राजनीति


बारा घटनाप्रति प्रधानमन्त्री चिन्तित, लोकतन्त्रमा अराजकता अस्वीकार्य

बारा घटनाप्रति प्रधानमन्त्री चिन्तित, लोकतन्त्रमा अराजकता अस्वीकार्य

नेपालखबर
मंसिर ३, २०८२ बुधबार २२:२९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा बुधकार भएको घटनाप्रति चिन्ता व्यक्त गरेकी छन्।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा अराजकता स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।

‘बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद छ। म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन। युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ’ उनले भनेकी छन्, ‘अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो। तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन।’

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि गृह प्रशासनलाई शान्ति सुरक्षाको व्यवस्था मिलाउन र दलका नेताहरूलाई सुरक्षित आवागमनको व्यवस्था मिलाउन निर्देशन दिएको स्पष्ट पारेकी छन्।

उनले लोकतान्त्रिक प्रणालीमार्फत मात्रै युवाहरूको अपेक्षा पूरा गर्न सकिने भन्दै संयमित रहन आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ। त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु।’

आज नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत पार्टी कार्यक्रमका लागि बारा जाने क्रममा सिमरामा युवाहरूले प्रदर्शन गर्दा झडप भएको थियो। 

झडपका कारण नेताहरू काठमाडौंमै रोकिएका थिए। बारामा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad