राजनीति


एकतापछिको पार्टीमा प्रचण्ड संयोजक, माधव सहसंयोजक : नाम खोज्दै नेताहरू

अलग पार्टी बनाउने कसरतमा रहेका घनश्याम भूसाललाई फकाउँदै माओवादी केन्द्र
एकतापछिको पार्टीमा प्रचण्ड संयोजक, माधव सहसंयोजक : नाम खोज्दै नेताहरू

सागर न्यौपाने
कात्तिक ११, २०८२ मंगलबार २०:१८, काठमाडौँ

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एकताको सँघारमा छन्। दुई दलका नेताहरूबीच एकतापछिको पार्टीको नामबारे छलफल भइरहेको छ।

चर्चामा रहेका केही नाममा सर्वसम्मति जुट्न नसक्ने भएपछि नयाँ नाम चयन गर्नुपरेको नेताहरू बताउँछन्। यी दुई पार्टीले आगामी १६ गतेभित्र एकता गर्ने प्रयास गरिरहेका छन्।

तर, एकतापछिको पार्टीको नामका विषयमा अझै निर्णयमा पुगिसकेका छैनन्।

‘अहिले प्रस्तावमा नेपाली कम्युनिस्ट पार्टी, नेकपा समाजवादी पार्टी, नेकपा समाजवादी केन्द्र र कम्युनिस्ट पार्टी अफ नेपाल छन्,’ माओवादी केन्द्रका एक नेताले नेपालखबरसँग भने, ‘चुनाव चिह्न पनि हँसिया हथौडा राख्ने कि कलम राख्ने, वा नयाँ लैजाने भन्ने छलफल चलिराखेको छ। प्रयोग गर्न र सजिलो नाम र चिह्न राख्नुपर्छ भन्ने सुझाव छ। नाम र नेतृत्व शीर्ष नेताले टुंगो लगाउँछन्।’

मंगलबार मात्र नेत्रविक्रम चन्दले नेपाल कम्युनिस्ट पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्। यसो हुँदा माओवादी–समाजवादीले चाहेको एउटा नाम दर्ता भइसकेको छ।

चन्दले पनि एकतामा रुचि देखाएका थिए। तर, केही चरण छलफल भए पनि अहिले उनी एकताको प्रक्रियामा सामेल भएका छैनन्। उनी छुट्टै दल दर्ता गरेर अघि बढिसकेका छन्। 

यद्यपि, उनीसँग एकताको विकल्प अझै बाँकी रहेको नेताहरूको भनाइ छ।

माओवादी नछोड्न प्रचण्डलाई दबाब छ। उता माओवादी नाम मान्न एकीकृत समाजवादीका नेताहरू तयार छैनन्। 

‘नाममा खुला छलफल चल्दैछ, अहिलेसम्म कुनै नाममा निष्कर्षमा पुगिसकिएको छैन, फेरि निर्वाचन आयोगमा पनि हुनुपर्‍यो नि त, हामीले राखेर मात्र भएन,’ वार्ता कमिटीमा रहेका एक माओवादीका नेताले भने।  

एकताका विषयमा सहमति गर्न मंगलबार साँझ एकता वार्ता कमिटीको बैठक बसेको छ। 

एकताको विषयमा निर्णय गर्न एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बुधबारदेखि बस्दैछ। कात्तिक १४ गतेसम्म बस्ने बैठकले औपचारिक निर्णय गरेलगत्तै माओवादीसँग एकता हुने सचिव सोमप्रसाद पाण्डेको भनाइ छ।

‘पार्टीको नाम नयाँ राख्न सहमत भइसकेका छौँ। कम्युनिस्ट छुट्दैन,’ उनले भने, ‘नेकपा माओवादी पनि भएन, एकीकृत समाजवादी पनि भएन।’  

एकता गर्ने कि नगर्ने, अब बस्ने केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने उनी बताउँछन्। 

‘नेपाली विशेषताको समाजवादमा सहमति भयो, मार्क्सवाद लेनिनवाद मार्गनिर्देशक सिद्धान्त हुन्छ, अब माओवाद भनिँदैन,’ उनले थपे। 

प्रचण्ड र नेपालले नछाडे भूसाल एकतामा नजाने
तर, एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल लगायतका केही नेताले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बहिर्गमन नहुने हो भने एकता प्रक्रियामा सहभागी नहुने बताएका छन्।

भूसालले यसका लागि एकीकृत समाजवादीका केही नेता, माओवादी केन्द्रका जनार्दन शर्मा र एमालेका केही नेतासँग छलफल पनि गरेका छन्।

महासचिव भूसाल लगायत नेताले केन्द्रीय कमिटीको बैठकमा यसबारे कुरा उठाउँदै छन्। प्रचण्ड–नेपालको बहिर्गमनको खाका प्रस्तुत नभए एकतामा नजाने उनीहरूको योजना छ। 

अहिलेको समाजवादी पार्टीभित्रका तमाम समस्या र माओवादीभित्रको समस्याको समाधान नगरी गरिने एकताले समस्या झन् बढाउने र त्यसले वाम आन्दोलनलाई, आम कार्यकर्तालाई उत्साह प्रदान नगर्ने भूसालको निचोड छ।

‘आफ्नो पार्टीमा शुद्धीकरण गरेर पुनर्गठन भएपछि मात्र एकता गर्नुपर्छ,’ भूसालनिकट नेता भन्छन्, ‘आजको माओवादी र हाम्रो नेतृत्वले गर्ने एकताले कार्यकर्तालाई पनि उत्साह दिँदैन, जेन–जी आन्दोलनको भावनाको पनि सम्बोधन हुँदैन र रूपान्तरणको पनि कुरा हुँदैन भने त्यो एकतामा गइरहनुपर्छ भन्ने पक्षमा हामी छैनौँ।’

यही कुरा केन्द्रीय कमिटीमा राख्ने र त्यहाँ समझदारी नजुटे एकता प्रक्रियामा सहभागी नहुने उनले बताए।

‘महासचिवले आफ्नो हिसाबले कुरा गर्नुभएको छ, प्रचण्ड कमरेडले कन्भिन्स गर्ने प्रयास गरिरहनुभएको छ,’ उनले थपे, ‘हाम्रो बटमलाइन अहिले रहनुभएका नेतृत्वलाई बिदा दिएर नयाँ ढंगले वाम ध्रुवीकरणको अभियान सुरु हुन्छ भने हामी सबै सहमत छौँ, होइन अहिले नेताबीच मात्र एकता हुने हो भने त्यसमा हामी सहमत छैनौँ।’ 

एकतापछिको पार्टीमा प्रचण्ड संयोजक र नेपाल सहसंयोजक हुने कुरा लगभग निश्चित भइसकेको एकता वार्तामा रहेका नेताहरू दाबी गर्छन्।   

घनश्याम भूसालले विभिन्न तहका नेतासँग गरेको छलफलबारे प्रचण्ड–नेपाल जानकार छन्। त्यही भएर माओवादीका केही नेताले भूसाललाई फकाउन अलग–अलग कुरा गरिरहेका छन्। 

‘उहाँहरूको पार्टीको केन्द्रीय समितिले के निर्णय गर्छ, त्यही अनुसार एकताको मिति तय हुन्छ। अहिलेसम्म हेर्दा धेरै साथीहरू एकतामा आउनुहुन्छ,’ माओवादीका एक सचिवालय सदस्यले भने, ‘तीन दिनसम्म त कुर्नैपर्‍यो।’

एकता गर्नुपर्छ भन्नेमा एकीकृत समाजवादीमा ९० प्रतिशत मत रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए। प्रचण्ड–नेपाल एकताको अन्तिम तयारीमा लागेपछि भूसालले नयाँ दल बनाउनेबारे छलफल थालेका छन्। 

यद्यपि, उनी माओवादी, एकीकृत समाजवादी र एमालेबाट के–कस्ता नेताले साथ दिन्छन् हेर्दैछन्। 

केन्द्रीय कमिटी बैठकमा कति बोल्छन् त्यसकै आधारमा निर्णयमा पुग्नुपर्ने भूसालको योजना छ। 

‘नारायणकाजी, जनार्दन, विप्लव, विश्वभक्त दुलाल आहुति, एमालेका केही नेताहरू यी सबैसँग छलफल चलेको छ, कुरा सबैले सबै ठाउँमा गरेका छन्, तर आकार लिइसकेको छैन,’ भूसालसँग निकट अर्का नेताले भने, ‘उपयुक्त विकल्प दिनेगरी छलफल भइरहे पनि त्यो निर्णायक तहमा पुगिसकेको छैन। नारायणकाजी र जनार्दनहरू माओवादीबाट निस्किन सक्छन् कि सक्तैनन् भन्ने हो, यो निष्कर्ष निस्किसकेको छैन।’ 

तर, केन्द्रीय कमिटीबाट आफ्नो निर्णय पारित गराउन नसके नयाँ विकल्पतिर जानुपर्नेमा भूसाल अडिग रहेको ती नेताको दाबी छ।

‘एकताका विषयमा पार्टीभित्र बहुमतको आधारमा निर्णय हुन्छ होला सायद, त्यसो हुँदा मिल्नेहरू मिल्छन्, नमिल्ने छुट्छन्, कि अर्काे बनाउछन्। चुप लागेर त बस्दैनन्,’ ती नेताले भने, ‘हामीले भनेजस्तो नभए थप निर्णय लिनुपर्ने हुन्छ।’

तर, भूसालको कुरामा एकीकृत समाजवादीका धेरै नेताहरू अन्योलमा रहेको बताउँछन्। 

‘एकतामा जान्नँ भन्नुभएको छैन, बीचको ठाउँ हेरेको, बार्गेनिङ गरेको जस्तो देखिन्छ,’ समाजवादीका एक पदाधिकारीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad