दक्ष व्यवस्थापकको उपमा पाएका कुलमान घिसिङको राजनीतिक यात्रा सुरु भएको छ। दलीय राजनीतिको उनको यो यात्रालाई गन्तव्यमा पुर्याउने जिम्मा भने निर्वाचन आयोगमा दर्ता भएको उज्यालो नेपाल पार्टीका दुई सारथिले पाएका छन्।
कुलमान भने चुनावअघि मात्र सो पार्टीमा संलग्न हुने छन्। त्यतिञ्जेल उनको पार्टी हाँक्न कस्सिएका छन् अध्यक्ष अनुपकुमार उपाध्याय र सदस्य जीतराम वाइबा। त्यसो त पार्टीमा अन्य ४९ जना सदस्य पनि छन्। तर, घिसिङसँग सबैभन्दा निकट रहेर पार्टीका मुख्य गतिविधि यिनै दुई जनाले सञ्चालन गर्नेछन्।
घिसिङकै पहलमा उज्यालो नेपाल पार्टी दर्ता भइसके पनि उनी पदमा बसेका छैनन्। घिसिङले यतिबेला तीन वटा मन्त्रालय सम्हालिरहेका छन्। जेनजीको रोजाइमा मन्त्री बनेको हुनाले उनले नतिजा दिनै पर्ने बाध्यता छ। त्यसैले आफू पृष्ठभूमिमै बसेर उनले उपाध्याय र वाइबालाई अघि सारेका छन्।
कुलमानका यी दुई सारथीको पृष्ठभूमि भने फरक छ।
अध्यक्षको जिम्मेवारी पाएका उपाध्यायसँग उनको कम्तीमा १० वर्ष लामो सम्बन्ध छ भने राजनीतिक जिम्मेवारी पाएका वाइबासँग एक वर्षदेखिको घनिष्ठता छ।
उपाध्यायले ऊर्जासचिव रहँदादेखि नै कुलमानको विश्वास जितेका हुन्। हाल उनी तलब सुविधा नलिनेगरी ऊर्जामन्त्रीको सल्लाहकार छन्।
२०७३ कात्तिकदेखि कुलमानको सक्रियतामा नेपालमा लोडसेडिङ अन्त्य गर्दा ऊर्जासचिव उपाध्याय नै थिए। त्यही बेलादेखि घिसिङको चर्चा चुलियो। उपाध्यायलाई पनि उनले छोडेनन्। सधैँ सँगै लिएर हिँडे।
धेरै वर्षदेखि सँगै काम गरेको भएर उपाध्यायलाई उनी विश्वास गर्छन्।
‘उहाँ (अनुप)ले धोका दिनुहुन्न र आफूलाई जुनसुकै बेला बलियो साथ दिनुहुन्छ भन्ने कुलमान सरलाई विश्वास छ,’ सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘प्राधिकरणमा हुँदा जितेको विश्वास अहिलेसम्म कायमै छ।’
घिसिङले उपाध्यायसँगको सम्बन्धबारे आफू निकटलाई बताएका थिए।
‘मन्त्रीज्यूको विश्वासपात्र भन्दा फरक पर्दैन। उहाँहरूले एउटै टिममा बसेर धेरै समय काम गर्नुभएको रहेछ,’ सचिवालयका ती सदस्यले थपे, ‘अहिले पनि मन्त्रीको सल्लाहकार हुनुहुन्छ। तलब, भत्ता नलिए पनि पूर्णरुपमा उहाँ मन्त्रीलाई सफल बनाउन लाग्नुभएको छ। आधिकारिक नियुक्ति लिएर त होइन तर, मन्त्रालयमै गएर काम गर्नुहुन्छ।’
अर्का व्यक्ति हुन् जीतराम वाइबा।
हुन त उनी उज्यालो नेपाल पार्टीमा सदस्य मात्र छन्। तर, जिम्मेवारीका हिसाबले उनले निकै ठूलो भारी बोकेका छन्। अर्थात्, उनलाई पार्टीको रणनीतिक योजनाकार भन्दा फरक नपर्ने सो पार्टीका नेताहरू बताउँछन्।
किनभने पार्टी गठनमा उनको महत्त्वपूर्ण भूमिका छ। काठमाडौँ महानगरपालिकाका मेयर बोलेन्द्र शाहका प्रतिनिधि कुमार बेन, जेन–जी आन्दोलनमा देखिएका हामी नेपालका संयोजक सुदन गुरुङ र रास्वपा छोडेकी पूर्वमन्त्री सुमना श्रेष्ठसँग पनि वाइबाले नै कुलमानको तर्फबाट वार्ता गरेका थिए।
त्यति मात्र होइन, नयाँ दल गठन नगरी रास्वपाका स्वर्णिम वाग्ले, शिशिर खनाल, पुकार बम, ज्वाला संग्रौला लगायतसँग भएका वार्तामा वाइबा नै अघि सारिए।
साउन २७ गते नै दर्ता भएको उज्यालो नेपाल पार्टीलाई पुनर्गठन गर्न उनले कम्ता हण्डर खेपेनन्। अन्ततः जसले दल दर्ता गरेका थिए, उनलाई ल्याएर सदस्य बनाएपछि यो काम फत्ते भयो।
घिसिङले आफूलाई धेरै विश्वास गरेको उनी बताउँछन्।
‘१६५ क्षेत्रकै उम्मेदवार तयार गरेर केन्द्रीय समितिमा ल्याएर चुनावमा पठाउने हाम्रो रणनीति छ,’ उनले आगामी योजना सुनाउँदै भने, ‘अब हामी संगठन विस्तार, उम्मेदवार चयन र पार्टी विस्तार सँगैसँगै लैजान्छौँ। म लगायत साथीहरू मंसिरको पहिलो हप्तादेखि सातै प्रदेशमा हिँड्छौँ। सबै क्षेत्रमा पुग्छौँ।’
यसका लागि उनले आन्तरिक छलफल थालिसकेका छन्। चर्चित व्यक्तिहरू समेत यो पार्टीमा आउन सम्पर्क गरिरहेको उनको दाबी छ।
तर, अझै पनि रास्वपा लगायत केही दलसँग छलफल जारी रहेको वाइबाको भनाइ छ।
तर, उनी आफैँ भने यस पटक चुनावमा उठ्ने योजनामा छैनन्। काभ्रे घर भएका उनी २०७९ वैशाखमा भएको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट चौँरी देउराली गाउँपालिका अध्यक्षका उम्मेदवार थिए। तर माओवादीसँग पराजित भए।
‘यसपटक सायद म चुनाव उठ्दिनँ होला। साथीहरूलाई मौका दिनुपर्यो,’ वाइबाले थपे, ‘अब पार्टीमा काम गर्ने हो पाँच वर्षजति।’
यसकारण घिसिङले अघि सारे
कुलमान घिसिङ र जीतराम वाइबाको लामो समयदेखिको सहकार्य भएको छैन। गैरसरकारी क्षेत्रमा ३२ वर्ष काम गरेका वाइबाको देशका सबैजसो जिल्लामा राम्रो सम्पर्क सञ्जाल छ।
गैसस महासंघमा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय अध्यक्ष समेत भएर काम गरेका उनले सोही क्रममा एसिया र युरोपका केही देशमा सहभागिता पनि जनाए।
वाइबाको व्यक्तित्व शान्त र शालीन छ। परिस्थितिलाई काबुमा राखेर निर्णय गर्ने खुबी उनमा छ। त्यसमाथि, एक वर्षमै वाइबाले घिसिङको मन जित्ने काम गरे।
‘माहोल बढ्दै गएको छ। सम्पर्क गर्नेको संख्या ह्वात्तै बढेको छ। हामी निकै थोरै समयमा पुराना धेरै साथीलाई पार्टीमा ल्याउँदैछौँ,’ उनले भने।
चुनावसम्मै पार्टीको काम आफूहरूले नै सम्हाल्ने उनले जानकारी दिए।
‘चुनावको लागि उम्मेदवार दर्ता गर्ने बेला मात्र कुलमानजीले राजीनामा दिनुहुन्छ,’ उनले थपे, ‘सरकामा हुँदाहुँदै उम्मेदवार बन्नुहुन्न, सरकारबाट राजीनामा दिएर मात्र उम्मेदवारी दर्ता गर्नुहुन्छ।’
सुमना र सुदनहरू घिसिङले दर्ता गरेको दलमा समेटिएका छैनन्। तर, बालेनको टिमले कुलमानलाई नछोडेको वाइबाको दाबी छ।
‘बालेनको टिमले सँगै हुन्छौँ भन्नुभएको छ,’ उनले भने, ‘सुमना–सुदनले अर्काे बनाउनुहुन्छ कि यता आउनुहुन्छ कि अहिले पार्टी बनाएर पछि एकता गर्नुहुन्छ, निश्चित छैन।’
Shares

प्रतिक्रिया