नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीभित्र भइरहेको एकता प्रक्रियाप्रति असहमति जनाउँदै उक्त प्रक्रिया स्थगन गर्न माग गरेका छन् ।
शनिबार पेरिसडाँडामा बसेको माओवादी सचिवालय बैठकमा शर्माले लिखित मतद्वारा आफ्नो धारणा प्रस्तुत गर्दै भनेका छन्- ‘बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी गरिने कुनै पनि एकताले वाम आन्दोलनलाई बलियो होइन, कमजोर बनाउनेछ।’
उनका अनुसार यस्तो हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा गर्न सक्छ, तर समग्र कम्युनिस्ट आन्दोलनका लागि यो प्रतिकूल हुने चेतावनी दिएका छन्। उनले एकता नामको ‘आत्मसमर्पण’ ले पार्टीलाई बलियो होइन, अझ कमजोर बनाउने दाबी गर्दै भनेका छन्, ‘सुशासन, पारदर्शिता र नेतृत्व हस्तान्तरणको भावना विपरीत गरिने एकताले पार्टीको साखलाई झन् गिराउनेछ र विसर्जनको दिशामा धकेल्नेछ।’
शर्माले देशको राजनीतिक संकट समाधान गर्नभन्दा पनि यस्तो एकताले विगतमा कम्युनिस्ट आन्दोलनले भोग्दै आएको विघटनलाई दोहोर्याउने दाबी गर्दै सहिद, बेपत्ता र घाइते योद्धाहरूको सपना र त्यागलाई बेवास्ता गरिएको बताएका छन्।
‘यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु,’ उनले भनेका छन्।


Shares

प्रतिक्रिया