नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारको वैधानिकता र संरचनाप्रति तीव्र प्रश्न उठाएका छन्।
बुधबार च्यासलमा आयोजित एमालेको कार्यक्रममा बोल्दै उनले अहिले बनेको सरकार प्रक्रियाविहीन तथा जनउत्तरदायित्वविहीन भएको टिप्पणी गरे।
ओलीले भने, ‘अहिले हाहुमा बनेको सरकार छ। सरकार भनेको यसरी बन्दै बन्दैन। उहिले मुखियातन्त्रमा पनि छलफल, छनोट हुँदै मान्छे छानिन्थ्यो। अहिले त मुखिया-मुखिनी कहाँबाट आए, कसैले थाहा पाएन।’
उनका अनुसार कसैले नछानेको, कसैले नचिनाएको समूह अचानक सत्ता नेतृत्वमा पुगेको दाबी गर्दै उनले सरकार गठन प्रक्रियामै अपरदर्शिता देखिएको बताए। उनले व्यंग्य गर्दै विभिन्न पात्रहरू एकाएक ‘अवतरित’ भएको उल्लेख गरे। ओलीले भने, ‘कोही चप्पल लगाएर झर्छ, कोही हाफ पेन्ट लगाएर झर्छ, कोही फरिया लगाएर झर्छ। हामी हेरेका हेर्यै।’
ओलीले वर्तमान सरकारलाई आधारविहीन बताउँदै थपे, ‘यो सरकार केमा अडिएको हो थाहा छैन। यसको जग पनि छैन, टेक्ने हाँगो पनि छैन, समाउने डालो पनि छैन।’
Shares

प्रतिक्रिया