राजनीति


बालेनको समर्थनमा प्रधानमन्त्रीमा कुलमानलाई अघि सार्दै आक्रामक चुनावी अभियानमा होमिने उज्यालो पार्टीको तयारी

नयाँ दलसँग वार्ता गर्न संवाद समिति गठन, पुराना दलसँग हुँदैन चुनावी गठबन्धन
बालेनको समर्थनमा प्रधानमन्त्रीमा कुलमानलाई अघि सार्दै आक्रामक चुनावी अभियानमा होमिने उज्यालो पार्टीको तयारी

सागर न्यौपाने
कात्तिक २८, २०८२ शुक्रबार २२:१४, काठमाडौँ

भर्खरै गठन भएको उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित गर्दै चुनावमा होमिने तय गरेको छ।

ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रायलको जिम्मेवारीमा रहेका घिसिङ भने उम्मेदवारी मनोनयन गर्नेबेला मात्रै पार्टीमा जोडिनेछन्। तर, त्यसअघि नै देशभर जानको लागि सो दलले घिसिङलाई नै प्रधानमन्त्रीका रूपमा अघि सार्दै प्रचारप्रसार गर्ने तयारी गरेको हो। 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको समर्थन रहने सन्देश पाएपछि बिहीबार बसेको पार्टीको बैठकले घिसिङलाई अघि सारेर आक्रामक चुनावी अभियान सञ्चालन गर्दै देशभर पुग्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

बालेन्द्रसँग आफ्नो पटकपटक छलफल भइरहेको र निरन्तर हुने घिसिङले शुक्रबार नेताहरूलाई सुनाएका छन्। 

‘भावी प्रधानमन्त्री तपाईं नै हो, मेरो यसमा समर्थन छ भनेर बालेन्द्र शाहले भन्नुभएको छ। तर, जेनजी सबैलाई मिलाएर जानुपर्छ भन्ने उहाँको सुझाव छ,’ घिसिङको ब्रिफिङ उद्धृत गर्दै एक नेताले नेपालखबरसँग भने, ‘अबदेखि उहाँसँग घिसिङ आफैँले छलफल गर्नुहुनेछ।’

यसबाट उत्साहित देखिएका उनीहरूले भावी प्रधानमन्त्रीका रूपमा घिसिङलाई अगाडि सार्ने निर्णय गरेका हुन्। त्यस्तै, भ्रष्टाचारको समूल अन्त्य र सुशासन, चुस्त र पारदर्शी सार्वजनिक सेवा प्रवाह, मुलुकमै रोजगारीको अवस्था सिर्जना गर्ने कार्यक्रम, नेपालमा पुँजी भित्र्याउने, योग्यता, क्षमता र सीप भएका जनशक्तिलाई नेपालमै टिकाउने जस्ता चुनावी एजेन्डा तय गरिएको उनीहरूको भनाइ छ।

‘मुख्य कुरा चाहिँ चुनावमा कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्सन गरेर जान्छौँ,’ ती नेताले थपे।

यही कारण बालेन्द्रको समर्थन टुट्न नदिन, रास्वपा छोडेकी सुमना श्रेष्ठ र हामी नेपालका संयोजक सुदन गुरुङ लगायतलाई समेट्न डा तारा जोशीको संयोजकत्वमा एक समिति बनाइएको छ।

उज्यालो नेपाल पार्टीले भर्खरै खुलेका दल, रास्वपा, सीके राउतको जनमत, नागरिक उन्मुक्ति पार्टी, हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग पनि सहकार्यको लागि छलफल गर्नेछ।

‘सुमना–सुदन, जेनजी र अन्य राजनीतिक दलका नेता, सरोकारवाला निकायसँग छलफल गर्न तारा जोशीको संयोजकत्वमा तीन सदस्यीय संवाद समिति बनाएको छ,’ ती नेताले थपे, ‘समितिले जेनजी, अरु राजनीतिक पार्टी सबैपक्षसँग शुक्रबारबाटै छलफल थालिसकेको छ।’

फागुन २१ गते तय भएको चुनावको लागि प्रत्यक्ष तर्फका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने यो पार्टीका नेताहरूको भनाइ छ।

