राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटलमै मुख्यमन्त्री नियुक्ति गर्दै शपथ खुवाएर देशकै अस्मिता समाप्त पारेको टिप्पणी गरेका छन्।
उज्यालो नहुँदै सोमबार बिहान काठमाडौँ जान भनेर जनकपुरबाट प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेजमा एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्दै शपथ गराएकी हुन्। साथै त्यहीँ तीन प्रदेश सांसदलाई पनि मन्त्री नियुक्ति गर्दै शपथ खुवाइन्।
उनको त्यस्तो कार्यप्रति अहिले चौतर्फी आलोचना भइरहेको छ। यसै क्रममा रास्वपाका प्रवक्ता झाले पनि विरोध जनाएका हुन्।
‘स्वास्थ समस्या छ, उपचारको लागि काठमाडौँ जाँदै छु भनेर जनकपुरबाट राति अबेर हिँडेकी मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली-महोत्तरीको सिमानाको एक होटलमा एमालेको एक प्रदेश सासंदलाई नयाँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन्। यो घृणित कार्यको राजनीतिक स्वीकार्यता हुन सक्दैन। विरोध छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।
Shares

प्रतिक्रिया