राजनीति


जसले उपत्यकामा अलपत्रलाई घर फर्काउन सघाए

जसले उपत्यकामा अलपत्रलाई घर फर्काउन सघाए

रमेश लम्साल
बैशाख १२, २०७७ शुक्रबार १०:१८,

‘खाने सामल सकियो, केही गरी घर पठाउन सक्नुहुन्छ त माननीय ज्यू?’ बागलुङका एक युवाले रुँदै फोन गरे। उनले भने, ‘लौ न केही गरिदिनुपर्‍यो, दुई दिन चिउरा खाएर बसे, अब त खाने त्यही चिउरा पनि छैन। केही न केही पहल गरेर हामीलाई घर जाने व्यवस्था गरिदिनुपर्‍यो।’

ती युवाको गुनासो फोनमा सुनेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् बागलुङबाट प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले ती युवाको अवस्था बुझे। फोनमा भने जस्तै उनको अवस्था देखेपछि यातायात व्यवसायीलाई आग्रह गरेर बिहीबार १० गाडी बागलुङ पठाइयो।

रासससँगको टेलिफोन सम्वादमा सांसद पौडेलले भने, ‘व्यवसायीलाई हामीले भन्यौं, उनीहरुले माने पनि। भाडा तिर्न सक्नेले छिर्लान्, तिर्न नसक्नेलाई हामीले व्यवस्था गरेका छौं। केही व्यवसायीलाई भनेर उनीहरुलाई घर पु¥याउने व्यवस्था गरिएको छ।’ गोंगबुस्थित नयाँ बसपार्कमा बालबच्चा असरल्ल छन्। उनीहरु आफ्नो थातथालो जान चाहन्छन्। ‘उनीहरु कयौ दिनदेखि भोकै छन्। उनीहरुको अवस्था देख्दा मैले खाँसु थाम्नै सकिन। उनीहरुको अवस्था देख्दा साह्रै पीडा भयो’, नेता पौडेलले भने। केही गाडी म्याग्दी पनि पठाइएको छ। व्यक्तिगत रुपमा पहल गरेर पनि पठाइएको उनको भनाइ छ। पानी परिरहेको बेला ती गरिब जनता केही होला कि भनेर प्रतीक्षामा रहेका छन्। उनीहरुलाई जसरी भएपनि व्यवस्था मिलाएर उनीहरुको घर पठाउन सकियो भने त्यो नै सबैभन्दा बढी राम्रो हुने उनले जानकारी दिए।

अझै केहीले घर जान पाऔं भनेर फोन गरिरहेको उल्लेख गर्दै नेता पौडेलले उनीहरुलाई सुरक्षाका सबै उपाय अपनाएर आ–आफ्नो थात थलो पठाइएको बताए। ‘म बागलुङका नागरिक पठाउन बस पार्क पुगेको थिए। साना बच्चा बोकेका महिलाहरु थिए। कही दिनदेखि खान नपाएको समेत गुनासो गरे मलाई साह्रै पीडा भयो’, उनले भने, ‘चर्को झरीका बाबजुद पनि घर जान छट्पट्टीएका आदरणीय जनसमुदायलाई बसपार्कमा भेट्दा आँसु थाम्न सकिएन। लौ न, सरकारले यो दुःख राम्रोसँग बुझोस्।’

त्यसो त नेता पौडेलले लकडाउनका कारण राजधानीमा अलपत्र परेका नागरिकलाई आवश्यक व्यवस्था मिलाएर घर पठाइदिन आग्रह गर्दै कोभिड १९ उच्चस्तरीय समितिका संयोजक एवम् उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पौडेललाई समेत आग्रह गरेका थिए। नेता पौडेलले मात्रै नभई पछिल्ला दिनमा नेकपाका नेताहरुले लकडाउनमा राजधानीमा अलपत्र परेका नागरिकलाई घर पठाउने पहल गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको पहलमा रोल्पा, रुकुम, सल्यान, दाङ र प्यूठानका नागरिक आ आफ्नो थात थलोमा पुगेका छन्। यस्तै, नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य अञ्जना विसंङ्खे, संविधानसभाका पूर्व सदस्य रुपा महर्जनले पनि अलपत्र नागरिकलाई राजधानी बाहिर पठाउन पहल गरेका छन्।

बागमती प्रदेशका प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र धादिङबाट प्रदेशसभाका सदस्य जगत सिंखडाले पनि आ आफ्ना क्षेत्रका नागरिकलाई राजधानी बाहिर पठाउन विशेष पहल गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको पहलमा उपत्यकामा अलपत्र प्रदेश ५ का झण्डै दुई हजार मजदुर घर फर्केका छन्। लकडाउनका कारण राजधानी तथा आसपासका क्षेत्रमा अलपत्र अवस्थामा रहेका कामदारलाई बसको व्यवस्था गरी घर पठाइएको छ। आपतको बेलामा न सहयोग गर्ने हो भन्ने उद्देश्यका साथ ती मजदुरलाई घर पठाइएको मन्त्री पुनको सचिवालयले जनाएको छ। विशेष गरी अनेरास्ववियूका नेता दिपेश पुनले मजदुरलाई व्यवस्थापन गर्न तथा घर पठाउन मन्त्री पुनलाई सहयोग गरेर पठाएका थिए।

यही वैशाख ७ गतेदेखि भक्तपुर, ललितपुरका विभिन्न स्थानमा अलपत्र परेका मजदुरलाई घर पठाइएको र रोल्पा मात्रै नहेरी अन्य जिल्लाका नागरिकसमेत मन्त्री पुनको सहयोगमा घर फर्केका हुन्। पानीमा रुझ्दै, पीडामा बसीरहेका नागरिकलाई घर पठाउँदा उनीहरुको मुहारमा देखिएको खुसीले विपद्मा परेका नागरिकप्रति दायित्व पूरा गरे जस्तो अनुभव गर्न सकिन्थ्यो। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उपत्यकामा अलपत्र परेका प्रदेश नं ५ का करिब १ हजार ७ सय मजदुर सोमबार साँझ ४४ वटा बसमा घरतर्फ लागेको विद्यार्थी नेता पुनको भनाइ छ। घर जानेमा अधिकांश भक्तपुरका विभिन्न इट्टा उद्योगमा काम गर्ने रोल्पा, रुुकम र सल्यानका मजदुर थिए। भूकम्प, टोर्नाडोजस्ता प्राकृतिक विपद्मा समेत विद्यार्थी नेता पुन तत्काल राहत तथा उद्धारमा खटिँदै आएका छन्।

आइतबार आठ बस, सोमबार ४४ बस रोल्पा, रुकुम, सल्यान, प्यूठान र दाङ पठाइएको थियो। ती मजदुरलाई ऊर्जा मन्त्री पुनले विदाइ गरेका थिए। यस्तै नेकपाका प्रदेशसभा सदस्य जगत सिंखडाले पनि राजधानीमा अलपत्र परेका धादिङबासीलाई निशुल्क रुपमा आ आफ्नो थात थलो पठाएका थिए।

राजनीतिक नेतृत्वले पहल गर्दा त्यसको प्रभाव पर्ने र नागरिकले समेत विपद्मा समेत आफूले मत दिएका नेता साथै छन् भन्ने ठान्ने भएकाले लकडाउनले समस्यामा परेका नागरिकलाई निःशुल्क घर पठाइएको प्रदेशसभा सदस्य सिंखडाको भनाइ छ। सांसद सिंखडाको पहलमा राजधानीबाट १४ वटा बसमा लकडाउनबाट पीडितलाई घर पठाइएको छ। पैदल नै घर फर्किरहेका झण्डै ३०० जनालाई सांसद अञ्जना विशङ्खे र बागमती प्रदेशसभा सदस्य रमा आलेमगरले उद्धार गरी बसमा घर पठाउका हुन्। ‘काठमाडौँ बाहिरका टाढादेखि पैदल हिँडेर आएका अलपत्र परेकालाई उद्धार गरेका हौँ’, सांसद विसङ्खेले भनिन्।

अझै पनि बस पाइन्छ र घर जान मिल्ला भन्दै राजधानीको कलंकी, कोटेश्वरलगायत स्थानमा प्रतीक्षा गर्नेहरु उत्तिकै भेटिएका छन्। काठमाडौँमा डेरा गरी बस्नेहरु खाने सामल सकिएको र बस्दा बस्दा मानसिकरुपमा पीडित हुन थालेपछि घर जाने विकल्प खोजेका हुन्। त्यस्तै नेकपाका अर्का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि कोरोनासँग जुध्न आफ्नो जिल्ला पश्चिम रुकुमका तीन स्थानीय तहमा आइसोलेसन भवन नै निर्माण गरिरहेका छन्। श्रम सहकारीमार्फत पूर्वमन्त्री शर्माले पश्चिम रुकुममा गरेको सार्थक प्रयास अन्यत्रका लागि समेत नमूना बन्न सक्छ। उनले पनि लकडाउनका कारण समस्यामा परेका झण्डै ९० समूहलाई आ आफ्नो घर पठाएर जिम्मेवारी निभाएका छन्। ‘दुःखमा जन्मभूमि’ र ‘विपद्मा आफन्त’लाई सम्झन्छन् भन्ने उदाहरणका रूपमा आज पनि कलंकी र जडीबुटीमा देखिएको भीडले पुष्टि गरेको छ।

कोरोनाको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिक र न्यून आय भएका व्यक्ति कुम्लो कुटुरोसहित लालाबाला च्याँपेर घर फर्कन खोजेका हुन्। कतिपय स्थानीय तहका जनप्रतिनिधि लकडाउन कारण राजिरोटीको समस्याले बिचल्लीमा परेका आफ्ना नागरिकको उद्धारमा जुटेका छन्। भक्तपुरको जडीबुटीमा मानिसको ठूलो हुलमा भेटिएका रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले लकडाउनका कारण विपद्मा परेका नागरिकलाई उद्धार गरी घर पु¥याउने काममा आफू जुटिरहेको जानकारी दिए। सो नगरपालिकाले मंगलबार १३ र बुधबार १० वटा बसको व्यवस्था गरी समस्यामा परेका नागरिकलाई उद्धार गरेको थियो।

विपद्को समयमा अधिकांश स्थानीय तहले राहत तथा उद्धारमा पहल गरिरहेका छन्। उनीहरु जनतासँग जोडिएर गरेका यस्ता पहलले नागरिकलाई थप आश्वस्त मात्रै बनाएको छैन, संकटको समयमा सबै मिलेर लडे मात्रै विजय हासिल गर्न सकिन्छ भन्ने सन्देश समेत दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad