नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा नयाँ नेतृत्व चाहियो भन्ने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अहिले महाधिवेशनको तालिका ल्याउने समय नभएको बताएका छन्।
बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको वर्तमान राजनीतिक विषय केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्दै महतले अहिलेको समय निर्वाचनको तयारीमा लाग्ने भएको बताएका हुन्।
उनले यसअघि भएको उपनिर्वाचनमा दुई महामन्त्रीहरूको नेतृत्वमा गए पनि कांग्रेसका उम्मेदवार पराजित भएको विषय उठाए।
'पार्टीमा नयाँ अनुहार चाहियो? कुन अनुहार चाहिने? कुन चाहियो?,' उनले दुई महामन्त्रीलाई लक्षित गर्दै भने, 'उपनिर्वाचनमा देखेकै हो। यो समय त मिलेर गर्ने होला नि। पार्टीलाई बनाउने र निर्वाचनमा भिड्ने तयारी गर्नुपर्ने होलानि। निर्वाचनमा कसरी जाने भनेर यो केन्द्रीय समिति बैठकले टुंगो लगाउनुपर्यो।'
महतले महामन्त्री थापाले जारी केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनको तालिका ल्याउनुपर्छ भनिरहँदा अहिले किन चाहियो? भन्दै प्रश्न गरेका छन्।
'तालिका अहिल्यै ल्याऔं भन्नेछ। अहिले नै तालिका किन चाहियो मैले बुझेको छैन,' उनले भने, 'मेरो त के जान्छ। तर म पार्टीको चिन्ता गर्ने मान्छे हो। धेरैले मलाई बुझ्दैनन्।'
Shares

प्रतिक्रिया