नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबार (कात्तिक २०) भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै उनले सो कुरा बताएका हुन्।
ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर गरे। राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको उनको भनाइ छ।
'यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भंग गरेको हो भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो। यो असंवैधानिक ढंगले भंग गरेको छ, सिफारिस गर्ने हैसियतनै नभएकाहरूले सिफारिस गरेको छ,' ओलीले भने, 'संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भंग गर्नु भएको छ। गर्नु हुँदैन्थ्यो। त्यसकारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दछौँ। त्यसका लागि आन्दोलन गर्दछौँ र अगाडि बढछौँ।'
संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेकाले आफूहरूले त्यसको पुनर्स्थापनाको माग गरेर अघि बढ्नुपरेको अध्यक्ष ओलीको तर्क थियो।
Shares

प्रतिक्रिया