गत भदौमा विधान महाधिवेशनबाट पारित राजनीतिक तथा सांगठनिक प्रतिवेदन तथा विधानबाट अब काम नचल्ने भनेर पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जारी गरेको वक्तव्यमा नेकपा एमालेका सचिव योगेश भट्टराईले समर्थन गरेका छन्।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले शुक्रबार वक्तव्य जारी गर्दै जेनजी आन्दोलनपछि राजनीतिक अवस्था तथा दल सबै कुरा बदलिएकाले अब पुरानै निष्कर्षले पार्टीलाई अघि बढाउन नसकिने भएकाले यसअघि पारित दस्तावेज अध्यावधिक गरिनुपर्ने माग गरेका छन्।
गत भदौमा भएको एमालेको विधान महाधिवेशनले खासगरी अध्यक्ष केपी शर्मा ओलीलाई पुन: नेतृत्वमा ल्याउन दुईवर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाउँदै विधान संशोधन गरेको थियो। त्यसअघि पार्टीका विभिन्न तहका बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षले यसमा तीव्र असन्तुष्टि जनाएको थियो। तर पनि बहुमतका आधारमा त्यो अनुमोदन गरिएको थियो।
शुक्रबार जारी वक्तव्यमा पोखरेलले त्यसमा पुनर्विचार गरिनुपर्ने संकेत गरेका हुन्।
उनले वक्तव्यमा लेखेका छन्, ‘गत २०–२२ भदौमा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्तावलगायत दस्तावेजहरू पारित गरिएको थियो। भदौ २३–२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ। राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद्जस्ता संस्थाहरूसमेत हिजोको अवस्थामा छैनन्। यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्तैन। हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ। भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने आवश्यकता छ। तसर्थ आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधानलगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ।’
उक्त वक्तव्य एमाले सचिव भट्टराईले आफ्नो फेसबुकमा पनि सेयर गरेका हुन्।
यस्तो छ ईश्वरको पूरा वक्तव्य:
वक्तव्य
भदौ २३ गते भएको नवयुवा पुस्ता (जेनजी पुस्ता) को आन्दोलन र २४ गते गरिएको विध्वंसबाट मुलुकमा उत्पन्न असामान्य र अकल्पनीय घटनापछि विकसित परिस्थितिमा अहिले हामीहरू उभिएका छौँ। अहिले संविधानमाथि अतिक्रमण गरिएको र प्रतिगमनका प्रयत्न भएका छन् र त्यसैको जगमा मुलुकलाई अगाडि बढाउने कोसिस गरिँदै छ। अहिले यसैको जगमा आम जनताको दैनिकी क्रमश: सामान्य हुँदै गएजस्तो देखिए पनि राजनीतिक अन्योलता र अनिश्चितता भने कायमै छ र गहिरिँदो छ। राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकार माथिको खतरा उस्तै छ। यो असाधारण अन्योलता, अनिश्चितता र अप्ठ्यारोबाट मुलुकलाई मुक्त गरी लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने ऐतिहासिक कार्यभार हाम्रा अगाडि छ।
यो महत्त्वपूर्ण र ऐतिहासिक कार्यभार पूरा गर्न लोकतन्त्रप्रति प्रतिबद्ध सबै राजनीतिक दल, नवयुवा पुस्ता, नागरिक समाज र राज्यका निकायहरूबिचको समझदारी, एकता र गहिरो आपसी विश्वास जरुरी छ। त्यही एकता र विश्वासको जगमा नै हामीले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान र लोकतन्त्रलाई अक्षुण्ण राख्न सक्छौँ। यसबिच व्यक्त भएको नवयुवा पुस्ता र आम जनताको आकांक्षा, आशा, असन्तुष्टि र आक्रोशलाई नजरअन्दाज गरेर अघि जान मिल्दैन र सकिँदैन पनि। त्यसले दिएको सन्देश र स्थापित गर्न खोजेको मानक, त्यसमा व्यक्त मनोविज्ञानलाई ग्रहण गर्न जरुरी छ। सोहीअनुसार हाम्रो विचार, कार्यशैली र भविष्यका योजनाहरूलाई अद्यावधिक गर्न जरुरी छ।
राष्ट्रिय जीवनमा गम्भीर क्षति पुर्याएको भदौ २४ को विध्वंसलाई कुनै पनि बहानामा बेवास्ता गर्न सकिँदैन। त्यसमा संलग्नहरूलाई उन्मुक्ति दिएर हामीले राष्ट्रिय आत्मविश्वास उठाउन सक्दैनौँ। त्यसका लागि हामी सबैले आग्रह, पूर्ववत् अडान, अहंकारलाई त्यागेर नयाँ विश्वास र नयाँ आशा निर्माण गर्न सक्नुपर्छ। आन्दोलन र विध्वंसको पक्ष/विपक्ष वा वादी/प्रतिवादीको रूपमा मनोविज्ञान भड्काएर राष्ट्रियता, लोकतन्त्र , संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षा गर्न सकिँदैन।
इतिहासका हरेक राष्ट्रिय संकट र अप्ठ्याराहरूमा जिम्मेवार भूमिका निर्वाह गर्दै मुलुकमा सकारात्मक निकासका लागि नेतृत्व गर्दै आएको पार्टी नेकपा (एमाले) हो भन्ने कुरा आम नेपाली नागरिकहरू सबैलाई जानकारी भएकै कुरा हो। पार्टीको यो भूमिकासित गाँसिएर एउटा जीवित साक्षी र सिपाहीको रूपमा म आफू पनि रहेको जानकारी गराउन चाहन्छु। स्कुले विद्यार्थी हुँदादेखि को-अर्डिनेसन केन्द्र, नेकपा (माले) हुँदै नेकपा (एमाले) का प्रारम्भिक दिनदेखि भूमिगत जीवन, जेलजीवन, निरंकुश पञ्चायती शासन काल , त्यसपछिको खुला राजनीतिमा संसदीय भूमिका, सरकारी कामको जिम्मेवारी वहन गर्ने सिलसिलामा र पदीय हिसाबले पार्टीको केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी, दुईपटक महासचिव हुँदै हाल पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेको छु। यसक्रममा सदैव राष्ट्र, जनता र पार्टी हितमा रहँदै आएको कुरा सगौरव स्मरण गराउँदछु। आगामी दिनमा पनि मेरो यो प्रतिबद्धतामा कुनै कमी आउने छैन। म यो कठिन परिस्थितिमा आम जनसमुदाय, जेनजी पुस्ता र पार्टी पंक्तिलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा मुलुकलाई फर्काउन विगतमा जस्तै फेरि एकपटक अभूतपूर्व एकताका लागि अपिल गर्दछु। त्यसका लागि हाम्रो तर्फबाट भएका कमजोरीप्रति आत्मालोचित हुँदै राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षाका लागि अविचलित रूपमा उभिने दृढता व्यक्त गर्दछु।
मलाई थाहा छ- यही परिस्थितिमा हुन लागेको हाम्रो पार्टी नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनले (२७-२९ मंसिर २०८२, काठमाडौँ) सबैको ध्यान तानेको छ। गत २०-२२ भदौमा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्तावलगायत दस्तावेजहरू पारित गरिएको थियो। भदौ २३-२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ। राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद्जस्ता संस्थाहरूसमेत हिजोको अवस्थामा छैनन् (रहेनन्)। यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्तैन। हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ।
भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने आवश्यकता छ। तसर्थ आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधानलगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ। हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यताअनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ। महाधिवेशन प्रतिनिधिहरूको छनोट मंसिर १३ गते देशभर एकै दिन हुँदैछ। जबजको संगठनात्मक सिद्धान्तअनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपिल गर्दछु।
प्रतिगमनको विरोध गर्दै संविधानको रक्षा, असंवैधानिक तरिकाले गरिएको संसद् भंगको खारेजी तथा घोषित मितिमा संसद्को निर्वाचन सम्पन्न गर्न उपयुक्त वातावरण निर्माणका लागि जनदवाव सिर्जना गर्नु आवश्यक छ। यही आवश्यकता बोध गरेर नेकपा (एमाले) ले देशैभरि जनपरिचालन गर्ने निर्णयअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमको आयोजना गरेको छ। यस क्रममा यही कार्तिक २९ गते प्रत्येक जिल्ला र मंसिर ६ गते राजधानी काठमाडौँमा आयोजना हुने जागरण प्रदर्शनमा सक्रिय सहभागी हुन म सम्पूर्ण पार्टी पंक्ति तथा आम जनसमुदायलाई अपिल गर्दछु।
-ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष
नेकपा (एमाले)
२०८२/७/२८
Shares

प्रतिक्रिया