नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का-ल्याण्ड डेभलपमेण्ट कम्पनीको विवाद कानूनी हिसाबले आफूसँग नजोडिएको स्पष्टीकरण दिएका छन्।
शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आर्थिक हिसाबले चरम अभाव झेलिरहेको तत्कालीन अवस्थामा सबै संरचनाहरु आफूले सम्हालेको भए पनि चार वर्ष अगाडि नै कम्मपनीबाट आफू अलग भएको दाबी गरे।
उनले स्काउटलाई जग्गाको भाडा नियमित रुपमा तिर्दै आएको भए पनि आफूलाई तत्कालीन अवस्थादेखि नै राजनीतिक पूर्वाग्रह राखेर निकाल्न खोजिएको कारण चार वर्ष अगाडि नै आफ्नो नामको सेयर स्वामित्व बेचेर बाहिरिएको बताए।
खड्का-ल्याण्ड आफूले स्थापना गरेको र नामसँग मिल्दोजुल्दो भएकै कारण आफूलाई जोड्ने गरिएको भन्दै उनले आपत्ति जनाए।
काठमाडौँको लैनचौरस्थित स्काउटको जग्गामा नेता खड्का संलग्न कम्पनीले निर्माण गरेका संरचनामा काठमाडौँ महानगरपालिकाले बिहीवार डोजर लगाएर भत्काएको थियो।
खड्काले स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको भए पनि लामो समयदेखि भाडा नतिरेको भन्दै महानगरले डोजर चलाएको हो।
Shares

प्रतिक्रिया