रुसले आफ्नो देश र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकाको प्रस्तावित शान्ति योजनाबारे अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नपाएको बताएको छ।
अमेरिकाको २८ बुँदे प्रस्तावमा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रबाट पछि हट्ने, आफ्नो सैन्य शक्ति घटाउने र कहिल्यै पनि नेटोमा सामेल नहुने वाचाजस्ता सर्त छन्।
यस प्रस्तावबारे सोध्दा रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हामी केही नयाँ कुरा हेरिरहेका छौँ, तर हामीले कुनै औपचारिक प्रस्ताव प्राप्त गरेका छैनौँ। यी बुँदामा पनि कुनै ठोस छलफल भएको छैन।’
यद्यपि उनले रुस शान्ति वार्ताका लागि पूर्ण रूपमा तयार रहेको बताए।
रुसले पूर्वी युक्रेनका केही भागमा सानो फाइदा लिएको दाबी गरेको र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना शीर्ष अधिकारीहरुद्ध १० करोड डलरको भ्रष्टाचारको आरोप लगाएका बेला यो अमेरिकी प्रस्ताव आएको हो।
यस प्रस्तावमा अमेरिकाको बढ्दो दबाबबीच जेलेन्स्कीले राष्ट्रलाई सम्बोधन गरेका छन्। उनले भने, ‘म आफ्नो देशलाई धोका दिन सक्दिनँ।’
यद्यपि उनले यो प्रस्तावमा अमेरिकासँग लगनशीलतापूर्वक काम गरिरहेको पनि बताए।
आफ्नो दश मिनेट लामो सम्बोधनमा उनले अगाडि भने, ‘युक्रेनले धेरै कठिन परिस्थितिको सामना गर्न सक्छ, जहाँ उसले कि आफ्नो सम्मान रोज्नेछ कि प्रमुख सहयोगी गुमाउनेछ।’
Shares

प्रतिक्रिया