राजनीति


सडकमा होइन, संवादमा आउनुहोस् : गृहमन्त्री अर्याल

सडकमा होइन, संवादमा आउनुहोस् : गृहमन्त्री अर्याल

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १४:४४, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले सडक छोडेर संवादमा आउन आग्रह गरेका छन्। 

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बिहान बालुवाटारमा बोलाएको सुरक्षा निकायका प्रमुखहरूसँग सामूहिक छलफलपछि उनले पत्रकारहरूसँग कुरा गर्दै सरकारले संवादबाटै कुरा सुन्ने बताए।

‘जसका पनि राजनीतिक मागहरू छन्, सरकारले संवादको माध्यमबाट ती कुरा सुन्नेछ,’ अर्यालले भने, ‘अब सबै संवादमा इन्गेज हुनुपर्छ, सडकमा जाने जरुरी छैन।’

उनका अनुसार सरकार संवादमै समाधान खोज्न चाहन्छ र आन्दोलनकारी दल तथा समूहहरूलाई पनि यही बाटो रोज्न अनुरोध गरिएको छ। ‘सडकमा जाने पनि अन्ततः संवादको अपिल नै हो,’ उनले भने, ‘तर यदि संवादबाटै कुरा मिल्छ भने सडकमा नजाने होस्।’

आर्यालले लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकारमा हनन नहोस् भन्ने आग्रहसमेत गरे। ‘सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुगोस् भन्ने सरकारको चाहना होइन,’ उनले भने, ‘हिंसा कुनै हालतमा स्वीकार्य छैन। अहिंसात्मक र जिम्मेवार राजनीतिक संस्कार नै सही बाटो हो।’

उनका अनुसार सरकार अभिभावकको भूमिकामा रहेर सबै राजनीतिक शक्तिलाई सहमति र संवादतर्फ लैजाने प्रयासमा छ। ‘राजनीतिक शक्ति भनेको भविष्यमा देश चलाउने जिम्मेवार शक्ति हो,’ आर्यालले जोड दिए, ‘त्यसैले राजनीतिक व्यवहार, संस्कार र जिम्मेवारी बोध सबैमा हुनुपर्छ।’

गृहमन्त्रीले अन्त्यमा भने, ‘सरकार यही नीतिअनुसार चल्नेछ र संवादकै माध्यमबाट राजनीतिक असहमति समाधान गर्न प्रतिबद्ध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad