राजनीति


जनकपुरबाट काठमाडौँ जान भनेर हिँडेकी प्रदेश प्रमुख भण्डारीले बर्दिवासको होटलमा गराइन् मुख्यमन्त्रीलाई शपथ

जनकपुरबाट काठमाडौँ जान भनेर हिँडेकी प्रदेश प्रमुख भण्डारीले बर्दिवासको होटलमा गराइन् मुख्यमन्त्रीलाई शपथ

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार ७:५६, काठमाडौँ

एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकी छन्। 

आज बिहान पाँच बजेर २० मिनेट जाँदा महोत्तरीको बर्दिवास- ३ कालापानीस्थित पानस कटेजमा भण्डारीले यादवलाई मधेसको मुख्यमन्त्री नियुक्त गर्दै शपथ ग्रहणसमेत गराएकी एमाले प्रदेश सभा सदस्य शारदा थापाले जानकारी दिइन्। 

यादव एमाले संसदीय दलका नेता हुन्।

मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको शनिबार २५ दिनमै पदबाट राजीनामा दिएका थिए। 

त्यसपछि संविधानको कुन धारा अनुसार नयाँ सरकार गठन गर्ने भन्ने किचलो दलहरूबीच बढेकाे थियाे। त्यही किचलाेकाबीच भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। 

सोनल संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए। 

कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा लगायतका दलले फेरि पनि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार नै बहुमतका आधारमा मुख्यमन्त्री नियुक्तिको लागि आह्वान गर्नुपर्ने माग गर्दै आएका थिए। 

तर, एमाले कोटामा प्रदेश प्रमुख बनेकी झापा निवासी भण्डारीले विपक्षी दलहरूको कुरा नसुनी ठूलो दलको हैसियतमा एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेको आरोप अन्य दलले लगाएका छन्। 

प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै सोमबार बिहान उज्यालो नहुँदै जनकपुरबाट काठमाडौँ जान भनेर हिँडेकी थिइन्। 

जनकपुरबाट काठमाडौँ जान भनेर हिँडेकी भण्डारीले बर्दिबासको पानस कटेजमा सानो उपस्थितिकाबीच यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै शपथसमेत गराएकी हुन्। 

त्यहाँ अन्य तीनजना मन्त्री पनि नियुक्त भएका एमाले नेता थापाले जानकारी दिइन्। ‘मुख्यमन्त्री र मन्त्रीहरू नियुक्त गरेपछि प्रदेश प्रमुख भण्डारी काठमाडौँतिर लाग्नु भयो,’ थापाले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad