नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र पार्टी केन्द्रित हुने बताएका छन्।
नेपाल निर्माण उद्योग परिषद्को प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै पोखरेलले दोस्रो विधान महाधिवेशनले पार्टीको नीति र विधि निर्माण गरिसकेकाले आगामी महाधिवेशन नेतृत्व निर्माणमा मात्र केन्द्रित हुने बताए। एमालेको दोस्रो विधान महाधिवेशन गत भदौमा ललितपुरको गोदावारीमा सम्पन्न भएको थियो।
‘हामीले भर्खरै गोदावरीमा सम्पन्न पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर पार्टीको नीति बनाइसकेका छौँ। त्यो नीतिमा कसैले पनि असहमति जनाएका छैनन्,’ महासचिव पोखरेलले भने, ‘ललितपुरमा भएको केन्द्रीय कमिटी बैठकमा पनि जेनजी आन्दोलनबारे पार्टीले दृष्टिकोण बनाएको छ। त्यसलै अब ती नीति, विधि र दृष्टिकोणमा छलफल आवश्यक छैन, नेतृत्वको चयन हुन्छ।’
एमालेको महाधिवेशन यही मसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा तोकिएको छ। महासचिव पोखरेलले बलियो राजनीतिक शक्तिको निर्माण सही नीति, कार्यक्रम र प्रभावकारी नेतृत्वबाट मात्र हुने धारणा राखे।
संविधान र कानुनअनुसारको राज्य निर्माणको बाटोमा एमाले प्रतिबद्ध रहेको उनको भनाइ थियो। अहिलेको असामान्य परिस्थितिमा विशेष साङ्गठनिक योजनाका साथ पार्टी अगाडि बढ्न खोजेको उनले बताए।
भेलामा परिषद्का अध्यक्ष बलिभद्र रानाले महाधिवेशनमा उद्योग व्यवसायीका विषयलाई गम्भीरताका साथ उठाउनुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया