राजनीति


कुटपिट गर्ने एमाले कार्यकर्तालाई कारबाही नभए सिमरा बन्द गर्ने जेनजीको चेतावनी

कुटपिट गर्ने एमाले कार्यकर्तालाई कारबाही नभए सिमरा बन्द गर्ने जेनजीको चेतावनी

आयुषा ढकाल
मंसिर ३, २०८२ बुधबार २२:४८, काठमाडौँ

बुधबार बाराको परवानीपुरमा नेकपा एमालेको सभा हुँदै थियो। त्यो सभामा सहभागी हुन महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा ओर्लिंदै थिए।

एमालेका कार्यकर्ताहरू पोखरेल र बस्नेतलाई स्वागत गर्न भनेर विमानस्थल पुगेका थिए। विमानस्थल नजिकै सिमरा चोक छ। बिहान करिब सवा १० बजे एक हुल जेनजी भेला भएर प्रदर्शन गर्न थाले। ती प्रदर्शनकारी सुदन गुरुङ नेतृत्वको ‘काउन्सिल अफ जेनजी’सँग आबद्ध थिए।

उनीहरूको विरोधको लक्ष्य थियो– एमाले नेता महेश बस्नेतलाई रोक्नु। अघिल्लै दिनदेखि बस्नेतलाई सिमरा आउन नदिने चर्चा सामाजिक सञ्जालमा चल्न थालेको थियो। 

‘हामी दस जना थियौँ होला,’ काउन्सिल अफ जेनजीका बारा संयोजक सम्राट भनिने साइकुश उपाध्यायले भने, ‘हामी पम्प्लेट बोकेर प्रदर्शन गरिरहेका थियौँ। तर, एमालेका कार्यकर्ता आएर प्रदर्शन नगर भन्न थाले। हामीले ‘दाइ हामी छलफल गर्छौं, नभए भोलि प्रदर्शन गर्छौं’ भन्दाभन्दै उनीहरूले हामीले पिटे।’

आफूहरूलाई पिट्दा पनि प्रहरीले केही नगरेको उनको आरोप छ। 

‘हामी पाँचसात जनालाई उनीहरूले पिटे। दर्जनौँ पुलिस त्यहीँ थिए। तर, पुलिसले उनीहरूलाई केही गरेन। उल्टै पुलिसले हामीलाई नै पिट्यो,’ सिमरा २ का बासिन्दा सम्राट भन्छन्, ‘बरु सिमराबासीले हाम्रो संरक्षण गर्नुभयो।’

पिटाइ खाएपछि आफूहरू भागेको उनको भनाइ छ। त्यसपछि सिमराको स्थिति तनावग्रस्त बनेको थियो। ठूलो भिडले विमानस्थल घेर्नुका साथै तोडफोड पनि भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु लगाएको थियो। 

यो घटनालाई लिएर एमालेले शान्तिसुरक्षामाथि प्रश्न उठाएको छ। अध्यक्ष केपी शर्मा ओलीले चुनाव गर्छु भन्ने तर सभा गर्न नदिने भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।

तर, सुदन गुरुङको ‘काउन्सिल अफ जेनजी’का मधेस प्रदेश संयोजक शिव यादव भने यसलाई ठाडै नकार्छन्। एमालेले योजनाबद्ध तरिकाले चुनाव भाँड्ने रणनीतिअन्तर्गत यो घटना गराएको उनको आरोप छ।

‘नेकपा एमालेको कार्यक्रम परवानीपुरमा थियो। त्यो सिमरा चोकबाट २० किलोमिटर टाढा छ। सिमराबाट २० किलोमिटर टाढा कार्यक्रम हुन लागेका एमालेका साथीहरूले हाम्रो कार्यक्रममा आएर कुटपिट गर्ने, गुण्डागर्दी गर्ने र कार्यक्रम नै बिथोल्ने खालको कार्य गर्नु भयो,’ यादव भन्छन्। 

नेकपा एमालेले समयमा निर्वाचन नहोस्, सरकार असफल होस् अनि जेनजी आन्दोलनलाई बदनाम होस् भनेर विभिन्न गतिविधिहरू गरिरहेको उनको आरोप छ।

यो घटनामा सम्राट, सौरभ कार्की, शंकरप्रसाद पाठक, राजबहादुर थापा, शेख सफिक, टेकबहादुर भण्डारीलगायत घाइते भएको उनले जानकारी दिए। सौरभ कार्कीको अवस्था भने गम्भीर भएकोले उपचारको लागि वीरगन्ज लगिएको उपाध्यायले जानकारी दिए। कार्कीको पेटमा फलाम रोपिएको छ।

आफूहरूलाई कुटपिट गर्ने एमाले कार्यकर्तालाई कारबाही नगरे बिहीबार सिमरा बन्द गर्ने जिल्ला संयोजक उपाध्यायले बताए। उनले सिमरा १ का बासिन्दा तारा बस्नेतसहितलाई विपक्षी बनाउँदै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएका छन्। उक्त जाहेरी इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कलैयामा पठाएको छ।

जेनजी प्रतिनिधि पुरुषोत्तम यादवले यस घटनाबारे आपत्ति जनाउँदै एमालेले हिंसा फैलाउने काम गरिरहेको आरोप लगाएका छन्।

यसै विषयमा बुधबार साँझ केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ। त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीले पनि यसबारे छलफल गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad