राजनीति


तत्कालीन ऊर्जामन्त्री भागिसके : गृहमन्त्री अर्याल

तत्कालीन ऊर्जामन्त्री भागिसके : गृहमन्त्री अर्याल

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १२:४५, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री दीपक खड्का भागेको दाबी गरेका छन्। 

जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि तत्कालीन ऊर्जामन्त्री खड्का विदेश भागेको चर्चा भइरहेका बेला गृहमन्त्री अर्यालले यसको पुष्टि गरेका हुन्। यद्यपि उनले कहाँ भागे भनेर बताएका छैनन्। 

नयाँ पत्रिकासँगको अन्तर्वार्तामा उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सक्रिय बनाएर ठुल्ठुला नेताबारे छानबिन भइरहेको बताएका छन्। सोही कारण कतिपयको भागाभागसमेत भइसकेको दाबी उनले गरेका हुन्। 

‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। अब यहाँ ठुल्ठुला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ। कसैको भागाभागसमेत भएको छ’, गृहमन्त्री अर्यालले अन्तर्वार्तामा भनेका छन्, ‘तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्। उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौँ।’

प्रारम्भिक अवस्थामा अनुसन्धान गर्न केही अप्ठेरो नभएको बताउँदै उनले खासगरी सम्पत्ति शुद्धीकरणले सम्पत्तिको विस्तृत विवरण हेर्ने उल्लेख गरेका छन्। 

उनले भनेका छन्, ‘त्यो विवरण हेरेपछि बयानका क्रममा उहाँहरूलाई ल्याउनुपर्ने हुन्छ, हाजिर गराउनुपर्ने हुन्छ। अनि मुद्दा पेस गर्दा उहाँहरूलाई पक्राउ गरेर सँगसँगै लैजाने कुरा हुन्छ। गृह मन्त्रालयअन्तर्गत वित्तीय तथा संगठित अपराध हेर्न केन्द्रीय अनुसन्धान ब्युरो छ। सीआईबीमा हामीले सक्षम, वरिष्ठ प्रहरी अधिकारी, सबैले जाने बुझेकै मान्छेलाई लगिदिएका छौँ। उहाँले स्वतन्त्र रूपमा काम गरिरहनुभएको छ। नेपाल प्रहरीका अरू संयन्त्रलाई पनि हामीले उत्तिकै महत्त्व दिएका छौँ।’

अख्तियार एउटा स्वतन्त्र संवैधानिक संस्था भएको उल्लेख गर्दै उनले अन्तर्वार्तामा यसलाई नेपाल सरकारले पूर्ण सहयोग गरिरहेको बताएका छन्। 

‘काम गर्ने वातावरण दिइएको छ उहाँहरूलाई। उहाँहरूले काम पनि गरिरहनुभएको छ। केही कमजोरी भए सच्चिने नेपाल सरकार अपेक्षा गर्छ। हामीले हस्तक्षेप गर्न मिल्ने संस्था होइन त्यो’, गृहमन्त्री अर्यालले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad