समाज


कोसी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा

कोसी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा

फाइल फोटो


नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १४:५५, काठमाडौँ

कोसी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले तथ्यांक सार्वजनिक गरेको छ।

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित ‘नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र परिवर्तनले उत्पन्न जोखिम’सम्बन्धी अन्तरक्रियामा इसिमोडका विज्ञ शरदप्रसाद जोशीले सन् २०२० को प्रतिवेदनमार्फत उक्त तथ्यांकबारे जानकारी गराए। 

जोशीका अनुसार नेपालमा रहेका दुई हजार ६९ हिमतालमध्ये कोसी क्षेत्रमा मात्र ४२ वटा अत्यन्तै जोखिमयुक्त अवस्थामा छन्। हिमताल फुटे ठूलो जनधन तथा भौतिक संरचनामा विनाश हुनसक्ने उल्लेख गर्दै जोशीले उच्च सतर्कता तथा पूर्वतयारी आवश्यक रहेकामा जोड दिए। 

सङ्खुवासभामा मात्र भोटखोला र मकालु क्षेत्र गरी चार वटा हिमताल उच्च जोखिम समूहमा परेको उनको भनाइ थियो। तीमध्ये तल्लो वरूण क्षेत्रस्थित ठूलोपोखरी हिमताल सबैभन्दा जोखिमयुक्त मानिएको छ। करिब ती किलोमिटर लम्बाइ र करिब २०६ मिटर गहिराइ भएको अनुमान गरिएइको उक्त हिमतालका वरिपरि पनि १५ देखि २५ मिटर गहिराइ पनि रहेको उनले बताए।

जल तथा मौसम विज्ञान विभाग र युएनडिपी नेपालको सहकार्यमा चार वटा हिमतालका लागि जोखिम न्यूनीकरण योजना कार्यान्वयन भइरहेको उनको भनाइ छ। तल्लो वरूणमा रहेको ठूलोपोखरी पनि सो योजनामा समावेश छ।

हिमताल फुट्ने अवस्था उत्पन्न भए अरुण उपत्यकाका धेरै बस्ती तथा भौतिक संरचना प्रत्यक्ष जोखिममा पर्ने उनको भनाइ छ। तिब्बत क्षेत्रबाट बगेर आउने १३ वटा हिमताल पनि उत्तरी भेगका लागि सम्भावित खतरा रहेको उनले बताए।

कार्यक्रममा इसिमोडकी नीरा श्रेष्ठ प्रधानले विपद्मा असक्त, महिला तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने हुँदा तिनलाई लक्षित चेतना अभिवृद्धि र क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेको बताए। जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले जोखिमयुक्त हिमतालको दीगो व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए। 

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालगायत सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा हिमताल व्यवस्थापन, जोखिम न्यूनीकरण तथा स्थानीय तयारीबारे विस्तृत छलफल भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad