नेकपा एमालेले आफूलाई संसदीय र शान्तिपूर्ण राजनीतिको हिमायती भन्दै आएको छ। तर, उसले प्रतिस्पर्धी शक्तिहरूसँग जुध्न अनेक पटक ‘हतियारविहीन लडाकु दस्ता’ गठन गर्दै आएको छ।
त्यसको सुरुवात एमालेले २०६४ सालको पहिलो संविधान सभा चुनावमा नराम्ररी पराजित भएपछि गरेको थियो। माओवादी शक्तिशाली भएर उदाएको बेला उसको प्रतिकारका लागि एमालेले ‘युथ फोर्स’ नामक दस्ता बनाएको थियो। माओवादीको वाईसीएलसँग ठाउँठाउँमा भीडन्त गरेर एमालेलाई शक्तिमा फर्काउने यो दस्ताले आड दिएको थियो। यसपटक पनि जेनजी आन्दोलनपछि सत्ताच्युत र कमजोर बनेको एमालेले पुनः त्यही सूत्र अपनाएको छ।
शुक्रबार राजधानीमा अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलियन्टर फोर्स’ नामक दस्ताको केन्द्रीय कमान्ड घोषणा गरेका छन्।
अध्यक्ष ओलीले पार्टीबाहिर मात्र होइन, पार्टीभित्र पनि चुनौती आएको महसुस गरेका बेला यस्ता दस्ता ब्युँताउने निर्णय गर्दै आएका छन्। यसअघि पटकपटक महाधिवेशनको छेको पारेर उनले युथफोर्स ब्युँताएका थिए।
पहिलो संविधान सभा चुनावमा आफ्नो मत सुरक्षा गर्न नसकेर पराजित भएको निष्कर्ष निकाल्दै एमालेले माओवादी गतिविधिलाई चुनौती दिन एउटा युवा दस्ता बनायो। एमाले युवा संघका तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा २०६५ साल असार ७ गते ‘युथफोर्स’ गठन गरिएको थियो।
एमालेका तत्कालीन महासचिव झलनाथ खनालले घोषणा गरेको सो फोर्स र माओवादीको भ्रातृ संगठन वाईसीएल (योङ कम्युनिस्ट लिग)सँग विभिन्न ठाउँमा झडप भयो।
विधानले नचिन्ने दस्ता बनाएको भन्दै एमालेकै नेताहरूले विवाद गरेपछि युथ फोर्स र पिपुल्स भोलेन्टियरलाई मिलाएर एउटा स्वयंसेवी संस्था स्थापना गर्ने भन्दै निष्क्रिय पारियो।
फोर्सले केपी शर्मा ओलीको पक्षमा काम गरेको एमालेका नेताहरूको आरोप थियो। एमालेले २०६९ मंसिर १७ गते फेरि युथ फोर्सलाई सक्रिय पार्यो।
जतिबेला दोस्रो संविधानसभाको चुनावको तयारी हुँदै थियो।
२०७१ असारतिर काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट ओली अध्यक्ष निर्वाचित भए। ओलीलाई एमालेको अध्यक्ष बनाउन यही फोर्सले महत्त्वपूर्ण भूमिका खेलेको नेताहरूको भनाइ छ।
त्यसपछि पनि केही समय सक्रिय रहेको फोर्स माओवादी केन्द्रसँग एकतापछि निष्क्रिय रहेको एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी बताउँछन्।
फेरि २०७८ असार २९ गते यही फोर्सलाई ब्युँताउने निर्णय एमालेको स्थायी कमिटी बैठकले गरेको थियो। किनकि, एमालेको दसौँ महाधिवेशन मंसिरमा हुँदै थियो। चितवनमा भएको महाधिवेशनबाट ओली अध्यक्ष निर्वाचित भएका थिए।
त्यही युथ फोर्सको उपप्रमुख भएर काम गरेका पुष्प श्रेष्ठलाई संयोजक बनाएर एमालेले नेसनल भोलेन्टियर फोर्स गठन गरेको हो।


एमालेको आगामी मंसिर २७–२९ सम्म काठमाडौँमा एघारौँ महाधिवेशन तय भएको छ। तेस्रो कार्यकाल अध्यक्ष बन्न लागेका ओलीलाई यसपटक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने घोषणा गरिसकेका छन्। त्यसैले यो दस्ता पार्टीबाहिरका प्रतिस्पर्धीतर्फ मात्र लक्षित नरहेको एमालेकै नेताहरू बताउने गर्छन्।
उसो त एमाले पदाधिकारीहरूले नै फोर्स गठन गर्ने निर्णयमा असन्तुष्टि जनाएका थिए। तर, जोडबलमा फोर्स गठन भएको हो।
जेनजी आन्दोलनपछि सत्ता गुमाएपछि कमजोर भएका ओली महाधिवेशन नजिकिँदै गर्दा कतै जान सकिरहेका छैनन्। जेनजी आन्दोलनका क्रममा भएका हत्या–आगजनीको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई स्थानहद तोकेको छ।
फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्न सुशीला कार्की नेतृत्वको सरकारले तयारी तीव्र पारिरहँदा एमाले पनि चुनावी गतिविधिमा सामेल छ। यद्यपि, उसले प्रतिनिधि सभा पुनर्स्थापनाको माग जोडतोडले उठाइरहेको छ।
एकातिर महाधिवेशन, अर्काेतिर चुनावको मिति नजिकिरहेको बेला पनि एमालेका नेताहरू देशभर हिँड्न सक्ने वातावरण छैन। बुधबार बारामा युवा संघको कार्यक्रममा सहभागी हुन जान लागेका महासचिव शंकर पोखरेल जेनजी प्रदर्शनका कारण जानै सकेनन्। एमालेका कार्यकर्ताले जेनजी प्रदर्शनकारीलाई कुटपिट गरेपछि सिमरा क्षेत्र दुई दिन तनावग्रस्त भयो।
यस्तो अवस्थामा एमालेले भोलेन्टियर्स फोर्स गठन गरेको हो।
‘एमालेको सचिवालय बैठकले नै भोलेन्टियर्स फोर्स बनाउने निर्णय गरेको हो,’ जनसम्पर्क समन्वय प्रमुख भानुभक्त ढकालले भने, ‘पार्टीको विधि प्रक्रिया अन्तर्गत बनेको हो।’
जेन–जी आन्दोलनमा बालकोटमा रहेको निवास जलाइएपछि ओली भक्तपुरको गुण्डुमा बसिरहेका छन्। दुई महिनायता यही फोर्स उनको सुरक्षामा खटिएको छ। उनले यो फोर्सले जिउधनको रक्षा गर्ने दाबी गरेका छन्।
‘एमालेसँग सम्बन्धित र असम्बन्धित सबैको जीउधनको सुरक्षाका लागि यो गठन भएको हो,’ ओलीले घोषणा कार्यक्रममा भने, ‘राज्य संयन्त्रले मात्रै सुरक्षा गर्ने अवस्था रहेन हामीले भोग्यौँ। त्रासदीपूर्ण वातावरण देशमा भयो, यसलाई सहज बनाउन स्थापना भएको हो। लोकतान्त्रिक मान्यताअनुरूप सबैले कर्तव्यको पालना गर्दै बाँच्न पाउनुपर्छ भनेर यो फोर्स निर्माण भएको छ। अब कसैले पनि हिजोको जस्तो राज्यका संरचना जलाउँदै हिँड्न पाउनेछैन। हामी संरचनाको रक्षा गर्नेछौँ। यो हिंसा लुटपाट र त्रासदीपूर्ण वातावरणविरुद्ध हो। यो आतंकको विरुद्धमा हो।’
ओलीले त्यसो भने पनि सुरक्षा निकायहरू यो दस्ताका गतिविधिलाई लिएर सशंकित छन्। चुनावको मुखमा यो समूहले थप मुठभेड निम्त्याउन सक्ने भन्दै उनीहरू चिन्ता व्यक्त गर्छन्।
भोलेन्टियर फोर्सका संयोजक पुष्पराज श्रेष्ठको उत्तेजक अभिव्यक्तिले पनि त्यसैको संकेत गर्छ।
एमालेलाई अवरोध गर्नेहरूको ‘घरघरमा गएर घेर्ने’ धम्की उनले शुक्रबारको कार्यक्रममा दिए।
‘जसरी तपाईंहरूले लोकेसन ट्रयाक गरेर देखाउनुभयो, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौँ। हामी पनि तपाईंहरूको घरघर घेर्नेछौँ,’ उनको भनाइ थियो।
यद्यपि, उनले जेनजीसँग भिड्न नभई देशमा अराजकता, विकृति मच्चाउनेविरुद्ध लड्न फोर्स बनाइएको दाबी गरे।
‘प्रहरीको मनोबल घटिरहेको बेला उच्च बनाउने काम, कानुन हातमा लिएर होइन साथमा लिएर सहयोगी भूमिका खेल्छौँ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘जेनजीका नाममा अराजक गतिविधि भए हामी प्रतिकार गर्न रेडी छौँ।’
फोर्सको नेतृत्व लिनेबित्तिकै श्रेष्ठ आफैँ विवादमा परेका छन्। उनी यसअघि अपहरण, ज्यान मार्ने उद्योगलगायतका अनेकौँ मुद्दाका अभियुक्त भएको खुलेको छ।
फोर्समा भूतपूर्व सैनिक पनि छन्। संयोजक श्रेष्ठ यो सडकले जन्माएको हतियारविहीन लडाकु दस्ता भएको बताउँछन्।
‘यो सबै जिल्लाका युवालाई समेटिएको, हतियारविहीन लडाकू दस्ता हो,’ उनले भने।
Shares

प्रतिक्रिया