१६५ जना उम्मेदवारको छनोट प्रक्रिया, समानुपातिकतर्फका ११० जना छान्ने मापदण्ड लगायतको कार्यविधि बनाउन जीतराम वाइबाको नेतृत्वमा अर्को तीन सदस्यीय समिति बनाइको छ।

‘निर्वाचन कार्याविधि बनाउन, उम्मेदवार छनौटको मापदण्ड तयार गर्न हामी वर्कआउट गरिरहेका छौँ,’ वाइबाले भने, ‘स्वच्छ छविका, लाभको पदमा नभएका मानिसहरू, विवादमा नपरेकालाई पार्टीमा स्वागत गर्छौं। अनलाइनबाट पब्लिक आह्वान पनि गर्छाैँ।’

उज्यालो पार्टीले आक्रामक चुनावी प्रचार योजना अघि सारेको उनी बताउँछन्।  

‘हामी युवा र जेनजी मतदातालाई फोकस गर्न खोज्दैछौँ, विशेषगरी नयाँ मतदाता ३५ वर्षभन्दा कमलाई राजनीतिमा कसरी ल्याउने? कसरी जोड्ने भनेर हामी रणनीति बनाउँदैछौँ,’ वाइबाले थपे।

सोसल मिडिया, आईटी लगायतमा काम गर्नेगरी छुट्टै समूह बनाइएको छ।

उज्यालो पार्टीले सेलेब्रिटी र जनप्रतिनिधिलाई समेट्न लागेको वाइबाले जानकारी दिए।

‘संसदीय राजनीतिका पुरानै खेलाडीसँग लड्न धेरै रणनीति नबनाई सकिँदैन। हामी पुरानो भन्दा अब्बल भएर लाग्ने र पहिलो पटक नै स्थापित हुनेगरी सशक्त उपस्थिति जनाउँछौँ,’ वाइबाले भने, ‘सके बहुमत ल्याउने, नभए पहिलो पार्टी हुने भनेर हामी अगाडि बढेका छौँ।’ 

कांग्रेस–एमाले लगायत पुराना दलसँग भने सहकार्य नहुने उनको भनाइ छ।

सो पार्टीले पूर्वऊर्जासचिव अनुकुमार उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति रहेको अद्यावधिक विवरण कात्तिक २५ गते निर्वाचन आयोगमा बुझाएको थियो।

‘प्रदेशको यो मोडलबाट हुँदैन’ 
चुनावलाई खर्चिलो बनाउन नहुने भन्दै कम खर्चमा चुनाव सक्ने उपाय खोजी गरिरहेको वाइबाले बताए।

‘सामाजिक सञ्जालको अत्यधिक प्रयोग, सदस्यता विस्तार, संगठन बनाउने कामलाई सँगसँगै लान्छौँ र धेरैभन्दा धेरै मतदातामा पुगेर हाम्रो एजेन्डालाई स्थापित गराउँछौँ,’ वाइबाले भने। 

प्रदेशको विषयमा भने तत्काल प्रतिक्रिया नदिने उनको भनाइ छ।

‘प्रदेशको संरचना यो मोडलबाट हुँदैन,’ उनले भने, ‘कमसेकम चुस्त दुरुस्त बनाएर स्थायी सरकार दिनुपर्छ भन्नेमा छौँ। तर, अहिले हामी बोलेका छैनौँ।’

यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मागबारे पनि सो दलले प्रस्ट धारणा राखेको छैन। यही व्यवस्थाबाट पनि स्थायी सरकार हुने सुनिश्चितता गर्न सकिन्छ कि भनेर छलफलमै भएकोले निष्कर्ष बाहिर नलगेको घिसिङको सचिवालयका एक सदस्यले बताए।  

उज्यालो पार्टीले सन्तुलित कूटनीति अपनाउने, कुनै पक्ष वा मुलुकको पक्षधरता नलिने नीति लिएको छ। 

‘छिमेकीसँग मित्रवत् व्यवहार हुने नै भयो। बहुपक्षीय मञ्चमा सार्थक संलग्नता हुनेछ,’ वाइबा भन्छन्, ‘बहुध्रुवीयतामा रणनीतिक स्वायत्तता हुन्छ। हाम्रो सन्तुलित परराष्ट्र नीति हुन्छ। अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभावकारी बनाउने हाम्रो घोषित नीति नै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad