राजनीति


अन्तरिम सरकार र अन्तरिम संविधानले मात्रै जेनजी आन्दोलनको माग पूरा गर्न सक्छ : साह

अन्तरिम सरकार र अन्तरिम संविधानले मात्रै जेनजी आन्दोलनको माग पूरा गर्न सक्छ : साह

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १७:४५, काठमाडौँ

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको राजनीतिक व्यवस्था पूर्णरूपमा असफल भइसकेको भन्दै देशलाई निकास दिन अन्तरिम संविधान र अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन्।

तनहुँको शुक्लागण्डकीमा आज (मंगलबार) आयोजित भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष साहले जेनजी आन्दोलनका मागहरू पूरा गर्न हालको सरकार असमर्थ भएको आरोप लगाए। उनका अनुसार, ‘अन्तरिम सरकार र अन्तरिम संविधानले मात्रै जेनजी आन्दोलनको माग पूरा गर्न सक्छ। अहिलेको व्यवस्थाले जनताको आशा मारेको छ।’

साहले सरकारले आन्दोलनमा भएको दमनको न्याय दिलाउन असफल भएको उल्लेख गर्दै भने, ‘युवाहरूको छाती र टाउकोमा गोली चलाउनेहरूले नै आज चुनाव हुन नदिने चुनौती दिन थालेका छन्। सरकार उल्टो बाटोमा हिँडेको छ, हत्यारा र भ्रष्टाचारीमाथि कारबाही गर्न ढिलो गरेको छ।’

उनले आगामी २१ फागुनको चुनाव फेस गर्न एमाले डराएको टिप्पणी गर्दै भने, ‘ओलीको दम्भकारी शासन र अहंकारलाई जनताले २ दिनमै धुलो चटाएका थिए, त्यसैले अहिलेका शासकहरू जनताको सामु लुकेर बसेका छन्।’

साहले जाँचबुझ आयोग र गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकामाथि प्रश्न उठाउँदै उनीहरू सस्तो लोकप्रियतामा रमाएको आरोप लगाए। उनका अनुसार, ‘आयोगले भदौ २३ गतेका युवाहरूको हत्यामा संलग्न शासकहरूमाथि अहिलेसम्म बयान लिन नसक्नु निकम्मापन हो। निरीह गृहमन्त्रीको कारण देशमा शान्ति र निर्वाचन दुवै संकटमा छन्।’

साहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार २ महिनामा पनि जेनजी आन्दोलनका मुद्दा समाधान गर्न नसकेको बताउँदै, सरकार र हत्याराबीच ‘नेक्सस’ रहेको आरोप लगाए।

‘जति षड्यन्त्र गरे पनि २१ फागुनको चुनाव गराउनैपर्छ। नत्र जनताले कान समातेर जिम्मेवारी सम्झाउनेछन्,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad