राजनीति


राज्यले जीउधनको सुरक्षा गर्न सकेन, अब नेसनल भोलेन्टियरले गर्छ: केपी ओली

राज्यले जीउधनको सुरक्षा गर्न सकेन, अब नेसनल भोलेन्टियरले गर्छ: केपी ओली

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १४:५०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यले सार्वजनिक सम्पती र जीउधनको रक्षा गर्न नसकेपछि नेसनल भोलेन्टियर गठन गरेको बताएका छन्। 

आज फोर्सको घोषणा गर्दै ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरू तयार भएको भन्दै आतंकवादीलाई निस्तेज गर्न तयार रहन निर्देशन दिए। 

'भोलेन्टियर फोर्स गठनप्रति केही नाखुस् पनि हुन सक्छन्। तर, म भन्छु- यो कसैको अहितका लागि गठन भएको हैन। राष्ट्रिय हितका लागि गठन भएको हो। एमालेसँग सम्बन्धित र असम्बन्धित सबैको जीउधनको सुरक्षाका लागि यो गठन भएको हो,' उनले भने, 'शान्ति सुव्यवस्था गर्न स्थापना भएको हो। राज्य संयन्त्रले मात्रै सुरक्षा गर्ने अवस्था रहेन हामीले भोग्यौँ। त्रासदिपूर्ण वातावरण देशमा भयो यसलाई सहज बनाउन स्थापना भएको हो। लोकतान्त्रिक मान्यताअनुरुप सबैले कर्तव्यको पालना गर्दै बाँच्न पाउनुपर्छ भनेर यो संस्था निर्माण भएको छ।'

उनले कसैले राज्यको सम्पती जलाउन आउँदा यो भोलेन्टियरले प्रतिसवाद गर्ने पनि बताए। 'अब कसैले पनि हिजोको जस्तो राज्यका संरचना जलाउँदै गर्दै हिँड्न पाउनेछैन। हामी संरचनाको रक्षा गर्नेछौँ। यो देशका जनता आफैँ भोलेन्टियर भएर आफ्नो रक्षा गर्नुपर्ने अवस्थामा पुग्यौँ,' उनले थपे, 'यो हिंसा लुटपाट र त्रासदीपूर्ण वातावरणविरुद्ध हो। यो आतंकको विरुद्धमा हो।  कसैलाई पनि आतंकित बनाउने छुट छैन।'


ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको पनि बताए। आफ्ना स्वंयसेवकहरू अनुशासित भएर काम गर्ने ओलीको भनाइ छ ।

‘यो स्वंयसेवक फोर्स कसैको अहितको लागि गठन भएको होइन। राष्ट्रिय हितका लागि गठन भएको हो,’ ओलीको भनाइ छ, ‘नेकपा एमालेसँग असहमति राख्ने वा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षाका लागि यो गठन भएको हो । यसको गठनसँग कोही पनि आत्तिनुपदैन, तर्सिनुपर्दन।’

उनले राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था कायम गर्न नसक्ने रहेको भन्दै आफूहरूले फोर्स घोषणा गरेको बताए ।

‘यो देशमा शान्ति सुव्यवस्था कायम गर्न बनेको हो। राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था गर्न सक्ने अवस्था रहेन । औद्योगिक प्रतिष्ठानको रक्षा हुने अवस्था रहेन,’ ओलीले भने।

उनले हामी नेपालका संयोजक सुदन गुरुङलाई लक्षित गर्दै ओलीले व्यंग्य पनि गरे। उनले भने, 'पानी बाँड्ने मात्रै भोलेन्टियर संस्था हुँदैनन्। यहाँ त अघिल्लो दिन पानी बाँड्ने भोलिपल्ट केके केके।' उनले भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनको क्रममा उक्त संस्थाको उपस्थिति र सक्रियताबारे प्रश्न उठाएका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad