अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ ले बक्सअफिसमा सुखद व्यापार गरेको छ। शुक्रबारदेखि प्रदर्शनरत यस फिल्मले दुई दिनमा १ करोड ५८ लाख ९७ हजार ग्रस कलेक्सन गरेको हो।
अनमोलसहित जसिता गुरुङ र आँचल शर्मा अभिनीत यस फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ। चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार फिल्मले पहिलो दिन ७२ लाख ५९ हजार ४०८ रुपैयाँ ओपनिङ गरेको थियो। शनिबार भने फिल्मले ८६ लाख ३८ हजार २१० रुपैयाँ कलेक्सन गरेको छ।
फिल्मका निर्माता सरोज न्यौपानेले आइतबार पनि हलहरूमा अकुपेन्सी राम्रो रहेको जानकारी दिए। आगामी दिनमा व्यापार बढ्दै जाने उनको विश्वास छ।
सुयोग गुरूङ निर्देशित यस अनमोल, आँचल र जसितासहित केदार घिमिरे, भुवन केसी, उषा खड्कीलगायतको अभिनय छ। यस फिल्मले सगरमाथा आरोहणदेखि त्रिकोणात्मक प्रेमकथालाई समेटेको छ। हेमराम बिसीको कथा रहेको फिल्मको पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्।
यतिखेर फिल्मका मुख्य कलाकारहरू भने दर्शक भेट्न हलहरू पुगिरहेका छन्। जहाँ दर्शकहरूले पनि फिल्मबारे सकरात्मक प्रतिक्रिया दिइरहेका छन्।
Shares

प्रतिक्रिया