नेकपा (मसाल) ले विभिन्न वामपन्थी समूहबीच एकीकरण भएर बनेको नेपाली कम्युनिष्ट पार्टीको एकता सिद्धान्तहीन भएको बताएको छ।
यो एकता र विभाजन आगामी निर्वाचनका लागि शक्तिसञ्चय मात्रै भएको मसालको ठहर छ।
एकता र विभाजनको केन्द्रमा रहेका पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा बढी अवसरवादी रहेको मसालले स्पष्ट पारेको छ।
महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी प्रचण्ड नेतृत्वको एकता अर्थहीन दुस्चक्र भएको जनाएका छन्।
सिंहले भनेका छन्, ‘अहिलेको विभाजन, एकीकरण वा पुनर्विभाजनको केन्द्रमा प्रचण्ड नै देखिन्छन्। नेपालको कम्युनिस्ट आन्दोलन र राजनीतिको इतिहासबाट यो कुरा छर्लङ्ग भइसकेको छ कि उनी नेपालको सबैभन्दा सिद्धान्तहीन र अवसरवादी व्यक्ति हुन्। त्यसकारण उनको नेतृत्वमा हुन थालिरहेको एकीकरण एउटा अर्थहीन दुष्प्रयास मात्र हो।’
यस्तो छ, प्रेसवक्तव्यको पूर्णपाठ
नेपालका विभिन्न कम्युनिस्ट समूह वा वामपन्थी गु्रपको बिचमा तीव्र बनेको विभाजन, एकीकरण वा पुनर्विभाजनसमेतको प्रक्रियाप्रति नेकपा (मसाल) को दृष्टिकोण र व्याख्या प्रस्तुत गर्नका लागि यो वक्तव्य जारी गरिएको छ। त्यस सन्दर्भमा प्रधान महत्त्वको कुरा त यो हो कि त्यो सम्पूर्ण प्रक्रिया कैयौँ सिद्धान्त, नीति वा कम्युनिस्ट रूपान्तरणका लागि भइरहेको छैन। त्यो प्रक्रिया पारस्परिक अन्तरविरोध वा आगामी चुनावका लागि शक्तिसञ्चयका लागि नै भइरहेको छ। त्यसकारण सैद्धान्तिक र राजनीतिक दृष्टिकोणले त्यसको कुनै महत्त्व नभएको कुरा प्रष्ट छ।
यस सन्दर्भमा अर्को महत्त्वपूर्ण कुरा ता यो छ कि हालै देशमा भएको जेनजी आन्दोलन र त्यसले ल्याएको उभारलाई आधार बनाएर चुनाव जित्ने दृष्टिकोणले पनि उनीहरूमा सबैभन्दा बढी काम गरेको पाइन्छ। त्यो पनि हद दर्जाको अवसरवादी विचार हो। जेनजी आन्दोलन प्रथमतस् कुनै सिद्धान्त, नीति, कार्यक्रम, सङ्गठन वा नेतृत्वमाथि आधारित कुनै आन्दोलन होइन। त्यो बाहेक त्यो कैयौँ गु्रपमा बाँडिएको छ र त्यसको कुनै एकीकृत स्वरूप पनि छैन। त्यो अवस्थामा त्यसले दिशाहीन र अराजक रूप लिने नै बढी सम्भावना छ। त्यो अवस्थामा जेनजीको डुङ्गामा चढेर सत्ता प्राप्त गर्ने उनीहरूको प्रयत्न कहाँसम्म सफल हुनेछ? त्यो कुरा कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ।
अहिलेको विभाजन, एकीकरण वा पुनर्विभाजनको केन्द्रमा प्रचण्ड नै देखिन्छन्। नेपालको कम्युनिस्ट आन्दोलन र राजनीतिको इतिहासबाट यो कुरा छर्लङ्ग भइसकेको छ कि उनी नेपालको सबैभन्दा सिद्धान्तहीन र अवसरवादी व्यक्ति हुन्। त्यसकारण उनको नेतृत्वमा हुन थालिरहेको एकीकरण एउटा अर्थहीन दुष्प्रयास मात्र हो, इतिहासले त्यो कुरा सावित गर्नेछ।
निश्चय नै देशमा सही माक्र्सवादी–लेनिनवादी दर्शन, सिद्धान्त, कार्यक्रम वा सङ्गठन प्रणालीको आधारमा देशमा कम्युनिस्टको एकीकरण र शक्तिशाली कम्युनिस्ट आन्दोलनको आवश्यकता छ तर तत्काल त्यस प्रकारको कुनै सम्भावना देखिँदैन तैपनि भविष्यमा त्यस प्रकारको स्वस्थ प्रयत्न भएमा त्यसमा बढीभन्दा बढी सहयोग गर्ने नेकपा (मसाल) को प्रयत्न हुनेछ।
माथि लेखिएको कुरा जे भए पनि आज देशमा एकातिर जनआन्दोलनका महान उपलब्धि गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार र बहुदलीय व्यवस्थाको रक्षा र अर्कातिर, राष्ट्रियता र सार्वभौमिकताको रक्षाको लागि वामपन्थी र लोकतान्त्रिक शक्ति तथा सम्पूर्ण जनता एकताबद्ध हुनुपर्ने ऐतिहासिक आवश्यकता छ। जेनजी आन्दोलनले पनि जो स्वयम् कुनै सिद्धान्तनिष्ठ र एकताबद्ध आन्दोलन होइन—ले पनि उक्त दिशामा कुनै योगदान दिएको छैन र त्यसबारे बढी समस्या अराजकता र अनिश्चितताको नै स्थिति उत्पन्न गरेको छ।
त्यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि उनीहरूको असङ्गठित र कैयौँ ग्रुपमा विभाजित जनमतलाई आफ्ना निजी स्वार्थका पक्षमा उपयोग गर्न कैयौँ विदेशी साम्राज्यवादी शक्ति, देशभित्रका प्रतिगामी शक्ति वा देशभित्रका विभिन्न अवसरवादी राजनीतिक शक्तिका बिचमा एक प्रकारको होडबाजी नै चलेको छ। त्यस पनि देशको राजनीतिलाई अरू अस्थिर बनाएको छ। त्यो अवस्थामा देशमा लोकतन्त्र तथा राष्ट्रियता र सार्वभौमिकतासमेतको सुरक्षाको लागि वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताबद्धताको आवश्यकता पहिलेभन्दा कैयौँ गुणा बढेर गएको छ। नेकपा (मसाल) ले सही समझदारीका आधारमा त्यो दिशामा आफ्नो प्रयत्नलाई जारी राखिरहनेछ र आफ्ना तर्फबाट पनि सम्भव भएसम्म बढीभन्दा बढी योगदान दिने प्रयत्न गरिरहनेछ।
माथि देशका कतिपय कम्युनिस्ट समूह र वामपन्थी ग्रुपका बिचमा चलिरहेको विभाजन वा एकीकरणको प्रक्रियाबारे केही उल्लेख गरियो। उनीहरूको त्यो प्रक्रिया कम्युनिस्ट रूपान्तरणको लागि नभएको र त्यसको प्रकृति मूल रूपमा सिद्धान्तहीन र अवसरवादी भएको कुरामा कुनै शङ्का छैन तैपनि ती सबै गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार र बहुदलीय व्यवस्था तथा देशको राष्ट्रियता वा सार्वभौमिकताका पक्षमा सङ्घर्षको इतिहास भएका शक्ति नै हुन् भन्ने हाम्रो धारणा छ।
त्यसैले हामीले उनीहरूसित देशमा बढिरहेको प्रतिगमनको खतरा तथा बढ्दो विदेशी हस्तक्षेप वा अतिक्रमणका विरुद्ध अगाडि आउनका लागि उनीहरूको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छौँ।
Shares

प्रतिक्रिया