अर्का सांसद अनिल कुमार झाले सुरक्षाको व्यवस्था गरेर विकास निर्माणको कार्यलाई अगाडि बढाउनुपर्ने बताए। काम गर्न नपाएर श्रमिक भोकै मर्ने अवस्थामा आइपुगेकोले पनि आयोजनाहरुलाई सुचारु गर्नुपर्ने सांसद झाले बताए।

उनले भने, ‘नोवल कोरोना भाइरसको प्रकोपको प्रभाव त छदैछ तर यो बीचमा पनि यसका सेफ्टी मेजर्सहरु अपनाएर विकास निर्माणका कार्यहरु गर्न दिनुपर्छ जस्तो मलाई लाग्छ। किन भने भोकै मर्नु भन्दा त काम गरेर मर्नु उपयुक्त हुन्छ तुलनात्मक रुपमा कम कस्टदायी हुन्छ।’

बैठकमा कोरोना भाइरसको प्रभावकाबिच विकास निर्माणको कार्यको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयसँगै राष्ट्रिय गौरवका आयोजनाहरुको सम्बन्धमा, रणनैतिक सडकहरुको सम्बन्धमा र नागरिकहरुलाई सही सूचना प्रवाह गर्ने सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो। छलफलमा सांसदहरुले आगामी बजेटले कृषि र रोजगारीलाई प्राथमिकता दिएजस्तै विकास निर्माणका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन्। यस्तै बैठकले पूँजीगत खर्च न्यून भइराखेको अवस्थामा कोरोना भाइरसका कारण अझ कम हुने भएकोले सरकारलाई दिर्घकालीन नीति ल्याउन समेत निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .