नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै नेता-कार्यकर्तालाई पुनः एकताको आह्वान गरेका छन्। उनले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्धिको यात्रामा एमालेको अग्रणी भूमिका स्मरण गर्दै सबैलाई ‘आफ्नै घर फर्किन’ आग्रह गरेका हुन्।
शुक्रबार फेसबुकमार्फत ओलीले एमालेलाई केवल एउटा राजनीतिक संगठन नभई ‘जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार’को रूपमा चित्रण गरे।
उनले भने, ‘तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण यो पार्टीको जग बसाल्न अर्पण गरेका छन्। कसैले जेल यातना भोगे, कसैले जीवन बलिदान गरे, अनि धेरैले सानो-ठूलो योगदान दिए।’
ओलीले देश अहिले गम्भीर संकटमा परेको उल्लेख गर्दै लोकतान्त्रिक संविधान र राष्ट्रिय अस्तित्वमाथि आक्रमण भइरहेको बताए। उनले भने, ‘अहिले महाविनाश निम्त्याउने खतरा देखिएको छ, यस्तो बेला हामी मौन बस्न सक्दैनौं।’
देशको स्वाभिमान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षा गर्न सबै एकै स्वरमा अघि बढ्नुपर्ने बताउँदै ओलीले विगतमा एमाले निर्माणमा योगदान पुर्याएका सबैलाई पार्टीमा फर्किन आग्रह गरे। उनको भनाइ छ, ‘यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फर्किनुस् आफ्नै घरमा, काँधमा काँध मिलाएर अघि बढौं।’
ओलीले पुनः एकताको सन्देश दिँदै भनेका छन्, ‘हामी एउटै परिवार हौं, हाम्रो लक्ष्य स्पष्ट छ- समृद्ध नेपाल, सुखी नेपाली। कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा फर्किनुस्- निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।’
उनले यसअघि पनि पार्टी छोडेर गएकाहरूलाई पार्टीमा फर्किन आग्रह गरेका थिए।
Shares

प्रतिक्रिया